१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तेल प्रशोधन केन्द्रमा आक्रमण : इरानको संलग्नता पुष्टि भएको दाबी

एजेन्सीहरू

वासिङ्टन/दुबई — अमेरिकाले साउदी अरबका तेल प्रशोधन केन्द्रमा भएका आक्रमणमा इरानको संलग्नता पुष्टि भएको दाबी गरेको छ । अमेरिकाले आफ्नो गुप्तचर निकायको भनाइ उद्धृत गर्दै प्रमाणस्वरूप भूउपग्रहबाट खिचिएका तस्बिरसमेत सार्वजनिक गरेको छ ।

तेल प्रशोधन केन्द्रमा आक्रमण : इरानको संलग्नता पुष्टि भएको दाबी

साउदी अरबको सरकारी तेल कम्पनी अरामकोका तेल प्रशोधन केन्द्र अब्काइक र खुराइसमा शनिबार ड्रोन आक्रमण गरिएको थियो । आक्रमणमा इरान संलग्न रहेको अमेरिकी आरोप तेहरानले खण्डन गरिसकेको छ । इरानको समर्थन रहेको विद्रोही समूह हुथीले आक्रमणको जिम्मा लिएको थियो । हुथी समूह इरानमा सक्रिय रहेको छ ।


नाम उल्लेख नगरिएका अमेरिकी अधिकारीले विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै ‘आक्रमण गरिएको दिशाबाट र क्षमताका आधारमा हुथीको संलग्नता पत्याउन नसकिने’ बताएका छन् । आक्रमणपछि साउदी अरबले तेल तथा ग्यास उत्पादनमा कटौती गरेका कारण तेलको आपूर्ति ५ प्रतिशतले घटेको छ ।


अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले साउदी अरबका तेल प्रशोधन केन्द्रमा गरिएको हमलामा इरान संलग्न रहेको आरोप लगाएका छन् । इरानले भने अमेरिकी आरोप खण्डन गरिसकेको छ । इरानी विदेशमन्त्री जाभेद जारिफले आइतबार ‘अमेरिकाले आफूहरूमाथि जालझेल गरेको’ बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणका लागि इरानलाई दोष नलगाए पनि आइतबार गरेको ट्वीटमा उनले दोषीमाथि कडा सैन्य कारबाही गर्ने संकेत गरेका छन् ।


सोमबार न्युयोर्क टाइम्स, एबीसी र रोयटर्सले नाम उल्लेख नगरीकन अमेरिकी अधिकारीलाई उद्धृत गरेका छन् । एक अमेरिकी अधिकारीले लक्ष्यमा १९ पटक प्रहार गरिएको जनाउँदै आक्रमण पश्चिम तथा पश्चिमोत्तर दिशाबाट भएको बताए । यमन साउदी अरबको दक्षिणमा रहेको छ ।अमेरिकी अधिकारीले उत्तरी खाडीक्षेत्र, इरान वा इराकतिरबाट आक्रमण भएको हुन सक्ने बताए । आक्रमण स्थलमा रहेको ध्वस्त ट्यांकमा देखिएको निसानाका आधारमा आक्रमण पश्चिमी दिशाबाट भएको अमेरिकी अधिकारीको भनाइ छ ।


न्युयोर्क टाइम्सका अनुसार आक्रमणका लागि ड्रोन तथा क्रुज क्षेप्यास्त्रको प्रयोग गरिएको हुन सक्ने अमेरकी अधिकारीको भनाइ छ । तर ती सबै तेल प्रशोधन केन्द्रसम्म नपुगेका जनाइएको छ । एबीसीले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै आक्रमणमा इरान संलग्न भएकोबारे ट्रम्पलाई थाहा भएको जनाएको छ ।


चीनले दुवै पक्षलाई संयमित रहन आग्रह गरेको छ । बेलायती विदेशमन्त्री डोमिनिक राबले आक्रमण कसले गराएको हो भन्ने प्रस्ट नभए पनि उक्त कार्य ‘अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन’ भएको बताएका छन् ।


