भारत चीन सीमा विवाद : सैनिकबीच घम्साघम्सी

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच दोस्रो अनौपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला दुई देशका सेनाबीच सामान्य झडप भएको छ । भारत र चीनको सिमा क्षेत्र लद्दाखमा गस्तीमा रहेका सैनिकबीच झडप भएको हो ।

भारत चीन सीमा विवाद : सैनिकबीच घम्साघम्सी

भारतको लद्दाख छेउको पागंग ताल नजिक दुई देशका सेनाबीच भएको झडप बुधबार दिनभर चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १३४ किमि लामो उक्त तालको उत्तरी किनार नजिक चीन र भारतबीच रहेको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ (एलएसी) क्षेत्रमा झडप भएको बताइएको छ । तालको दुई तिहाई हिस्सा चीनको नियन्त्रणको रहेको छ । तर, दुई देशका सैनिक अधिकारीहरुको प्रतिनिधि मण्डलबीचको छलफल पछि तनाव साम्य भएको थियो ।


जबकि भारतीय प्रधानमन्त्री मोदी र चीनियाँ राष्ट्रपति सीबीच आगामी अक्टोबर १०–१२ मा दक्षिण भारतीय शहर चेन्नई नजिकको ऐतिहासिक नगरी मामल्लापुरममा हुने बताइएको छ । उक्त भेटमा पनि दुई पक्षीय सिमा विवाद र व्यापारका विषयमा कुराकानी हुने भारतीय सञ्चारमाध्यमहरुले बताउँदै आएका छन् ।


भारतीय सञ्चारमाध्यमहरुका अनुसार गस्तीमा रहेका भारतीय सैनिकहरुको उपस्थितिलाई लिएर त्यहाँ रहेका चीनियाँ सैनिकहरुले आपत्ति जनाएपछि विवाद उत्पन्न भएको हो । विवाद बढ्दै गएर साँझ भइसक्दा घम्साघम्सीको परिस्थिति बनेको थियो ।


सिमावर्ती क्षेत्रमा भारतीय सैनिकहरुबीच तनाव उत्पन्न भएको यो पहिलो पटक होइन । यसअघि सन् २०१७ मा बुधबार झडप भएकै क्षेत्रमा दुई वर्षअघि पनि यस्तै परिस्थिति सिर्जना भएको थियो । त्यतिबेला तनाव बढ्दै गएपछि दुवै देशका सैनिकहरु धक्कामुक्की र ढुंगा हानाहानको तहमा ओर्लेका थिए ।


सोही वर्ष सिक्किम नजिकको भारत, भुटान र चीनको त्रिदेशीय सिमा क्षेत्र दोक्लममा करीब साढे दुई महिना भारतीय र चीनियाँ सैनिकबीच हात हालाहालको स्थिति निर्माण भएको थियो । त्यतिबेला एसियाको यी दुई ठूला छिमेकीबीच देखिएको तनाव युद्धमा परिणत हुनेकि भन्ने त्रास समेत सिर्जना भएको थियो ।


दोक्लम विवाद टरे पनि लामोसमय सम्म चीन र भारतबीच सम्वाद नै टुटेको थियो । तर, दोक्लाम विवाद भएको करीब आठ महिनापछि चीनको उहानमा भएको मोदी र सीबीचको अनौपचारिक भेटपछि दुई देशको सम्बन्धमा सुधारोन्मुख बनेको हो । दोस्रो शिखर वार्ता आउन एक महिनामात्र बाँकी रहेको अवस्थामा यसअघि जस्तो दुई देशका सैनिकहरुबीच घम्साघम्सीले भएको छ ।


त्यसो त पछिल्लो समय भारत र चीनबीचको सम्बन्धमा पुनः केही चिसो पनि देखिएको छ । विशेषगरी भारतले एक महिना अघि जम्मुकश्मिरलाई टुक्राएर लद्दाखलाई बेग्लै केन्द्र शासित क्षेत्र घोषणा गरेदेखि यी दुई छिमेकीबीचको सम्बन्धमा केही तिक्तता आएको हो । चीनले लद्दाक क्षेत्र आफ्नो भएको भन्दै भारत सरकारले आफ्नो दाबी गरेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै आएको छ ।

पछिल्लो तनावलाई चीनको उक्त असन्तुष्टिको संकेतका रुपमा समेत हेरिएको छ । त्यसैगरी बुधबार मात्र भारतीय सेनाले अरुणाचल राज्यमा बृहत संयुक्त अभ्यासको घोषणा गरेको थियो । जसमा करीब १५ हजार सैनिक सहभागी हुने बताइएको छ । भारतीय सेनाको उक्त घोषणाप्रति पनि चीन असन्तुष्ट हुनु निश्चित छ ।


किनकि चीनले भारतको नियन्त्रणमा रहेको अरुणाचल क्षेत्रको अधिकांश हिस्सालाई आफ्नो दाबी गर्दै आएको छ । एक महिनापछि हुने दोस्रो शिखर वार्तामा सायद बुधबार सैनिकहरुबीच भएको घम्साघम्सी र लद्दाखका सम्बन्धमा भारतले लिएको पछिल्लो निर्णयले प्राथमिकता नै पाउनेछन् ।

प्रकाशित : भाद्र २६, २०७६ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?