१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्याम्ब्रिज एनालिटिका काण्ड : फेसबुकद्वारा दसौं हजार एप निलम्बित

एजेन्सी

क्यालिफोर्निया — फेसबुकले दसौं हजार एप निलम्बन गरेको जनाएको छ । राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले करोडौं प्रयोगकर्ताका व्यक्तिगत तथ्यांक दुरुपयोग गरेको विषयमा अनुसन्धान गर्न ती एपहरू निलम्बन गरिएको फसबुकले जनाएको छ ।

क्याम्ब्रिज एनालिटिका काण्ड : फेसबुकद्वारा दसौं हजार एप निलम्बित

निलम्बित एपहरू करिब ४ सय विकासकर्तासँग सम्बद्ध रहेको जनाइएको छ । फेसबुकले सबै एप प्रयोगकर्ताका लागि जोखिमपूर्ण नभएपनि अनुसन्धानका लागि निलम्बन गर्नुपरेको प्रष्ट पारेको छ ।


‘हामीले निलम्बन गर्दा धेरै एप प्रयोगमा आइसकेका नभएपनि परीक्षणको चरणमा थिए,’ विज्ञप्तिमा भनिएको छ । फेसबुकबाट लिइएका तथ्यांक अन्य मानिसलाई दिने तथा व्यक्तिगत परिचय खुलाउने केही एपलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।


बेलायती राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले सन् २०१८ मा बिनाअनुमति ८ करोड ५० लाख भन्दा बढी फेसबुक प्रयोगकर्ताका व्यक्तिगत तथ्यांक संकलन गरेको थियो । उक्त कदमको खुलासा भएपछि फेसबुकले सुरक्षाका विषयमा ठूलो दबाव सामना गर्दै आएको छ ।


फेसबुकबाट व्यक्तिका गोप्य सूचनालाई प्रश्नमार्फत् संकलन गरी उसले व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको थियो । फेसबुकलाई गत जुलाईमा अमेरिकाको संघीय व्यापार संघले ५ अर्ब डलर जरिवाना गरेको थियो । उपभोक्ता सम्बन्धी गोपनीयता उल्लंघन गरेको आरोपमा गरिएको सबैभन्दा ठूलो जरिवाना हो ।


त्यसयता फेसबुकले प्रयोगकर्ताको गोपनियाता सुनिश्चितताका लागि क्रियाशिल रहेको बताउने गरेको छ । क्याम्ब्रिज एनालिटिका काण्डमा करौडौं मानिसको गोप्य विवरण चुहिएपछि फेसबुकले धेरै मुद्दा तथा अन्तर्राष्ट्रिय आलोचना समेत खेप्दै आएको छ । त्यसकारण पनि फेसबुकले आफ्नो छवि सुधार्न पछिल्लो निर्णय गरेको हुनसक्ने आंकलन गरिएको छ ।


क्याम्ब्रिज एनालिटिका काण्डपछि फेसबुकले सयौं कानुन व्यवसायी, तथ्यांक वैज्ञानिक तथा इन्जिनियरको संलग्नतामा आफ्नो माध्यममा प्रयोग हुने एपको अनुसन्धान सुरु गरेको जनाएको थियो । त्यस्ता कदमले दुरुपयोगबारे बुझ्न तथा दुराशय भएका विकासकर्तालाई रोक्न सकिने फेसबुकले जनाएको छ ।

प्रकाशित : आश्विन ४, २०७६ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?