इरानद्वारा युरेनियम प्रवर्द्धन सुरु

एजेन्सी

तेहरान — इरानले उच्च स्तरमा प्रवर्द्धित (हाई–इनरिच्ड) युरेनियम प्रवर्द्धनका लागि प्रक्रिया सुरु गरेको जनाएको छ । पछिल्लो कदमसँगै इरानले सन् २०१५ मा अरू शक्तिशाली राष्ट्रसँग गरेको परमाणु कार्यक्रम सीमित राख्ने सम्झौताको औचित्यसमेत सकिएको घोषणा गरेको छ । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, चीन र रूस उक्त सम्झौताका पक्ष राष्ट्र हुन् ।

इरानी परमाणु निकाय प्रमुख बेहरूज कमलभन्दीका अनुसार त्यस्तो युरेनियम उत्पादनका लागि प्रयोग हुने तीव्र गतिको सेन्ट्रिफ्युज विकास सुरु भइसकेको जनाए । उच्च मात्राको युरेनियम परमाणु हतियार निर्माणका लागि प्रयोग गरिन्छ । उनका अनुसार इरानी कदम जवाफी रहेको र सम्झौताका पक्षराष्ट्रहरूको प्रक्रियाका आधारमा थप निर्णय गरिनेसमेत जनाएका छन् ।


सन् २०१५ को सम्झौताअनुसार इरानलाई ३ सय केजीसम्म लो–इनरिच्ड (निम्नस्तरमा प्रवर्द्धित) युरेनियम भण्डारणको अनुमति दिइएको थियो तर इरानले यसअघि नै उक्त प्रावधान उल्लंघन गर्दै युरेनियमको मात्रा बढाउन थालेको पश्चिमा देशको दाबी छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) ले एक आणविक भट्टीका लागि ऊर्जा उत्पादन गर्न भन्दै ४.५ प्रतिशत मात्राको युरेनियम प्रवर्द्धन थालेको दाबी गर्दै आएको थियो ।


विज्ञहरूका अनुसार इरानले क्रमशः २०५ शुद्धताको युरेनियम प्रशोधन गर्ने गरेको र त्यो बम बनाउने अग्रसरता भएको भनाइ छ । परमाणु ऊर्जा उत्पादन गर्न प्रयोग हुने निम्न स्तरमा प्रवर्द्धित युरेनियमको शुद्धता भने ३.५ प्रतिशत हुन्छ । परमाणु अस्त्र बनाउन प्रयोग हुने उच्चस्तरमा प्रवर्द्धित युरेनियममा भने यसको मात्रा कम्तीमा ९० प्रतिशत हुनुपर्छ । इरानले भने आफूले गैरसैनिक प्रयोजनका लागि मात्र परमाणु कार्यक्रम सञ्चालन गर्दै आएको बताउने गर्छ ।


यसअघि इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो देशको परमाणु अनुसन्धान र विकासलाई सीमित बनाउन पहिला गरिएका सबै सहमति भंग गर्ने घोषणा गरेका थिए । युरोपेली राष्ट्रहरूले इरानलाई आर्थिक लाभ हुन दिने आफ्नो वचन पालना नगरे थप कदम चाल्न इरान बाध्य हुने रौहानीले बताएका छन् । रौहानीले त्यस्तो कदम निकै अप्रिय हुने र त्यसको प्रभाव पनि विशाल हुने उनको चेतावनी छ ।


तर गत वर्ष अमेरिकाले उक्त सम्झौताबाट अलग भएको घोषणा गर्दै इरानमाथिका आर्थिक प्रतिबन्ध कडा पारेको थियो । त्यसको प्रतिक्रियास्वरूप गत जुलाईमा इरानले परमाणुसम्बन्धी दुइटा महत्त्वपूर्ण प्रतिबद्धता परित्याग गरेको थियो ।

प्रकाशित : भाद्र २३, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?