कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जापानमा गर्मी छल्न कृत्रिम हिउँ

(एजेन्सी)

टोकियो — जापानको राजधानी टोकियोमा केही दिनयताको तापक्रम २५ डिग्री सेल्सियस हाराहारी छ । जुन सामान्यतः मानिसको दिनचर्याका लागि ठिक्क हो । यस्तो मौसममा मानिसलाई न गर्मी हुन्छ, न त जाडो नै । तर राजधानी टोकियोस्थित एक खेलकुद रंगशालमा भने शुक्रबार दर्शकले फरक मौसमको अनुभव लिए ।

जापानमा गर्मी छल्न कृत्रिम हिउँ

जापानमा सन् २०२० मा आयोजना हुने ओलिम्पिक खेल हेर्ने दर्शकलाई गर्मीबाट बचाउन विकसित गरिएको नयाँ प्रविधिमार्फत् त्यस्तो अनुभव सम्भव भएको हो । वैज्ञानिकहरूले प्रविधिको सहयोगले पारेको कृत्रिम हिउँको दर्शकले अनुभव लिन पाएका हुन् ।


‘सी फरेस्ट वाटर वे’ रंगशालाको दर्शकदीर्घामा शुक्रबार करिब ३ सय किलो कृत्रिम हिउँ पारिएको हो । वैज्ञानिकहरूका अनुसार यसको उद्देश्य रंगशाला वरपरको तापक्रम र आद्रता कम हुने/नहुनेबारे परीक्षण गर्नु भएको जनाएका छन् । ओलम्पिक आयोजना हुने महिना जुलाईमा टोकियोको तापक्रम ३५ डिग्री सेल्सियस हाराहारी पुग्छ । आद्रता बढी हुने भएकाले उक्त तापक्रममा खेल आयोजना गर्न तथा खेल हेर्ने दर्शकलाई असहज हुने अनुमान छ । त्यसका साथै ओलम्पिकका दर्शकलाई स्वास्थ्यसम्बन्धी समस्यासमेत हुन सक्ने भएकाले कृत्रिम हिउँ पार्ने प्रविधि विकसित गरिएको अधिकारीको भनाइ छ ।


‘सी फरेस्ट वाटर वे’ मा ओलिम्पिकका रोविङ र कनोइङ खेलहरू खेलाइँदै छ । खेलस्थलमा २ हजार दर्शक अट्छन् भने तीमध्ये आधा सिटहरूमाथि छानो बनाइएको छैन । खुला स्थलमा पर्ने सिटमा बस्ने दर्शकलाई लक्षित गरी कृत्रिम हिउँ पारिने आयोजकको भनाइ छ ।


ओलिम्पिक आयोजक कमिटीले शुक्रबार परीक्षणस्वरूप ५ मिनेट कृत्रिम हिउँ पारेको थियो । तर यसको नतिजा भने आयोजकको अपेक्षाअनुसार नदेखिएको जनाइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार कृत्रिम हिउँ पार्नु अघि र पछिको तापक्रम फरक भने परेन ।


ओलम्पिक आयोजक कमिटीका सञ्चार, निर्देशन र नियन्त्रण प्रमुख ताकासी ओकामुराले नतिजा ‘अपेक्षा गरेअनुसार नआए पनि’ हिउँका अन्य गुण रहेको बताए । ‘यो मेसिनमा रहेको हिउँ छर्केने सुविधा भनेको दर्शकलाई थप रमाइलो गराउनु पनि हो,’ उनले भने ।


विगतमा संगीतसम्बन्धी कार्यक्रमहरूमा प्रयोग गरिने मेसिनले १५ मिटर टाढासम्म हिउँ छर्कन सक्ने बताइएको छ । यद्यपि, यसका लागि लाग्ने खर्चबारे भने अधिकारीहरूले केही उल्लेख गरेका छैनन् ।


आयोजक कमिटीका अनुसार ओलम्पिकका खेलका समयमा उक्त मेसिन प्रयोग गर्ने/नगर्नेबारे टुंगो लागिसकेको छैन । अधिकारीले पुनः अर्को परीक्षण गरेपछि मात्रै त्यसबारे निर्क्यौल गर्ने जनाएका छन् । ‘यो पहिलो परीक्षण हो,’ आयोजक कमिटीका स्थल सेवा विभाग प्रमुख टोमोआकी मात्सुमोतोले भने, ‘तर हामीले यो प्रविधि प्रयोग गर्ने सम्भावना छ ।’ जापानले सन् २०२० को ओलम्पिक आयोजना गर्न ७ वर्षअघि नै अनुमति पाएको हो । त्यसयता जापानी अधिकारीहरूले छाता आकारको टोपी तथा कुहिरो लगाउने मेसिनको समेत परीक्षण गरिसकेका छन् ।


जापानमा हालै देखिएको उच्च तापक्रमले गर्मीबारे चिन्ता बढेको अधिकारीहरूको भनाइ छ । गतवर्ष गर्मीका कारण जापान सरकारले प्राकृतिक विपत्ति घोषणा गरेको थियो । गर्मीले एक सातामा ५ दर्जनभन्दा बढी मानिसको ज्यान गएको थियो । सन् २०१९ को जुलाईमा पछि अत्यधिक गर्मीमा कारण ५ हजारभन्दा बढी मानिस अस्पताल पुगेका थिए ।


गत महिना तापक्रम ३२ डिग्री पुगेपछि भएको ओलिम्पिक छनोट दौडको दूरी घटाइएको थियो । ओलम्पिक अधिकारीका अनुसार प्रविधिको प्रयोगले दौड प्रतियोगिताका बेला धावकलाई सहयोग पुर्‍याइने छ । दौड गरिने ४२ किलोमिटर सडक सतहको तापक्रम ८ डिग्रीसम्म घटाइने जनाइएको छ ।


त्यसैगरी, सकेसम्म धेरै रुख रोप्ने तथा वातानुकूलन प्रविधि भएका घरलाई ढोका खुला राख्न अनुरोध गरिएको छ । आयोजकले यसअघिको नियम परिवर्तन गरी दर्शकलाई आफ्नो पेय पदार्थसमेत खेलस्थलसम्म लैजान दिइने जनाएको छ । सन् २०२० को ओलम्पिक खेल जुलाई २४ देखि अगस्ट ९ सम्म हुँदै छ ।

प्रकाशित : भाद्र २७, २०७६ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?