३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

राष्ट्रसंघीय महासभामा चहलपहल

दिनेशजंग शाह

(न्युयोर्क) — संयुक्त राष्ट्रसंघको ७४ औं महासभा सेसन न्युयोर्कस्थित मुख्यालयमा सुरु भएको छ । महासभामा मंगलबारदेखि उच्च स्तरीय बैंठकहरू सुरु हुने छन् । महासभाका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आइतबार न्युयोर्क आइपुग्दै छन् ।

राष्ट्रसंघीय महासभामा चहलपहल

प्रतिनिधिमण्डलमा सहभागी हुने उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव भने बिहीबार न्युयोर्क आइपुग्दै छन् । प्रतिनिधिमण्डलमा वनमन्त्री शक्ति बस्नेतसमेत छन् । मन्त्री ज्ञवालीले महासभालाई असोज १३ गते सम्बोधन गर्ने कार्यक्रम छ ।


उपप्रधानमन्त्री यादव भने असोज ६ गते आयोजना हुने ‘युनिभर्सल हेल्थ कभरेज’ को उच्च स्तरीय बैठकमा सहभागी हुने छन् । न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृत राईले कान्तिपुरसँग भने, ‘एकैसाथ अघि बढेर, स्वस्थकर विश्व निर्माण गरौं भन्ने नारा रहेको हेल्थ कभरेज बैठक एक दिन चल्ने छ ।’


‘गरिबीमुक्ति, स्तरीय शिक्षा, जलवायुसम्बन्धी कार्य र राज्यहरूको संलग्नताका लागि बहुपक्षीय प्रयत्न’ नारा रहेको जलवायु परिवर्तनसम्बन्धी उच्च स्तरीय बैठकमा वनमन्त्री बस्नेतले भाग लिँदै छन् । दिगो विकाससम्बन्धी उच्च स्तरीय बैठकलाई भने परराष्ट्र मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ । असोज ९ गते मन्त्री ज्ञवाली आणविक हतियार निर्मुल पार्नेसम्बन्धी उच्च स्तरीय बैठकमा सहभागी हुँदै छन् ।


महासभाका क्रममा अति कम विकसित राष्ट्रका परराष्ट्र मन्त्रीहरूको बैठक एवं असंलग्न राष्ट्रहरूको समूह ‘जी–७७’ मा मन्त्री ज्ञवाली सहभागी हुने छन् । कार्यक्रम तालिकाअनुसार आगामी शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभाका सहभागी राष्ट्र एवं सरकार प्रमुखका अतिरिक्त प्रतिनिधिमण्डललाई दिइने रिसेप्सनमा मन्त्री ज्ञवाली सहभागी हुने भएका छन् ।


परराष्ट्र मन्त्री ज्ञवाली महासभा जारी रहेकै बेला मन्त्रलायले हालै थालनी गरेको ‘ब्रेन गेन सेन्टर’ सम्बन्धी नेपाली आप्रवासी भेलामा भाग लिन असोज ११ मा सिकागो जाने छन् । स्वास्थ्यमन्त्री यादव आगामी शनिबार जर्जियाको एटलान्टामा आयोजना गरिने नेपाली आप्रवासीको पहिलो स्वास्थ्य सम्मेलनमा सहभागी हुने छन् ।

प्रकाशित : आश्विन ४, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?