कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तालिवान आक्रमणमा अस्पताल ध्वस्त

(एजेन्सी)

काबुल — अफगानिस्तानको दक्षिणी भेगको एक अस्पतालमा तालिवान विद्रोहीहरूले गराएको विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । 

तालिवान आक्रमणमा अस्पताल ध्वस्त

अधिकारीका अनुसार विस्फोटक पदार्थले भरिएको एक मिनी ट्रकलाई तालिवानले बिहीबार कलत सहरको एक अस्पतालअघि पड्काएका थिए । रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार विस्फोटमा मारिनेमध्ये धेरैजसो चिकित्सक र बिरामी छन् । उक्त अस्पताल जाबुल प्रान्तको प्रमुख स्वास्थ्य संस्था रहेको बताइएको छ ।


पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेट (आईएस) लडाकुलाई लक्षित गरी सुरक्षाकर्मीले गरेको हवाई आक्रमणमा ३० सर्वसाधारण मारिएका समाचार संस्था रोयटर्सले जनाएको छ । अफगानिस्तानमा गत महिना भएका विभिन्न घटनामा कम्तीमा ४ सय ७३ नागरिकले ज्यान गुमाएका बीबीसीको जनाएको छ ।


एक अध्ययनअनुसार अगस्ट महिनामा भएका घटनामा ४ सय ७३ जनाको मृत्यु भएको थियो । ज्यान गुमाउनेमा ५ मध्ये एक गैरसैनिक रहेको बीबीसीले जनाएको छ । घटनामा सयौं घाइते भएका थिए ।


तालिवान विद्रोहीले बिहीबारको आक्रमण आफूहरूले अस्पतालनजिकैका सरकारी गुप्तचर कार्यालयहरूलाई निसाना बनाएर आक्रमण गरेको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बिहीबारको आक्रमणमा मृत्यु हुनेको यकिन तथ्यांक प्रस्ट नभइसकेको जनाएका छन् । प्रान्तीय परिषद्ले घटनामा २० भन्दा बढीको ज्यान गएको बताएका छन् । घटनामा करिब मानिस घाइते भएको बताइएको छ ।


घटनाका प्रत्यक्षदर्शीहरूले भग्नावशेषबाट महिला र बालबालिकालाई निकालिएको देखेको बताएका छन् । त्यसैगरी, बुधबार राति गरिएको हवाई हमला नान्गाहार प्रान्तमा आईएस लडाकु लक्षित आक्रमण गरिएको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।


नान्हारका सुरक्षा अधिकारीहरूले आक्रणमा कम्तीमा ३० सर्वसाधारणको मृत्यु भएको बताएका रोयटर्सले उल्लेख गरेको छ । खेतमा काम गर्ने किसान ड्रोन आक्रमण गरिएको समय आगो बालेर एकै ठाउँमा बसेका थिए । ४० जना घाइते छन् । घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ ।


अफगानिस्तानमा गत मंगलबार आयोजित चुनावी सभामा गराइएको आत्मघाती बम विस्फोटमा कम्तीमा २४ को ज्यान गएको थियो । चुनावी सभालाई विस्फोटका समय अफगान राष्ट्रपति असरफ घानीले सम्बोधन गर्नै लागेका थिए । पछिल्लो समय अफगानिस्तान द्वन्द्व विश्वकै खतरनाक बन्दै गएको छ । तालिवान विद्रोहीले वार्ताका साथसाथै आक्रमणका घटनालाई तीव्रता दिएपछि उसको शान्तिप्रतिको इमानदारितामाथि प्रश्न उठाइएको छ ।


अफगान सरकालाई अमेरिकाको कठपुतली बताउने तालिवानले कतारको दोहामा अमेरिकी प्रतिनिधिसँग ९ चरणका वार्ता गरिसकेको छ । वार्ताका क्रममा दुई पक्षबीच अफागानिस्तानमा तैनाथ सेनामध्ये ५ हजार ४ सयलाई २० साताभित्र फर्काउने सहमति भएको थियो । सैनिक फिर्ताको बदलामा तालिवानले अमेरिका र उसका साझेदारविरुद्ध आक्रमण गर्नेहरूका लागि अफगानिस्तानलाई अखडा बन्न नदिने सुनिश्चित गरेको थियो । कतारको राजधानी दोहामा भएको वार्तापछि निष्कर्षमा दुवै पक्षबीच उक्त सहमति भएको थियो । तर काबुलमा र दुई साताअघि गराइएको विस्फोटमा एक अमेरिकी सेनासहित १२ को मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँगको शान्ति सम्झौता रद्द गरेका थिए ।


ट्रम्पले अफगान राष्ट्रपति असरफ घानी र तालिवानका वरिष्ठ नेतासँग भेट्ने कार्यक्रम तय गरे पनि विद्रोहीको कार्यशैलीप्रति आपत्ति जनाउँदै रद्द गरेको घोषणा गरेका थिए । त्यसयता तालिवान समूहले आक्रमणका घटना थप बढाएका छन् । ट्रम्पको घोषणासँगै १८ वर्षदेखि अफगानिस्तानमा जारी युद्ध अन्त्यको पहल जोखिममा परेको छ ।


सन् २००१ को सेप्टेम्बर ११ मा आफ्नो देशमा आक्रमण गर्ने अल कायदालाई सुरक्षित स्थान दिएको भएको भन्दै अमेरिकाले तालिवान सरकारविरुद्ध आक्रमण गरेको थियो । त्यसयता तालिवानले हालसम्मकै सबैभन्दा धेरै क्षेत्र नियन्त्रणमा लिइसकेका छन् । हाल अफगानिस्तानको करिब ७० प्रतिशत भू–भागमा तालिवान क्रियाशील छन् ।


सन् १९९६ देखि २००१ सम्मको आफ्नो शासनकालमा महिलामाथि निर्मम व्यवहार गरेका तालिवानले धर्मसम्बन्धी कानुन कडा पारेका थिए । सन् २००१ को अमेरिकी हस्तक्षेपछि अफगानिस्तानमा गठबन्धन राष्ट्रका करिब ३ हजार ५ सय सुरक्षाकर्मीको ज्यान गइसकेको छ । त्यसमध्ये २ हजार ३ सयभन्दा बढी अमेरिकी छन् । सर्वसाधारण, लडाकु र सरकारी फौजको मृत्युको भने यकिन तथ्यांक छैन ।


सन् २०१९ को फेब्रुअरीमा सार्वजनिक एक प्रतिवेदनअनुसार युद्धका कारण ३२ हजार सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । ब्राउन विश्वविद्यालयस्थित वाट्सन इन्स्टिच्युटका अनुसार ५८ हजार सुरक्षाकर्मी तथा ४२ विद्रोही युद्धका क्रममा मारिइसकेका छन् ।


प्रकाशित : आश्विन ३, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?