२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

साउदी तेल प्रशोधन केन्द्र आक्रमणमा इरान जिम्मेवार : अमेरिका

साउदी तेल प्रशोधन केन्द्रमा आक्रमण
एजेन्सीहरू

वासिङ्टन/तेहरान — साउदी अरबका दुई तेल प्रसोधन केन्द्रमा गरिएको ड्रोन आक्रमणमा इरानको संलग्नता रहेको अमेरिकाले दाबी गरेको छ । 
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ‘साउदी अरबको सरकारी कम्पनीमा गरिएको आक्रमणमा इरान जिम्मेवार रहेको’ बताएका हुन् । ड्रोन आक्रमणपछि तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो ।

साउदी तेल प्रशोधन केन्द्र आक्रमणमा इरान जिम्मेवार : अमेरिका

साउदी सरकारी कम्पनी अरामकोका तेल प्रशोधन केन्द्र अब्काइक र खुराइसमा शनिबार ड्रोन हमला गरिएको हो । अब्काइक विश्वकै ठूलो विशाल तेल प्रशोधनस्थल हो ।

आक्रमणको जिम्मेवारी लिएको यमनस्थित हुथी विद्रोही समूहले पोम्पियोको दाबी आधारहीन भन्दै अस्वीकार गरिदिएको छ तर पोम्पियोले ‘ड्रोन आक्रमण यमनबाट भएको कुनै प्रमाण नभेटिएको’ दाबी गरेका छन् ।

यमनस्थित हुथी विद्रोही समूहका प्रवक्ताले आक्रमणका लागि आफूहरूले १० वटा ड्रोन परिचालन गरेको बताएका थिए तर अमेरिकी विदेशमन्त्री पोम्पियोले ती ड्रोन यमनबाट आएको कुनै प्रमाण नभेटिएको बताए ।

इरानले अमेरिकी भनाइमा ‘कुनै सत्यता नरहेको’ दाबी गरेको छ । इरानी विदेशमन्त्री जाभेद जारिफले ‘इरानमाथि आरोप लगाएर यमनको विपद अन्त्य नहुने’ चेतावनी दिएका छन् । विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले ‘अमेरिकी आरोपमा कुनै सत्यता नरहेको र अर्थहीन रहेको’ बताए । अमेरिकाले आफ्नो देशविरुद्ध आक्रमण गर्न पृष्ठभूमि तयार गरिरहेको मौसवीको भनाइ छ ।

यसअघि अमेरिकी विदेशमन्त्री पोम्पियोले ट्वीट गर्दै साउदी कम्पनीमाथिको ड्रोन हमला ‘विश्वको ऊर्जा आपूर्तिमाथिको अभूतपूर्व आक्रमण’ भएको समेत दाबी गरेका छन् । उनले लेखेका छन्, ‘इरानी आक्रमणको सार्वजनिक र स्पष्ट रूपमा निन्दा गर्न हामी सबै मुलुकलाई आग्रह गर्छौं ।’ ड्रोन आक्रमणपछि साउदी अरेबियाको तेल उत्पादन आधा कटौती भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । साउदी अरबले ‘सरकारी स्वामित्वका दुइटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरिएपछि तेल र ग्यास उत्पादनमा कटौती गरेको’ जनाएको छ ।

ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार आक्रमणपछि कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेलले कमी आएको छ । यो साउदी अरबले उत्पादन गर्ने तेलको झन्डै आधा हो ।

साउदी प्रेस एजेन्सीले छापेको सलमानको वक्तव्यमा भनिएको छ, ‘ड्रोन आक्रमणका कारण अब्काइक र खुराइसमा प्रशोधन केन्द्रमा तत्कालका लागि तेल उत्पादन रोकिएको छ ।’ यद्यपि, अमेरिकी विदेशमन्त्रीले ‘ऊर्जा बजारमा आपूर्ति यथास्थितिमा रहेको सुनिश्चित गर्न अमेरिकाले साझेदारहरूसँग मिलेर काम गर्ने बताएका छन् ।

इरानी परमाणु कार्यक्रमलाई सीमित तुल्याउने सम्झौताबाट अमेरिकालाई अलग गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष तेहरानमाथिका प्रतिबन्ध कडा पारेपछि दुई मुलुकबीच तनाव बढ्दो छ ।

ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानलाई ‘साउदी तेल केन्द्रहरूको सुरक्षाका लागि पूरा सहयोग गर्ने प्रस्तावसमेत गरेका बीबीसीले उल्लेख गरेको छ । सलमानले भने ‘रियादले हमलाको प्रत्युत्तर दिन सक्षम रहेको’ बताउँदै तत्कालका लागि सहयोग आवश्यक नरहेको बताएका छन् ।

हुथी समूहले विगतमा पनि साउदी अरबका विमानस्थल तथा सैन्य अखडाकेन्द्रित आक्रमण गर्दै आएको थियो । यसअिघ हुथी समूहद्वारा सञ्चालित टेलिभिजन अल–मसिराहमा बोल्दै प्रवक्ता याह्या सरेयाले ‘निकट भविष्यमै थप आक्रमण गर्ने’ चेतावनीसमेत दिएका थिए ।

सरेयाले शनिबारको आक्रमण ‘पाँच वर्षदेखि यमनीविरुद्ध साउदी अरबको गठबन्धनले गरेको हवाई आक्रमणको प्रतिकार’ भएको जनाएका थिए । उनले साउदी अरबका इमानदार मानिसको समन्वयमा त्यस्तो आक्रमण सम्भव भएको दाबी गरेका छन् ।

इरान समर्थित हुथी विद्रोहीले यमन सरकार र साउदी अरब गठबन्धनसँग युद्ध गर्दै आएका छन् । सन् २०१५ मा हुथी विद्रोहीका कारण राष्ट्रपति अब्दराबुह मन्सुर हादी राजधानी साना छाड्न बाध्य भएयता यमनमा हिंसा चर्केको हो ।

हादीलाई सहयोग गर्दै आएको साउदी अरबले हुथीविरुद्ध क्षेत्रिय देशहरूको गठबन्धन निर्माण गरेको छ । साउदी गठबन्धन सेनाले हरेक दिनजसो हुथीलक्षित आक्रमण गर्दै आएको छ । त्यसको जवाफमा हुथीले ड्रोन आक्रमण गर्छन् ।

यसअघि गत मेमा सयबाह ग्यास केन्द्र र केही तेल प्रशोधनस्थलमा भएका आक्रमणमा हुथी विद्रोही जिम्मेवार रहेको आरोप लगाइएको थियो । उक्त क्षेत्रमा हिंसा चर्कनुको प्रमुख कारण साउदी अरब र इरानबीचको तनाव मुख्य हो ।

गत जुन र जुलाइमा खाडी क्षेत्रमा तेल ट्यांकरमाथि इरानले आक्रमणमा गरेको साउदी अरब र अमेरिकाको आरोप छ । यद्यपि, उक्त आरोप इरानले अस्वीकार गर्दै आएको छ ।

गत मेमा ओमानको खाडीमा गरिएको आक्रमणमा ध्वस्त ४ मध्ये २ तेल ट्यांकर साउदी झन्डावाला थिए । साउदी अरब र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले त्यस आक्रमणका लागि पनि इरानमाथि दोषारोपण गरेका थिए ।

तेलको मूल्य बढ्ने चिन्ता

विश्वको सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी अरामको विश्वमै सबैभन्दा बढी नाफा कमाउने तेल कम्पनी पनि हो । अरामकोको सबैभन्दा ठूलो प्रशोधन केन्द्र अब्काइकले विश्व बजारको मागको ७ प्रतिशत तेल आपूर्ति गर्ने क्षमता राख्छ । अर्को प्रसोधन केन्द्र खुराइसले विश्वमा खपत हुने तेलको करिब एक प्रतिशत उत्पादन गर्छ ।

कम्पनीको आकार र क्षमताका कारण पनि यसमाथि हुने आंशिक अवरोधले विश्वबजारमा तेलको आपूर्ति प्रभावित हुने देखिन्छ । शनिबार गरिएका आक्रमणका कारण साउदी अरबको तेल उत्पादनका आधाले कमी आइसकेको अधिकारीहरूले जनाएका छन् ।

साउदी अरबले विश्व बजारको कम्तीमा १० प्रतिशत कच्चा तेल उत्पादन गर्छ । त्यसकारण साउदीमा आएको उत्पादनको कमीको सोमबार बजार खुल्नासाथ तेलको मूल्यमा उल्लेखनीय असर पर्ने विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित : भाद्र ३०, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?