कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

छुटे डिल्लीराम

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — अढाइ वर्षदेखि पन्जाब राज्यको अमृतसरस्थित केन्द्रीय कारागारमा रहेका २८ वर्षीय डिल्लीराम थारू छुटेका छन् । सरकारले समयमै छुटाउन पहल नगर्दा उनले अनाहकमा अढाइ वर्ष जेल बस्नुपरेको हो । 

छुटे डिल्लीराम

थारूलाई जेल प्रशासनले बुधबार दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश अधिकारीको जिम्मा लगाएको छ । डिल्लीको रिहाइले भारतका अन्य जेलमा रहेका नेपालीका परिवारलाई पनि सकारात्मक सन्देश प्रवाह हुने भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले बताए । नेपालीहरूले अनवाश्यक दु:ख नपाऊन् भन्नेमा दूतावास सचेत रहेको उनको भनाइ छ । रिहा भएका थारूलाई दूतावासले कपिलवस्तुस्थित उनको घर पुर्‍याएर परिवारको जिम्मा लगाउने जानकारी दिएको छ ।



कपिलवस्तु, वाणगंगा नगरपालिकाको पिपरा गाउँका थारू अढाइ वर्षअघि रोजगारीका लागि चण्डीगढ आएका थिए । चण्डीगढ ओर्लेपछि उनका दु:खका दिन सुरु भए । जुन काम पाउँछु भनेर आएका थिए, त्यो पाएनन् । यसैबीच नागरिकता र केही जोर लुगा राखेको झोला पनि अटो रिक्सामै छुट्यो । त्यसपछि घर फर्कने निर्णयमा पुगेका उनी गोरखपुर जाने रेल चढ्नुपर्नेमा गल्तीले अमृतसर जानेमा परे । अमृतसर पुग्दा राति करिब ११ बजेको थियो । स्टेसनबाट बाहिरिएर केही मिनेट हिँड्दै गर्दा उनी त्यहाँ सैनिक छाउनीभित्र पस्न पुगेछन् ।


तत्कालै त्यहाँ ड्युटीमा रहेका सैनिकले केरकार गरे । आफ्नो परिचय खुल्ने कागजात देखाउन भने तर उनीसँग कुनै कागजात थिएन । त्यसपछि सैनिकले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो । यसबारे पहिलो पटक तीन साताअघि कान्तिपुरले समाचार छापेको थियो । घर फर्कने क्रममा दिल्लीस्थित रेल स्टेसनमा भेटिएका थारूले बिगत साढे दुई वर्ष आफूले सम्झिन पनि नचाहेको बताए ।

प्रकाशित : आश्विन ३, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?