इरान समर्थित हुथी विद्रोहीले यमन सरकार र साउदी अरब गठबन्धनसँग युद्ध गर्दै आएका छन् । सन् २०१५ मा हुथी विद्रोही आक्रमणका कारण यमनी राष्ट्रपति अब्दराबुह मन्सुर हादीले राजधानी साना छाडेयता चर्केको हिंसा जारी छ । हादीलाई सहयोग गर्दै आएको साउदी अरबले हुथीविरुद्ध क्षेत्रीय देशहरुको गठबन्धन निर्माण गरेको छ । साउदी गठबन्धन सेनाले हरेक दिनहुँजसो हुथी लक्षित आक्रमण गर्दै आएको छ । त्यसको जवाफमा हुथीले ड्रोन आक्रमण गर्छन् ।


यसअघि गत मेमा सयबाह ग्यास केन्द्र र केही तेल प्रशोधन स्थलमा भएका आक्रमणमा हुथी विद्रोही जिम्मेवार रहेको आरोप लगाइएको थियो । उक्त क्षेत्रमा हिंसा चर्कनुको प्रमुख कारण साउदी अरब र इरानबीचको तनाव मुख्य हो ।

तेलको मूल्य बढ्यो


साउदी तेल केन्द्रमा शनिबार गरिएको आक्रमणपछि विश्व बजारमा तेलको मूल्य बढेको छ । ब्रेन्ट कच्चा तेल १० प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ६६.२८ अमेरिकी डलर पुगेको छ । जुन सन् १९९१ को खाडी युद्धयताकै उच्च दर हो । त्यसैगरी वेस्ट एसियाली व्यापार इन्डेक्स टेक्सस इन्टरमिडिएटमा ८.९ प्रतिशतले बढेर प्रतिब्यारेल ५९.७५ डलर पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरण गर्न अनुमति दिएपछि बढेको मूल्य केही घटेको थियो ।


शनिबार गरिएको तेल आक्रमणपछि यमनी विद्रोही समूह हुथी प्रवक्ता याह्या सरेयाले ‘पाँच वर्षदेखि यमनीविरुद्ध साउदी गठबन्धनले गरेको हवाई आक्रमणको प्रतिकार’ गरेको बताएका थिए । समूहले साउदी अरबका विमानस्थल तथा सैन्य अखडा केन्द्रित आक्रमण गर्दै आएको छ ।


के भन्छ इरान ?

अमेरिकाले आक्रमणमा प्रमाण भेटिएको दाबी गरेपछि भने इरानले प्रतिक्रिया जनाइसकेको छैन । इरानी परराष्ट्रमन्त्री जाभेद जारिफले आइतबार पोम्पियोको आलोचना ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘इरानमाथि अमेरिकाले अधिकतम दबाब दिए पनि असफल भएपछि पोम्पियो जालझेलमा लागेका छन् ।’


इरानले सन् २०१५ मा शक्तिराष्ट्रहरूसँग गरेको परमाणु सम्झौताबाट अमेरिका एकपक्षीय रूपमा बाहिरिएको घोषणा गरेपछि दुई देशबीचको विवाद उत्कर्षमा पुगेको हो । घोषणासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धका नाकाबन्दी कडा पारिसकेका छन् ।

गत जुन र जुलाईमा खाडी क्षेत्रमा तेल ट्यांकरमाथि इरानले आक्रमणमा गरेको साउदी अरब र अमेरिकाको आरोप छ । यद्यपि, उक्त आरोप इरानले अस्वीकार गर्दै आएको छ ।


गत मेमा ओमानको खाडीमा गरिएको आक्रमणमा ध्वस्त ४ मध्ये २ तेल ट्यांकर साउदी झन्डावाला थिए । साउदी अरब र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले त्यस आक्रमणका लागि पनि इरानमाथि दोषारोपण गरेका थिए ।

प्रकाशित : भाद्र ३०, २०७६ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?