कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तिब्बतले ७० वर्षमा फड्को मार्‍यो

लक्ष्मी लम्साल

बेइजिङ — नेपालसहित दक्षिण एसियाको मुख्य च्यानल मानिएको चीनको तिब्बतले विगत ७ दशकमा अभूतपूर्व फड्को मारेको दाबी गरेको छ। राजधानी बेइजिङमा बिहीबार पत्रकार सम्मेलन गरेर तिब्बत स्वशासित क्षेत्रका अध्यक्ष छी चालाले दक्षिण एसिया जोड्ने मुख्य स्थान भएको नाताले तिब्बतले अन्तर्राष्ट्रिय व्यापार पनि निरन्तर वृद्धि गर्दै गइरहेको बताए।

तिब्बतले ७० वर्षमा फड्को मार्‍यो

उनले भने, ‘दक्षिण एसियासँगको महत्वपूर्ण च्यानलको हैसियतले तिब्बतले सिमावर्ती व्यापारमा प्रतिवर्ष ५० प्रतिशतको वृद्धि हासिल गरिरहेको छ।’


दक्षिण एसिया प्रवेशको मुख्य मार्गको रूपमा चीनले नेपालतर्फका नाकामा जोड दिइरहेको छ। १४ सय १४ किलोमिटर सीमा जोडिएको नेपाल नै चीनका लागि दक्षिण एसिया प्रवेशको सुगम मार्ग हो। चीनले भविष्यमा नेपालको बाटो हुँदै दक्षिण एसियाली बजारमा पुग्ने पूर्वाधारको तयारी गरिरहेको बेला तिब्बतले सीमावर्ती च्यानलमा जोड दिइरहेको बताएको छ।


बेइजिङमा भएको पत्रकार सम्मेलनमा तिब्बत स्वशासित क्षेत्रका प्रमुख छी चालाले आर्थिक तथा सामाजिक क्षेत्रमा फड्को मार्ने गरी भएको विकासले तिब्बती जनताको सुख र सुरक्षा भावना उच्च बनाइरहेको दाबी गरे।


विगत ७० वर्षमा तिब्बतमा उद्योगको तीव्र विकास भएको छ भने विद्युत जेनेरेटरको कूल क्षमता ३३ लाख २० हजार किलोवाट पुगेको छ । यसबाट तिब्बतीहरूको घाँसदाउरा तथा गोबरग्याँसको युगको अन्त्य भएको छ ।


पत्रकार सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वायत्त प्रदेश शाखाका महासचिव उ यीङचेले बताए अनुसार तिब्बतमा सर्वसाधारणको धार्मिक विश्वास तथा सामान्य धार्मिक गतिविधिको संरक्षणमा चीनले ध्यान दिइरहेको छ। उनले सर्वसाधारणको जीवनसँग घनिष्ठ सम्बन्धित उत्पादनको विकास तथा दैनिक जीवनको सुधारमा केन्द्र सरकारले महत्व दिइरहेको पनि बताए।

उनले भने, ‘तिब्बतले गरिबी निवारणमा गुणात्मक प्रगति गरेको छ । यस वर्षको अन्त्यसम्ममा बाँकी रहेका १९ काउन्टी पनि गरिबीमुक्त भएपछि २०२० भरिमा सारा चीन औसत समृद्ध मुलुक बन्न तिब्बत पनि एउटा पाटो हुनेछ।’


तिब्बत नै गाँस,बास र शिक्षामा शूल्क व्यहोर्ने चिनियाँ नीति लागू भएको पहिलो क्षेत्र मानिन्छ। तिब्बतमा शिशु कक्षादेखि विश्वविद्यालयको संख्या २ हजार ४ सय ४२ वटा पुगेका छन् भने विद्यार्थी भर्नाको दर ९९ प्रतिशत पुगेको छ। ल्हासा केन्द्रीत चिकित्सा सेवा नेटवर्कमा रहेका चिकित्सा संस्थाको संख्या १५ सय ४८ रहेका छन् । तिब्बतीहरूको सन् १९५९ अघिको औसत उमेर ३५.५ वर्ष रहेकोमा हाल ७०.६ पुगेको छ।


नयाँ चीन स्थापनाको ७० औं वार्षिकोत्सव तथा तिब्बतको प्रजातान्त्रिकीकरणको ६० वर्षको विकास उपलब्धीबारे १२ तारिख बेइजिङमा यो पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

प्रकाशित : भाद्र २६, २०७६ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?