उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण : दक्षिण कोरियाली दूत चीन जाने

सिन्ह्वा

सोल — उत्तर कोरियाले दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको समाचार सार्वजनिक भएको भोलिपल्ट दक्षिण कोरियाली आणविक दूत चीन भ्रमणमा जाने भएको छ । 

आणविक दूतले चीन भ्रमण गर्ने दक्षिण कोरियाली विदेश मन्त्रालयले बुधबार जनाएको हो । मन्त्रालयका अनुसार कोरियाली प्रायःद्वीपका लागि दक्षिण कोरियाली उच्च आणविक दूत ली दु हुनले यसै साता चीनको भ्रमण गर्ने भएका हुन् ।


कोरियाली द्वीपको शान्ति र सुरक्षासम्बन्धी दूत हुनले बिहीबार चीन भ्रमण गर्ने र चीनका उपमन्त्री लुओ चाओइसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अमेरिकासँग उत्तर कोरियाले हालै मात्र वार्ताका लागि आह्वान गरेको थियो । त्यस लगत्तै उत्तरले मंगलबार मात्र समुद्री तटतर्फ छोटो दूरीका हतियार नै प्रहार गरेको समाचार आएको छ ।


दक्षिण कोरियाली विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार उक्त भेटका क्रममा द्विपक्षीय हितका विभिन्न विषयका साथै कोरियाली द्वीपमा हालै विकसित परिस्थितिका बारेमा कुराकानी हुने छ । उत्तर कोरियाका पहिलो उपविदेशमन्त्री चो सन हुईले उत्तर कोरिया अमेरिकासँग आगामी सेप्टेम्बर महिनामा वार्तामा बस्न इच्छुक रहेको जानकारी विज्ञप्तिमार्फत् दिएका छन् ।


अमेरिकासँग वार्तामा बस्न आफू इच्छुक रहेको तर वार्ताका लागि दिन भने निश्चित नभएको उनले बताए । उनका अनुसार गत महिना उनी दक्षिण कोरिया भ्रमणमा गएका थिए । त्यस क्रममा उनले अमेरिका उत्तर कोरियासँग कोरियाली द्वीपका विषयमा कुराकानी गर्न चाहेको बताएका थिए ।

प्रकाशित : भाद्र २६, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?