कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोरियाली विरोध शैली: नेताले गरे सार्वजनिक स्थानमा कपाल मुण्डन

एजेन्सी

सोल — दक्षिण कोरियाका प्रतिपक्ष दलका नेताले सरकारी कदमको विरोधका लागि नयाँ शैली अपनाएका छन् । कानुनका प्राध्यापक चो कुकलाई कानुनमन्त्रीमा नियुक्त गरिएपछि विपक्षी दलहरूले गरेको विरोध देशव्यापी बनाएका छन् । विपक्षी दलका नेताहरुले चो भ्रष्टाचारका आरोपित भएकाले उनको नियुक्तिको विरोधमा खुला तथा सार्वजनिक स्थानमा मुण्डन गरेका हुन् ।

कोरियाली विरोध शैली: नेताले गरे सार्वजनिक स्थानमा कपाल मुण्डन

विपक्षी नेताहरूले चो परिवारका सदस्यहरू भ्रष्टाचार मुद्दामा मुछिएकाले उनको नियुक्तिको विरोध तीव्र पारेका हुन् । यद्यपि, चोले भने सोमबार नै आफ्नो कार्यभार ग्रहण गरिसकेका छन् । कपाल मुण्डन गर्नेमा कपितय महिला राजनीतिज्ञसमेत छन् ।


प्रमुख विपक्षी दल लिबर्टी कोरियाली सांसद इन–सुक र स्वतन्त्र सांसद ली उन–जुले पनि चोको राजनीनाको मागसहित कपाल मुण्डन गराएका छन् । चो शैक्षिक मुद्दामा समेत विवादित छन् । उनीमाथि विश्वविद्यालयको शैक्षिक पुरस्कार अनियमितता गरी आफ्नी छोरीलाई दिलाएको आरोप छ ।


लिबर्टी कोरिया पार्टी प्रमुख हृवाङ क्यो अहानले सोमबार साँझ कपाल मुण्डन गरेका छन् । उनले ‘अपराधी चो कुकको राजीनामाको मागसहित कपाल मुण्डन गरेको’ बताएका छन् । ‘मैले मेरो प्रतिबद्धता जनाउन कपाल मुण्डन गरेको हुँ,’ हृवाङले भने, ‘म पछि हट्ने पक्षमा छैन ।’


हृवाङले पूर्वराष्ट्रपति पार्क ग्युन हायको सरकारमा न्यायमन्त्री र प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । पार्क ठूलो भ्रष्टाचार काण्डमा महाअभियोग लागेपछि वर्तमान राष्ट्रपति मुन जाए–इन निर्वाचित भएका हुन् । विपक्षी नेता हृवाङले राष्ट्रपति मुनलाई अन्तिम चेतावनी दिन आफूले कपाल मुण्डन गरेको बताए ।


उनले चुलाई तत्काल पदबाट राजीनामा दिई आफूविरुद्धका आरोपबारे स्वतन्त्र र निष्पक्ष छानबिनका लागि सघाउनसमेत आग्रह गरेका छन् । अभियोजनकर्ताहरूले चोकी श्रीमती चुङ क्युङ–सिमले पनि आफ्नी छोरीलाई शैक्षिक छात्रावृत्ति दिलाउन लागि अनियमितता गरेकी भन्दै मुद्दा चलाएका छन् । चुङ पनि विश्वविद्यालयकी प्राध्यापक हुन् ।


गत शुक्रबार भएको सुनुवाइका क्रममा चोले ‘छोरीले पाएको सुविधाका लागि युवा पुस्तासँग क्षमा मागेका’ थिए । तर उनले आफू देशको न्याय क्षेत्र सुधारका योजनासहित नयाँ जिम्मेवारीमा आएको दाबी गरेका थिए ।

पछिल्लो समय अलोकप्रिय बन्दै गएका मुनलाई चोको नियुक्तिले थप अप्ठ्यारोमा पार्ने देखिन्छ । गतमहिना ग्यालप कोरियाले गरेको सर्वेक्षणमा ४९ प्रतिशत नागरिकले मुनको कार्यशैलीप्रति असहमति जनाएका थिए भने ४४ प्रतिशतले उनले राम्रो काम गरिरहेको भन्दै समर्थन जनाएका थिए । करिब ६० प्रतिशतले भने चो कानुनमन्त्रीका लागि अनुपयुक्त भएको दाबी गरेका थिए ।


कोरियामा सन् १९६० र ७० को दशकमा सैनिक तानाशाही सरकारका बेला आफ्नो असहमति प्रकट गर्ने कपाल मुण्डन गर्न थालिएको हो । त्यसलाई पछिल्ला दुई दशकमा राजनीतिज्ञ तथा अभियानकर्मीलगायतले कुनै पनि मुद्दामा विरोध दर्साउन कपाल मुण्डन कार्यलाई निरन्तरता दिएका हुन् ।


सन् २०१८ मा सार्वजनिक शौचालय तथा लुगा फेर्ने कक्षहरूमा जासुसी क्यामेरा राखिएपछि कपाल मुण्डन गरी विरोध जनाएका थिए । दुई वर्षअघि कोरियाको दक्षिणी क्षेत्रमा जडान गरिएको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विरोधमा ९ सयभन्दा बढीले सार्वजनिक रूपमा कपाल खौरिएका थिए ।

प्रकाशित : भाद्र ३१, २०७६ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?