कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बेलायतको वर्क परमिट सहज बनाइँदै, रेस्टुरेन्ट व्यवसायीलाई राहत मिल्ने

लन्डन — अध्यागमन नियममा कडाइ, ब्रेक्जिट अन्योल र दक्ष सेफ अभावले संकट बेहोरिरहेका रेस्टुरेन्ट व्यवसायीले अब राहत पाउने भएका छन् । बेलायत सरकारले सोमबार ‘टेक वे’ अफर 
गर्ने फाइन डाइन रेस्टुरेन्टले समेत अब टियर टु अन्तर्गत बाहिरी मुलुकबाट दक्ष सेफ झिकाउन पाउने नियम सार्वजनिक गरेपछि राहत मिल्ने भएको हो ।

बेलायतको वर्क परमिट सहज बनाइँदै, रेस्टुरेन्ट व्यवसायीलाई राहत मिल्ने

कठोर अध्यागमन नियमका कारण बाहिरबाट सेफ झिकाउन सम्भव नभएपछि ब्रिटेनको करी उद्योग (रेस्टुरेन्ट व्यवसाय) संकटबाट गुज्रिरहेका थिए ।


यसअघि सेफ जागिर ‘सर्टेज अकुपेशन’ लिस्टभित्र परे पनि टेकवे उपलब्ध गराउने रेस्टुरेन्ट सञ्चालकलाई तेस्रो मुलुकबाट सेफ झिकाउन रोक लगाइएको थियो । यस अतिरिक्त यूकेबाटै भिजा बढाउन आवेदन दिँदा पनि अस्वीकृत हुँदै आएको थियो ।


टियर टु (वर्क परमिट) भिजा र स्पोन्सरसीप लाइसेन्सको काम गर्दै आएको भिजा क्वेष्टका निर्देशक एवं कानुनी सल्लाहकार विष्णु खरेल सरकारको नयाँ नियमले रेस्टुरेन्ट व्यवसायीलाई राहत हुने बताउँछन् । तर, ३० हजार पाउन्ड वार्षिक तलब थ्रेसहोल्ड, अंग्रेजी परीक्षा उत्तीर्ण, ५ वर्ष काम गरेको अनुभव र कोटा सिस्टम भने कायमै रहेको जनाए । ‘टेक वे सर्भिस भएको रेस्टुरेन्टबाट भिजा थप्न पठाउँदा शतप्रतिशत रिफ्यूज हुने गरेको थियो’, विगत १० वर्षदेखि यही क्षेत्रमा संलग्न खरेलले भने, ‘यसको सिकार नेपाली कामदार र रेस्टुरेन्ट सञ्चालकहरु पनि भएका थिए ।’


बाहिरबाट सेफ झिकाउन सम्बन्धित रेस्टुरेन्टले ‘रेस्ट्रिक्टेड सर्टिफिकेट अफ स्पोन्सरसीप’ का लागि आवेदन दिनुपर्छ । होम अफिसले लाइसेन्ससहित निश्चित कोटा दिएपछि नेपाल वा अन्य मुलुकबाट सेफ झिकाउन सकिन्छ ।


बेलायतकी गृहमन्त्रीप्रिती पटेलले ब्रिटिस करी हाउसलाई जोगाउन नयाँ नियम ल्याइएको जनाएकी छन् । ब्रेक्जिटपछि आउने पोइन्ट्समा आधारित अध्यागमन प्रणाली अघि रेस्टुरेन्टहरुलाई उच्च दक्ष सेफ ल्याउन सहज हुने गरी नियम परिवर्तन गर्न लागिएको गृहमन्त्री पटेलले बताएको दि सन पत्रिकाले उल्लेख गरेको छ । बेलायत उत्कृष्ट खानाका लागि विश्वमै परिचित रहेको र नयाँ परिवर्तनले झन् साख बढ्ने उनले बताएकी छन् ।


दक्ष सेफ अभाव, बढ्दो भाडा र अन्य खर्चका कारण बेलायतमा साताको दुईवटा करी हाउस बन्द भइरहेको अनुसन्धानबाट पत्ता लागेको छ । रेस्टुरेन्ट व्यवसायीले मन्त्रीहरुलाई वर्षौंदेखि नियम खुकुलो बनाइदिन आग्रह गर्दै आएका थिए । सत्तारुढ कन्जरभेटिभ पार्टी सरकारमा आएपछि आप्रवासी नियन्त्रण गर्ने भन्दै अध्यागमन नियममा कडाइ गरिएको थियो ।


नेप्लिज क्याटरिङ एसोसिएसन यूके अध्यक्ष विजय थापा अध्यागमन नियम खुकुलो बनाइदिन आफूहरुले संस्थागत तथा व्यक्तिगत रुपमा धेरै अनुरोध गरेको स्मरण गरे । ‘ठूला कम्पनीले त सक्लान् तर फेमिली रन बिजनेसले वर्षको ३० हजार पाउन्ड तिरेर सेफ ल्याउन अझै पनि गाह्रो छ’, थापाले भने । कामदार अभाव र अन्य ‘कम्प्लायन्स’ का कारण कयौं नेपाली रेस्टुरेन्ट बन्द भइरहेको पनि उनले बताए । बेलायतमा नेपालीका करिब ३ सय रेस्टुरेन्ट रहेको अनुमान छ ।


एसियन क्याटरिङ फेडेरेसनको तथ्यांकमा करी उद्योगको बेलायतमा करिब १ लाख जनालाई रोजगारी र अर्थतन्त्रमा वार्षिक ४ दशमलव २ बिलियन पाउन्डभन्दा बढी योगदान छ । बेलायतमा ३५ हजार बढी इथ्नीक रेस्टुरेन्ट र टेक वे सञ्चालनमा रहेका फेडेरेसनको तथ्यांकमा छ ।


बेलायती विश्वविद्यालयबाट ग्रयाजुएट भएपछि अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म वर्क भिजा पाउने भएका छन् । सरकारले आगामी वर्षदेखि यस्तो नियम ल्याउन लागेको होम अफिसको अध्यागमनसम्बन्धी पछिल्लो श्वेत पत्रमा उल्लेख छ ।


तत्कालीन गृहमन्त्री टेरेजा मे आएलगत्तै सन् २०१२ मा हटाइएको पोस्ट स्टडी वर्क भिजा व्यवस्था पुनः ल्याउन लागिएको छ । अहिले ब्याचलर्स वा मास्टर्स गरेपछि ४ महिनामात्र काम गर्न पाइन्छ ।


प्रकाशित : भाद्र २५, २०७६ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?