कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

अलिबाबाका अध्यक्ष ज्याक माद्वारा राजीनामा

एपी

बेइजिङ — विश्वकै ठूलो ई–कमर्स कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्षबाट मंगलबार राजीनामा दिएका छन् । अमेरिका–चीन व्यापार युद्धका कारण व्यवसाय नै संकटमा परिरहेका बेला ज्याकको राजीनामा आएको हो ।

अलिबाबाका अध्यक्ष ज्याक माद्वारा राजीनामा

दुई दशकअघि चीनमा स्थापित अलिबाबा कम्पनीले ई–कमर्सका क्षेत्रमा विश्वव्यापी प्रभाव जमाएको छ । चीनकै सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका ज्याक माले आफ्नो ५५ औं जन्मदिनका अवसरमा समूहको अध्यक्ष पद छाडेका हुन् । यद्यपि, उनले गत वर्ष नै एक वर्षपछि अध्यक्ष पद त्याग्ने बताएका थिए । ज्याकले आफू अलिबाबा पार्टनरसिपको सदस्य भने कम्पनीमा रहिरहने जनाएका छन् । ३६ सदस्य रहने अलिबाबा पार्टरनसिपले कम्पनीका सञ्चालक सदस्य छान्ने अधिकार राख्छ ।


विगतमा अंग्रेजी शिक्षक रहेका ज्याकले सन् १९९९ मा अलिबाबा ई–कमर्स अनलाइन सेवा सुरु गरेका थिए । स्थापनाकालमा कम्पनीले चिनियाँ निर्यातकर्ता र अमेरिकी खुद्रा व्यापारीलाई जोड्ने पुलको रूपमा काम गर्दथ्यो ।

सुरुवाती दिनमा चीनको बढ्दो उपभोक्ता बजारलाई केन्द्रित गरी सञ्चालन भए पनि विस्तारै कम्पनीले अनलाइन बैंकिङ, मनोरञ्जन र कम्प्युटिङका क्षेत्रमा लगानी बढाएको थियो ।


गत जुनमा पहिलो त्रैमासिक विवरणमा कम्पनीको कूल राजस्व करिब १७ अर्ब डलर रहेको थियो । त्यसमध्ये ६६ प्रतिशत हिस्सा चिनियाँ व्यवसायीको रहेको कम्पनीले जनाएको छ । चिनियाँ खुद्रा बजारमा हाल अमेरिकी करवृद्धिले ठूलै असर पारेको छ । करवृद्धिका कारण अमेरिकी बजारमा चिनियाँ सामानको प्रवेश महँगो हुँदै गएको छ । अनलाइन बिक्रीमा पनि सन् २०१९ का ६ महिनामा करिब १८ प्रतिशतले कमी आएको छ । जसका कारण चीनको आर्थिक वृद्धिदरसमेत घटेको छ ।


सबै प्रतिकूलताका बाबजुद अलिबाबाले गतवर्षको तुलनामा कम्पनीको नाफा करिब ३ अर्ब डलरले बढेको जनाएको छ । तर यो वृद्धिको मुख्य कारण सन् २०१८ को राजस्व आम्दानीका कारण सिर्जना भएको जनाइएको छ ।


अलिबाबाको ई–कमर्स प्लेटफर्मबाट गत वर्ष ८५३ अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको थियो । जुन अमेरिकाको सर्वाधिक ठूलो ई–कमर्स कम्पनी अमेजनले गरेको कारोबारको झन्डै तीन गुणाभन्दा पनि बढी हो । अमेजनले २७७ अर्ब अमेरिकी डलरको कारोबार गरेको थियो ।


अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार अलिबाबाको अध्यक्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डानियल झाङलाई नियुक्त गरिने सम्भावना छ । यसअघि लेखापाल रहेका झाङ कम्पनीका प्रमुख योजनाकार समेत हुन् । उनले यसअघि कम्पनीकै अर्को सहायक टिमाल डटकमको बिजनेस एकाईको अध्यक्षका रूपमा काम गरेका थिए ।

प्रकाशित : भाद्र २४, २०७६ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?