१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अस्ट्रेलियामा दुर्गम केन्द्रित अध्यागमन नीति

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाले देशमा भइरहेको कामदार अभाव अन्त्य गर्न दुर्गम क्षेत्रलाई केन्द्रित गरी अध्यागमन नियम ल्याउने भएको छ । अस्ट्रेलियाको रोजगार तथा सीप मन्त्री मिकइला क्यासले अहिले जारी दक्ष कामदार सूचीलाई समीक्षा गरिने घोषणा गरेकी हुन् । 

अस्ट्रेलियामा दुर्गम केन्द्रित अध्यागमन नीति

सरकारले हरेक वर्ष बाहृय देशका दक्ष कामदारलाई अस्ट्रेलिया भित्र्याउने योजना साथ विभिन्न कामको सूची सार्वजनिक गर्दै आएको छ । हाल कायम करिब ५ सय त्यस्ता कामको सूचीले कामदार अभाव सम्पूर्ण रूपमा पूर्ति गर्न नसकेकाले यसलाई परिमार्जन गरी दुर्गम क्षेत्रमा कामदारलाई प्रोत्साहन गर्ने नियम ल्याउन लागिएको जनाइएको छ ।


देशमा आवश्यक दक्ष कामदार कुन कामको सूचीले पूर्ति गर्न सक्छ सोहीअनुसार परिमार्जन गरिने अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सरकारले यही वर्षको मार्चमा यस सूचीलाई परिमार्जन गरेको भए पनि कामदारको आवश्यकता पूर्ति नभएको गुनासोपछि परिमार्जन गर्न लागिएको जनाइएको छ ।


‘दक्ष कामदारहरू अस्ट्रेलियाको विकासका अंग रहेका भए पनि हामीले सही र आवश्यक दक्ष कामदार भित्र्याएर यहाँको अभाव पूर्ति गर्नुपर्छ,’ मन्त्री क्यासले भनेकी छन् । अस्ट्रेलियाले पछिल्लो समयमा दुर्गम क्षेत्रमा भइरहेको कामदार अभावलाई पूर्ति गर्न र सहरमा बढिरहेको भीड कम गर्नका लागि दुर्गम केन्द्रित अध्यागमन नीति ल्याइरहेको छ ।


सरकारले सहरी क्षेत्रमा बढ्दै गएको जनसंख्या कम गर्ने नीतिअनुरुप दुर्गम क्षेत्रमा बसोबास गर्नेका लागि नयाँ कार्यक्रम सार्वजनिक गरिसकेको छ । अस्ट्रेलियाली अध्यागमनविज्ञ सञ्जीव पाण्डेका अनुसार ‘अध्यागमन नीति परिवर्तन गर्नेभन्दा पनि सकेसम्म दुर्गमको कामदार अभाव परिपूर्ति गर्ने र सहरमा बढिरहेको भीड कम गर्न सूचीमा रहेका कामको समीक्षा गर्न लागिएको’ हो ।


सरकारले सम्बन्धित क्षेत्रका सरोकारवालासँग यसबारे छलफल जारी राखेको र अबको केही महिनाभित्र सूची अद्यावधिक गरिने समाचारमाध्यमले जनाएका छन् । ‘कमिटी फर इकोनोमिक डेभेलोपमेन्ट अफ अस्ट्रेलिया’ का मुख्य अर्थशास्त्री जारड बलले ‘पछिल्लो समय श्रम बजारमा धेरै परिवर्तन आइसकेको र पहिल्यैदेखि रहेको सूचीबाट आवश्यक दक्ष कामदार भित्र्याउन सहज नरहेको’ बताएका छन् ।


अस्ट्रेलियाले हरेक वर्ष १ लाख ९० हजार आप्रवासीलाई अस्ट्रेलिया भित्र्याउने गरेको भए पनि यो संख्या घटाएर यस वर्षदेखि १ लाख ६० हजार बनाइसकेको छ । केही समयअघि मात्र दुर्गम क्षेत्रका लागि कामदार भित्र्याउने उद्देश्यले थप १३ देशका नागरिकलाई भिसा प्रक्रियामा समेट्ने घोषणा गरिसकेको छ ।


अध्यागमन मन्त्री डेभिड कोलम्यानले भारत, फिजी, फिलिपिन्स, ब्राजिललगायत देशका नागरिकलाई छोटो समयका लागि दिइने ‘वर्किङ होलिडे भिसा’ प्रक्रियामा समावेश गराउने घोषणा गरिसकेका छन् ।


३ महिनादेखि एक वर्षसम्मको काम गर्न पाइने यस भिसामा दुर्गम क्षेत्रमा गएर काम गर्नुपर्ने लगायतका प्रावधान राखिएको छ । भिसा प्रक्रियामा नेपाललाई पनि समेट्ने प्रयास गरिरहेको अस्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित : भाद्र २८, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?