बेलायतमा आतंकवादको खतरा बढ्दो

नवीन पोखरेल

(लन्डन) — बेलायतमा चरम दक्षिणपन्थी उग्रवादीको खतरा तीव्र रूपमा बढिरहेको प्रहरीले जनाएको छ । प्रतिआतंकवाद एकाई प्रमुख नेइल बसुले मार्च २०१७ यता प्रहरीले उग्रवादी हमलाका २२ वटा योजना विफल बनाइदिएको दाबी गरेका छन् । 

बेलायतमा आतंकवादको खतरा बढ्दो

बेलायती अखबारहरूका अनुसार उनले तीमध्ये ७ चरम दक्षिणपन्थी उग्रवादीसँग सम्बन्धित रहेको बताए । यद्यपि, उनले अझै पनि सबैभन्दा ठूलो खतरा जिहादीहरूबाटै रहेको जनाए ।


मेट्रोपोलिटन प्रहरी सहायक आयुक्त बसुले चरम दक्षिणपन्थी विचारधाराबाट प्रभावित व्यक्ति वा समूहले जिहादी तथा इस्लामिक इस्टेट समूहको आक्रमण शैली नक्कल गरेको आफूहरूले पाएको पनि बताए ।


उग्रवादीलाई आफ्नो प्रपोगान्डा फैलाउन युट्युब तथा सामाजिक सञ्जाल सहयोगी भएका अनुसन्धानकर्ताको ठहर छ । प्रहरीले चरम दक्षिणपन्थी उग्रवादी गतिविधि निष्तेज गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गत वर्षदेखि ‘एमआई–५’ ले प्रहरीको प्रतिआतंकवाद एकाईसँग सहकार्य गरी आतंकवादी योजना निष्तेज गरिरहेको जनाइएको छ ।


प्रहरीले आतंकवादी हिंसा रोक्न ‘एमआई–५’ सँग मिलेर सन् २०१८ यता गोरा सर्वोच्चता र इस्लामिक अतिवादी विचारधारासम्बन्धी ८० योजनाको अनुसन्धान गरिरहेको पनि जनाएको छ । ‘एमआई–५’ ले गत वर्षदेखि चरम दक्षिणपन्थी योजनाविरुद्ध आफैंले नेतृत्व गरेको हो ।


गार्डियन समाचारपत्रका अनुसार, पछिल्ला वर्ष आतंकवादी गतिविधिमा समातिएका एक चौथाइ व्यक्ति दक्षिणपन्थी हिंसासँग सम्बन्धित थिए । सन् २०१६ मा लेबर सांसद जो कोक्स र सन् २०१७ मा उत्तरी लन्डनको मस्जिदमा एक मुस्लिमको त्यही समूहबाट हत्या भएको प्रहरी निष्कर्ष छ । विगत दुई वर्षमा यस्ता मुद्दा ४ प्रतिशतले बढेका प्रहरीले जनाएको छ । सन् २०१६ देखि २०१८ बीचमा कट्टरपन्थी कारबाही पनि ८ प्रतिशतले बढेको पाइएको छ ।

प्रकाशित : आश्विन ४, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?