३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ट्यांकर विवाद : इरानले सिरियालाई तेल बेच्यो

एजेन्सी

तेहरान/दुबई — इरानले अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद आफ्नो एक ट्यांकरले सिरियालाई तेल बेचेको जनाएको छ । तेल ट्यांकर ‘एड्रियन डार्‍या–१’ गत शुक्रबार सिरियाली तटीय क्षेत्रतर्फ गएको भूउपग्रह तस्बिरमा देखिएको थियो ।

त्यसपछिका विवरण भने अस्पष्ट छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ताले उक्त ट्यांकर भू–मध्यसागरको तटीय क्षेत्रमा पुगेपछि कार्गो सिरिया पठाइएको बताए ।


पछिल्लो कदमबारे प्रतिक्रिया जनाउँदै अमेरिकाले उक्त ट्यांकरको तेल खरिद गर्नेमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी तेलमाथिको प्रतिबन्ध नहटाइने बताएकाले हामीले दबाब जारी राख्छौं,’ अमेरिकी अर्थ मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोएटर्सले जनाएको छ ।


गत जुलाईमा बेलायतको सहयोगमा जिब्राल्टारमा नियन्त्रणमा लिएयता उक्त ट्यांकर अमेरिका–इरान कूटनीतिक तनावको केन्द्रमा छ । युरोपेली प्रतिबन्धको उल्लंघन गर्दै सिरिया पुर्‍याउन लागिएको आशंकामा ट्यांकलाई नियन्त्रणमा लिइएको थियो । तर पछि इरानले सिरिया नपठाउने विश्वास दिलाएपछि ट्यांकरलाई छाडिएको हो ।


गत अगस्टमा अमेरिकाल ट्यांकरलाई नियन्त्रणमा राखिराख्न आग्रह गरे पनि जिब्राल्टारका अदालतले अस्वीकार गरेको थियो । जहाज नियन्त्रणमा लिन बेलायती जलसेनाले सघाएपछि बेलायत र इरानको समेत सम्बन्ध बिग्रेको थियो । जसको प्रतिक्रियास्वरूप इरानले पनि बेलायती झण्डा अंकित एक ट्यांकर नियन्त्रणमा लिएको थियो ।


इरानी अधिकारीका अनुसार उक्त ट्यांकरलाई छाड्ने तयारी भइरहेको छ । विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसावीका अनुसार ‘स्टेना इम्पेरो’ नामक ट्यांकरलाई छाड्नका लागि अन्तिम कानुनी प्रक्रिया पूरा गरिंदैछ । इरानले समद्री जलक्षेत्रसम्बन्धी कानुन मिच्दै आफ्नो माछा मार्ने डुंगालाई ठक्कर दिएको भन्दै त्यसलाई नियन्त्रणमा लिइएको बताउँदै आएको थियो ।

प्रकाशित : भाद्र २४, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?