कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

डुंगा पल्टिँदा १३ जनाको मृत्यु

नयाँदिल्ली — दक्षिण भारतीय राज्यको आन्ध्रप्रदेशमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ३१ जना हराइरहेका छन् । आइतबार अपराह्न आन्ध्रप्रदेशको पूर्वी जिल्ला गोदावरीमा दुर्घटना भएको हो ।

डुंगामा सवार ६१ मध्ये १७ जनाको सकुशल उद्धार गरिएको छ भने बाँकी ३१ हराइरहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार डुंगामा ५० पर्यटक र ११ कर्मचारी थिए । केहीले भने पौडेर ज्यान जोगाएका थिए ।


आन्ध्र प्रदेश पर्यटन प्राधिकरणद्वारा सञ्चालित डुंगा पर्यटकलाई लिएर देवीपटनम नजिकको गन्डी पोचम्मा मन्दिरबाट पापिकनडलु क्षेत्रतर्फ गइरहेको थियो । उक्त क्षेत्र पर्यटकको आकर्षक गन्तव्य हो । गोदावरी दक्षिण भारतको प्रमुख नदी हो ।


भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनास्थल अमरावतीबाट करिब २ सय किमि टाढा रहेको देवीपटनम मण्डलको कच्चुलुरु गाउँमा भएको हो । विगत केही दिनयता गोदावरीमा बढेको पानीको सतहका कारण दुर्घटना भएको अधिकारीहरूको अनुमान छ । दुर्घटनाका समय गोदावरीमा पानीको प्रवाह ५ लाख क्युसेकभन्दा बढी थियो ।


घटनालगत्तै राष्ट्रिय विपद् व्यवस्थापन टोलीका सदस्यहरू उद्धारमा खटिएका थिए । उद्धारका लागि दुइटा डुंगा परिचालन गरिएका थिए । घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले दुःख व्यक्त गरेका छन् । ‘आन्ध्रप्रदेशको पूर्वी गोदावरीमा भएको डुंगा दुर्घटनाप्रति म अत्यन्त दुःखी छु । शोकसन्तप्त परिवारप्रति मेरो समवेदना छ,’ मोदीले ट्वीटरमा लेखेका छन् ।


त्यसैगरी, गृहमन्त्री अमित शाह, आन्ध्रप्रदेशका मुख्यमन्त्री वाईएस जगमोहन रेड्डी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र तेलगंनाका मुख्यमन्त्री केसी रावले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । आन्ध्रप्रदेश सरकारले मृतकका परिवारलाई दस लाख भारतीय रुपैयाँ सहयोग दिने घोषणासमेत गरेको छ ।

प्रकाशित : भाद्र ३०, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?