कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

'आतकंवाद नरोकिए सार्कको भविष्य छैन’

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — भारतीय विदेशमन्त्री एस जयशंकरले आतकंवादलाई अलग राखेर सार्कको भविष्य खोज्न नसकिने बताएका छन् । आफूले मन्त्रालय सम्हालेपछिका सय दिनको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रमा भारतका विदेशमन्त्री जयशंकरले त्यस्तो बताएका हुन् ।

'आतकंवाद नरोकिए सार्कको भविष्य छैन’

‘सार्कको भविष्य हेर्ने हो भने आतंकवादलाई कसले प्रश्रय दिइरहेको छ त्यसको प्रश्नको उत्तर खोजिनुपर्छ । अन्य सदस्य मुलुकले यसको उत्तर खोज्ने कुरामा म ढुक्क छु,’ उनले भने । न्युयोर्कमा हुने संयुक्तराष्ट्र महासंघको महासभामा सार्क सदस्य राष्ट्रहरूको विदेशीमन्त्री स्तरीय साइडलाइन बैठक भएको खण्डमा भारतले आतंकवाद प्रमुख रूपमा उठाउनेसमेत जयंशकरले बताए ।


मंगलबार विदेश मन्त्रालयको जवाहर भवनमा आयोजित सयदिने उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै जयशंकरले सार्क भन्नासाथ कनेक्टिभिटी र क्षेत्रीय व्यापारको कुरा आउने र आतंकवादको कुनै स्थान नहुनेसमेत बताए ।

उनले पछिल्लो समय भारतको आवाजलाई विश्व्यापी मञ्चहरूमा सुनिन लागिएको समेत उनले भने । जयंशकरले राष्ट्रिय सुरक्षा र विदेश नीतिका लक्ष्यहरूबीचको सुदृढ तादम्यता नै पछिल्लो सय दिनको आफ्ना कार्यकालको प्रमुख उपलब्धिका रूपमा अर्थ्याएका छन् ।


त्यसैगरी, सय दिनमा छिमेक पहिलो नीतिलाई प्राथमिकता राखिएको उनले दाबी गरे । जसअन्तर्गत कनेक्टिभिटी, व्यापारजस्तालाई विशेष जोड दिइएको समेत उनले बताए । प्रधानमन्त्री मोदीको माल्दिभ्स, भुटान र श्रीलंका भ्रमणका साथै आफ्नो अफगानिस्तान, म्यान्मार, नेपाललगायतका छिमेकको भ्रमण पनि त्यसैको निरन्तरता भएको समेत उनले भने । छिमेकमा जनस्तरको सम्बन्धलाई प्राथमिकतामा राखेको समेत उनले जिकिर गरे । त्यसैगरी उनले हालै उद्घाटन गरिएको मोतीहारी–अमलेखगन्ज पाइप लाइन एवं भारत सरकारको सहयोगमा गोरखा र नुवाकोट जिल्लामा निर्माण सम्पन्न भएका ५० हजार घरलाई पनि उपलब्धिका सूचीमा राखेका छन् । उनले अघिल्लो साता लद्दाख क्षेत्रमा भएको भारतीय र चिनियाँ सैनिकको बीचको घम्साघम्सीलाई पनि सामान्य घटनाका रूपमा अर्थ्याएका छन् । अघिल्लो बुधबार भारतको लद्दाख छेउमा रहेको १३४ किमि लामो पागंग तालको उत्तरी किनारनजिक चीन र भारतबीच रहेको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) क्षेत्रमा गस्तीमा रहेका सैनिकहरूबीच दिनभरि नै घम्साघम्सी भएको थियो । तर, दुई देशका सैनिक अधिकारीहरूको प्रतिनिधिमण्डलबीचको छलफलपछि उक्त तनाव साम्य भएको थियो । विदेशमन्त्री जयंशकरले एलएसीप्रतिको भिन्न धारणाका कारण गस्तीमा रहेका सैनिकबीच जम्काभेट हुँदा त्यस्तो परिस्थिति निर्माण बन्नु सामान्य भएको बताए ।


भारतले जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्ने निर्णय आन्तरिक निर्णयको बताए । मोदी सरकारले अघिल्लो महिना जम्मु–कश्मीरको विशेषाधिकारको व्यवस्था भएको संविधानको धारा ३७० खारेज गर्ने निर्णय गरेको थियो । त्यसैगरी जयशंकरले पाकिस्तानको नियन्त्रित कश्मीरसमेत भारतको भूभाग भएको दाबी गरेका छन् । ‘भारतले पाकिस्तान नियन्त्रित कश्मीरका सँधै नै प्रस्ट धारणा राख्दै आएको र सधैं नै त्यही रहने छ । र, त्यो भनेको त्यो भूमि भारतको अंग हो,’ उनले भने । पाकिस्तानप्रति लक्षित गर्दै उनले अझै पनि एउटा छिमेकबाट भने असल छिमेकीको व्यवहार हुन नसकेको पनि उनले दाबी गरे ।


पछिल्लो सय दिनमा दुवै पूर्व र पश्चिममा भारतप्रतिको दृष्टिकोण बदल्ने प्रयास गरिएको समेत उनले बताए । विगतमा अन्तर्राष्ट्रिय योगा अभ्यास मनाउन गरिएकोमा पछिल्लो समय महात्मागान्धी र गुरु नानकको जन्म जयन्तीलाई विश्वव्यापी मनाउन थालिएकाले पनि त्यसमा योगदान गरेको उनले बताए । व्यवसाय, व्यापार, सुरक्षा क्षेत्रमा साझेदारी, नागरिकबीचको ओहोदोहारलाई हेर्ने हो भने पनि भारत र अमेरिकाबीचको सम्बन्ध धेरै अगाडि बढेको समेत उनले दाबी गरे । अमेरिकाको हृयुस्टनमा हुन लागेको भारतीय प्रवासीहरूको भेलामा प्रधानमन्त्री मोदीसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत उपस्थिति रहने निश्चित हुनुले पनि अमेरिका र भारतबीचको सम्बन्धको स्तर बनाउन प्रस्ट भएको उनको भनाइ थियो । उक्त भेलामा ट्रम्पले सहभागी हुने सार्वजनिक रूपमा घोषणा गरिसकेका छन् ।


प्रकाशित : आश्विन १, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?