विस्फोटमा २४ मारिए

(एजेन्सी)

काबुल — अफगानिस्तानमा मंगलबार आयोजित चुनावीसभामा मंगलबार गराइएको आत्मघाती बम विस्फोटमा कम्तीमा २४ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बालबालिका तथा चिकित्सकसमेत रहेका बीबीसीले जनाएको छ । 
अधिकारीका अनुसार राजधानी काबुलबाट उत्तरमा पर्ने पर्वान राज्यमा गराइएको विस्फोटमा ३१ घाइते छन् ।

विस्फोटनका बेला अफगान राष्ट्रपति असरफ घानी स्थलमा आयोजित सभालाई सम्बोधन गर्नै लागेका थिए । राष्ट्रपतिको दोस्रो कार्यकाल ताकेका घानी भने विस्फोटबाट जोगिएका छन् ।


बीबीसीका अनुसार राजधानी काबुलस्थित अमेरिकी दूतावासनजिकै गराइएको छुट्टै विस्फोटमा ३ जनाको ज्यान गएको छ । विस्फोटको कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । पछिल्लो समय अफगानिस्तानको विद्रोही समूह तालिवानले बम आक्रमण बढाउँदै लगेको छ । तालिवानले वार्ताका साथसाथै आक्रमणका घटनालाई पनि तीव्रता दिएपछि उसको शान्तिप्रतिको इमानदारितामाथि प्रश्नचिहृन खडा भएको छ ।


अफगान सरकारलाई अमेरिकाको कठपुतली बताउने तालिवानले कतारको दोहामा अमेरिकी प्रतिनिधिसँग ९ चरणका वार्ता गरिसकेको छ । वार्ताका क्रममा दुई पक्षबीच अफगानिस्तानमा तैनाथ सेनामध्ये ५ हजार ४ सयलाई २० साताभित्र फर्काउने सहमति भएको थियो । अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सेना तैनाथ छन् । देशको सुरक्षा बजेट कटौतीका पक्षमा रहेका राष्ट्रपति ट्रम्पले पटकपटक अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिनुपर्ने बताउँदै आएका छन् ।


सैनिक फिर्ताको बदलामा तालिवानले अमेरिका र उसका साझेदारविरुद्ध आक्रमण गर्नेहरूका लागि अफगानिस्तानलाई अखडा बन्न नदिने सुनिश्चित गरेको थियो । कतारको राजधानी दोहामा भएको वार्तापछि निष्कर्षमा दुवै पक्षबीच उक्त सहमति भएको थियो ।तर दुई साताअघि काबुलमा गराइएको आक्रमणमा एक अमेरिकी सेनासहित १२ को मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँगको शान्ति सम्झौता रद्द भएको घोषणा गरिसकेका छन् । आक्रमणको विद्रोही समूह तालिवानले जिम्मेवारी लिएको थियो । ट्रम्पले यसअघि अफगान राष्ट्रपति असरफ घानी र तालिवानका वरिष्ठ नेतासँग भेट्ने कार्यक्रम तय भए पनि विद्रोहीको कार्यशैलीप्रति आपत्ति जनाउँदै रद्द गरेको जनाएका थिए । ट्रम्पको घोषणासँगै १८ वर्षदेखि अफगानिस्तानमा जारी युद्ध अन्त्यको पहल जोखिममा परेको छ । गतमहिना अफगानिस्तानमा हिंसाका कारण दैनिक औसत ७४ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

प्रकाशित : आश्विन १, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?