जलवायुको पक्षमा विश्वव्यापी प्रदर्शन, के हुँदै छ ?

अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, पोल्यान्ड, नेदरल्यान्डस्, डेनमार्क, रुस, अस्ट्रेलिया, जापान, अफगानिस्तान, भारत, बंगलादेशलगायत विश्वका करिब १ सय ५० देशमा गरिएका प्रदर्शनमा लाखौं मानिस सहभागी
नारायण खड्का

(अस्ट्रेलिया) — जलवायु परिवर्तनप्रति कडा कार्ययोजना ल्याउनुपर्ने माग गर्दै शुक्रबार विश्वव्यापी प्रदर्शन गरिएको छ । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, पोल्यान्ड, नेदरल्यान्डस्, डेनमार्क, रूस, अस्ट्रेलिया, जापान, अफगानिस्तान, भारत, बंगलादेशलगायत विश्वका करिब १ सय ५० देशमा गरिएका प्रदर्शनमा लाखौं मानिस सहभागी भएका बीबीसीले जनाएको छ । अमेरिकामा हुन गइरहेको राष्ट्रसंघीय जलवायु परिवर्तन शिखर सम्मेलनको दुई दिनअघि विश्वव्यापी विरोध प्रदर्शन गरिएको हो । 

जलवायुको पक्षमा विश्वव्यापी प्रदर्शन, के हुँदै छ ?

अस्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार देशका सबै राज्यका मुख्य सहरहरूमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले अस्ट्रेलियाली सरकारसँग जलवायु परिवर्तनसम्बन्धी ठोस कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन् । अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबनलगायत सहरमा आयोजना गरिएका बृहत् प्रदर्शनमा अधिकांश विद्यार्थीको उल्लेख्य सहभागिता थियो । कतिपय मानिस काम छाडेर प्रदर्शनमा सहभागी भएका जनाइएको छ ।


प्रदर्शनकारीको मुख्य माग नयाँ कोइलाखानी, तेल तथा ग्यासका योजना ल्याउन रोक्नुपर्ने, सन् २०३० सम्म शतप्रतिशत नवीकरणीय ऊर्जा उत्पादन र निर्यात गर्नुपर्ने लगायत छन् । शुक्रबार बिहानैदेखि देशभर गरिएका विभिन्न प्रदर्शनमा करिब ३ लाख प्रदर्शनकारी सहभागी भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनीमा २ हजार ५ सयभन्दा बढी कम्पनीका कर्मचारीले ऐक्यबद्धता जनाएका थिए ।


प्रदर्शनमा स्कुले विद्यार्थीसमेत स्वत:स्फुर्त रूपमा उत्रेका थिए । उनीहरूले जलवायु परिवर्तनले पारिरहेको तथा भविष्यमा पार्न सक्ने सन्देशसहितका विभिन्न प्लेकार्ड तथा लुगा लगाएका थिए ।


पछिल्लो समयमा जलवायु परिवर्तनको असर परिरहेको भन्दै अस्ट्रेलियाको कृषकले समेत जलवायु परिवर्तनप्रति ध्यान दिन सरकारलाई आग्रह गरिरहेका छन् । यसका साथै क्विन्सल्यान्डमा बन्न गइरहेको अदानी खनिज उत्खनन् कम्पनीलाई समेत स्वीकृति नदिन आवाज उठ्दै आएको छ ।


समाचारहरूमा जनाइएअनुसार अस्ट्रेलियाका १ सय १० स्थानमा जलवायु परिवर्तन रोक्न ठोस कदम चाल्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको थियो । शुक्रबारको प्रदर्शन अस्ट्रेलियाकै ठूलोमध्येको एक भएको जनाइएको छ ।


के हुँदै छ ?


अमेरिकी वैज्ञानिक संस्था नासाका अनुसार अघिल्लो शताब्दीको तुलनामा अहिलेसम्म १.६२ फरेनहाइट अर्थात् ०.९ डिग्री सेल्सियसका दरले तापक्रम बढिसकेको छ ।


यसैगरी समुद्रको तापक्रम पछिल्लो आधा दशकमा ०.४ फरेनहाइटभन्दा बढीले वृद्धि भइरहेको छ । अर्कोतिर विश्वकै ठूलोमध्येको हिउँ टापु ग्रिनल्यान्डले वार्षिक रूपमा २ सय ८६ बिलियन टन हिउँ गुमाइसकेको छ भने अन्टार्कटिकाले वार्षिक रूपमा १ सय २७ बिलियन टन घट्दै गएको छ ।


जलवायु परिवर्तनको असरका कारण नै समुद्रको तहसमेत बढिरहेको नासाले जनाएको छ । यसका अनुसार पछिल्लो एक शताब्दीमा समुद्रको तह ८ इन्चले बढिसकेको छ । अहिले विश्वमा भइरहेका डरलाग्दो वातावरण सम्बन्धित घटनासमेत जलवायु परिवर्तकै कारण भएको समेत बताएको छ ।


जलवायु परिवर्तनका कारण सबै क्षेत्रमा असर परिरहेको भन्दै विश्वव्यापी रूपमा शुक्रबार प्रदर्शन गरिएको हो । प्रदर्शनमा मुख्य गरेर विद्यार्थीहरूको व्यापक सहभागिता रहेको भए पनि कर्मचारीका साथै सामाजिक कार्यकर्ताहरू र वातावरणीय क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले समेत सहभागिता जनाएको सञ्चारमाध्यमले जनाएका छन् । मुख्य गरेर अस्ट्रेलियामा पछिल्लो समयमा बढ्दै गएको सुक्खा, आगलागी, बाढीपहिरोलगायतका वातावरणीय प्रकोपको रोकथामका लागि समेत सरकारले गम्भीर भएर कार्ययोजना ल्याउनुपर्ने माग हुँदै आएको छ ।


अस्ट्रेलियाली सरकारले विश्वव्यापी उत्सर्जनलाई सन् २०३० सम्ममा २६ देखि २८ प्रतिशतले कम गर्ने घोषणा गरिसकेको छ भने २ अर्ब डलर बराबरको वातावरणीय समाधान कोषसमेत स्थापना गर्ने बताइसकेको छ ।


तर पनि शुक्रबार जलवायु परिवर्तनसम्बन्धी प्रदर्शनमा सहभागीले भने सरकार अझ गम्भीर भएर यसतर्फ लाग्नुपर्ने माग गरेका छन् ।


प्रकाशित : आश्विन ४, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?