१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

आत्महत्या घटाउन 'आर यु ओके ?’

नारायण खड्का

अस्ट्रेलिया — अंग्रेजी भाषाको वाक्य ‘आर यु ओके ?’ अर्थात् तपाईं ठीक हुनुहुन्छ ? सुन्दा जति सामान्य लाग्छ, यसको भित्री अर्थ उति नै गहन छ । यही वाक्यको महत्त्वलाई अस्ट्रेलियाले विश्वव्यापी रूपमा जीवनबाट हरेस खाएकाहरूलाई जीवन जिउन प्रेरित गर्ने उद्देश्यका साथ फैलाउने अभियान सुरु गरेको छ । 

आत्महत्या घटाउन 'आर यु ओके ?’

अस्ट्रेलियामा आत्महत्याको संख्या बर्सेनि बढिरहेको छ । उपलब्ध तथ्यांकअनुसार सन् २०१७ मा ३ हजार १ सय बढीले आत्महत्या गरेका छन् । आजभन्दा १० वर्षअघि सामान्य कुराकानीले जीवनमा परिवर्तन ल्याउन सक्छ भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको थियो । अभियानअन्तर्गत आफ्ना साथीभाइ, आफन्त, काम गर्ने सहकर्मीहरूका साथै सबैलाई ‘आर यु ओके ?’


अर्थात् तपाईंलाई ठीक छ भनेर सोध्न प्रेरित गर्ने गरिएको छ । ‘एउटा सानो कुराकानी वा सामाजिक सम्बन्धले पनि मानिसको जीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्छ र यसको महत्त्व त्यसैले पनि धेरै छ ।’ यस अभियानका सुरुवातकर्तामध्येका गाभिन कोअनले भनेका छन् । उनले विगत १० वर्षमा यो अभियानले धेरैको जीवनमा परिवर्तन ल्याउन सकेको बताउँदै यसलाई अन्तर्राष्ट्रिय रूपमा लैजाने पहल सुरु गरिएको बताए ।


पछिल्लो समयमा नेपाली समुदायमा समेत मानसिक रोग बढ्दै गएको छ । यसका साथै आत्महत्याका घटनासमेत भइरहेका छन् । मानसिक रोगको क्षेत्रमा काम गर्ने नेपाली विशेषज्ञहरूका अनुसार कम्तीमा ५ जनामा एकलाई मानसिक रोगको समस्या देखिएको छ ।


यो अभियान हामीले नेपाली समुदायमा फैलाउन सकिएको खण्डमा समेत मानसिक रोग र यसबाट पीडित भएका नेपाली सर्वसाधारणका बारेमा जानकारी पाउन सकिने यसै क्षेत्रमा सामाजिक कार्यकर्ताका रूपमा काम गरिरहेकाहरूको भनाइ छ । ‘यो तीन शब्द सुन्दा जति सामान्य र सरल लाग्छ, यसलाई व्यवहारमा उतारेर आफ्ना साथीभाईको समस्या बुझ्न सक्ने हो भने यो अत्यन्तै प्रभावकारी हुन्छ ।’


यहाँस्थित सामाजिक संस्था रिलेसनसिप अस्ट्रेलियामा रहेर नेपाली समुदायका क्षेत्रमा काम गरिसकेका नवीन पन्त सुनाउँछन् । अहिले एनआरएनको उपाध्यक्ष बनेका उनी एनआरएनले आफ्नो महिला फोरमअन्तर्गत यसलाई अझ प्रभावकारी रूपमा अघि बढाउने दाबी गर्छन् । अस्ट्रेलियामा सेप्टेम्बर १२ तारिखमा यसलाई ‘आर यु ओके ?’ दिनका रूपमा मनाइने गरिन्छ । यहाँका सरकारीका साथै निजी कार्यस्थलहरूमा समेत यस अभियानका बारेमा खुलेर कुराकानी गर्न प्रेरित गरिन्छ । ‘यो कुराकानीको सुरुवात गरेर मानिसको जीवनमा परिवर्तन ल्याउन गरिएको सानो पहल हो ।’


संस्थाले हालै जारी गरेको वार्षिक प्रतिवेदनमा भनेको छ । यो अभियानअन्तर्गत सहयोग पाउनका लागि प्रेरित गर्ने, स्थानीयहरूमा आत्महत्या– लगायतका विषयमा जनचेतना जगाउनेलगायतका छन् ।

प्रकाशित : भाद्र २७, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?