कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

अमेरिका–क्युबा विवाद : दुई कूटनीतिज्ञ निष्कासित

एजेन्सी

वासिङ्टन — अमेरिकाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई देशनिकाला गरेको छ । 

अमेरिकी विदेश मन्त्रालयका अनुसार ‘अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न’ रहेकाले उनीहरूलाई निष्काशन गरिएको हो ।

अमेरिका–क्युबा विवाद : दुई कूटनीतिज्ञ निष्कासित

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागुसले ‘क्युबाका कूटनीतिज्ञलाई राष्ट्रसंघ मुख्यालय रहेको म्यानह्याटनभन्दा बाहिरन जान वा हिँडडुल गर्न पनि प्रतिबन्ध लगाइएको जनाए ।


क्युबाली कूटनीतिज्ञका आरोपित गतिविधिबारे भने अमेरिकाले प्रस्ट पारेको छैन । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगुएजले ‘अमेरिकी कदम अनुचित भएको’ प्रतिक्रिया दिएका छन् ।


स्पेनिस भाषामा गरेको ट्वीटमा रोड्रिगुएजले क्युबाका कूटनीतिज्ञमाथि लगाइएका आरोप ‘अश्लील आरोप’ भएको बताएका छन् । उनले कूटनीतिज्ञलाई देशनिकाला गर्ने कदमले तनाव उत्पन्न गराएको उल्लेख गरे । राष्ट्रसंघीय महासभाका लागि विश्व नेताहहरू न्युयोर्कमा भेला भइरहेका बेला अमेरिकाले क्युबाली कूटनीतिज्ञलाई देश निकाला गरेको हो ।


अमेरिकाकी कदम कम्युनिस्ट मुलुक क्युबासँगको पछिल्लो कूटनीतिक मुठभेड हो । गत जुलाईमा एक अमेरिकी अध्ययनले क्युबामा काम गरेका अमेरिकी कूटनीतिज्ञहरूको मस्तिष्कमा समस्या देखिएको प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त दाबीलाई क्युबाले खारेज गरिदिएको थियो । अमेरिकाले क्युबामाथि ध्वनि आक्रमण (सोनिक अट्याक) को आरोप लगाउँदै आएको छ । त्यस्तो आक्रमणमा परेका अमेरिकी कूटनीतिज्ञमा होस् तथा श्रवणशक्ति गुम्ने समस्या देखिएको अमेरिकाको दाबी छ ।


‘जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन’ मा प्रकाशित अनुसन्धानमा कूटनीतिज्ञको मस्तिष्कमा हृवाइटम्याटर कम रहेको उल्लेख गरिएको थियो । क्युबन न्युरोसाइन्स सेन्टरस्थित प्राज्ञहरूले अमेरिकी अध्ययनको नतिजा अस्पष्ट रहेको दाबी गरेका थिए । बिहीबार प्रकाशित एक क्यानेडियन अध्ययनअनुसार क्युबामा कीराफट्यांग्रा नियन्त्रणका लागि छर्किने कीटनाशकमा हुने न्युरोटक्सिन्सको असरले कूटनीतिज्ञमा त्यस्तो समस्या भएको हुन सक्ने जनाइएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता क्युबामाथि अमेरिकी दबाब बढ्दो छ । क्युबासँगको सम्बन्ध सामान्य बनाउन पूर्वराष्ट्रपति बाराक ओबामाले लिएको नीति ट्रम्पले क्रमश: परिवर्तन गर्दै लगेका छन् ।


ट्रम्प प्रशासनले क्यारबियन देश क्युबा भ्रमण गराउने अमेरिकी ट्राभल कम्पनीमाथि गत जुनमा नयाँ प्रतिबन्ध लगाएको थियो । अमेरिकी अर्थमन्त्रीले प्रतिबन्धका कारण अमेरिकी डलर ‘क्युबाली सैनिक गुप्तचर र सुरक्षा निकायको हातमा पुग्न रोकिने’ दाबी गरेका थिए ।


प्रकाशित : आश्विन ४, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?