कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हङकङका प्रदर्शनकारीले ट्रम्प गुहारे

एजेन्सी

हङकङ — हङकङमा लोकतन्त्र पक्षधरहरूले आइतबार गरेको विरोध प्रदर्शनका क्रममा आफूहरूलाई सहयोग गर्न अमेरिकासँग आग्रह गरेका छन् । लोकतन्त्रको माग गर्दै प्रदर्शनकारीले हङकङमा चौध सातादेखि हरेक सप्ताहन्तमा प्रदर्शन गर्दै आएका छन् ।

हङकङका प्रदर्शनकारीले ट्रम्प गुहारे

अमेरिकी कन्सुलेट कार्यालय अगाडि आइतबार गरिएको प्रदर्शनका आन्दोलनकारीले ‘राष्ट्रपति ट्रम्प, हङकङलाई बचाऊ र हङकङलाई फेरि महान बनाऊँ’ लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका थिए । आन्दोलन सुरुमा शान्तिपूर्ण रहेपनि कन्सुलेट कार्यालय वरपरबाट फर्कने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि अ श्रुग्यांस तथा लाठी प्रहार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।


प्रदर्शनका सहभागीले अमेरिकी झण्डा फहराउँदै हङकङलाई चीनबाट ‘स्वतन्त्र’ बनाउन अमेरिकासँग आग्रह गरेका बीबीसीले जनाएको छ । सहभागीले प्रस्तावित ‘हङकङ मानव अधिकार र लोकतन्त्र ऐन’ पारित गर्न अमेरिकासँग समेत आग्रह गरेका छन् । कपितय सहभागीले अमेरिकाको राष्ट्रिय गानसमेत गाएका थिए ।


सरकारले ल्याएको विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा सुरू भएको प्रदर्शन हाल लोकतन्त्रका विभिन्न मुद्दामा केन्द्रित छ । हङकङ मामिला आफ्नो आन्तरिक मामिला बताउँदै आएको चीनले पटकपटक प्रदर्शनकारीलाई चेतावनी दिंदै आएको छ । सन् १९९७ मा स्वतन्त्र हुनुअघि बेलायतको उपनिवेश हङकङलाई चीनले आफ्नो ‘विशेष प्रशासकीय क्षेत्र’ बताउने गर्छ ।


हङकङको एक अदालतले गतसाता एक आदेश जारी गर्दै प्रदर्शनका लागि प्रतिबन्ध लगाएको भएपनि आन्दोनल मत्थर भएको छैन । चिनियाँ अधिकारीले हङकङ चीनको नियन्त्रण बाहिर जाने खतरा बढेको भन्दै कानुन स्थापित गर्न ढिला गर्नु नहुने बताएका छन् ।


पछिल्ला प्रदर्शनमा विवादास्पद विधेयक खारेज, कार्यकारी प्रमुख क्यारी लामको राजीनामा, प्रहरी दमनको स्वतन्त्र छानबिनलगायतका माग राखिंदै आएको छ । यसअघि प्रदर्शनकारीले आन्दोलनप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित गर्नु आवश्यक भएको भन्दै पछिल्लो समय विमानस्थलकेन्द्रित विरोध गरेका थिए ।


गतसाताको प्रदर्शनमा हजारौं विद्यार्थीले कक्षा बहिस्कार गरेका थिए । अपराध तथा बलात्कार आरोपीलाई मुख्यभूमि चीनमा सुपुर्दगी गर्ने प्रावधानसहितको विधेयक ल्याएपछि हङकङमा प्रदर्शन चर्केको हो । अपराध तथा बलात्कार आरोपीलाई मुख्यभूमि चीनमा सुपुर्दगी गर्ने प्रावधानसहितको विधेयक ल्याएपछि हङकङमा प्रदर्शन चर्केको हो । स्वतन्त्रताविरोधी चिनियाँ न्याय प्रणालीले हङकङका जनता पीडित हुने दाबी प्रदर्शनकारीको छ ।


विधेयकले हङकङको स्वतन्त्रतालाई अवमूल्यन गर्ने र राजनीतिक कार्यकर्ता निसानामा पर्ने भन्दै विशाल प्रदर्शनहरू गरिँदै आएको छ । सुपुर्दगीसम्बन्धी अन्तिम निर्णय घटनाको प्रकृतिमा भर पर्ने भएकाले विधेयकको विरोध गर्नु उचित नहुने तर सरकारी अधिकारीको भनाई छ ।


विधेयकको विरोधमा व्यापारी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक समूह तथा प्रजातन्त्र पक्षधर सडकमा उत्रेका छन् । हङकङका एक १९ वर्षीय युवाले ताइवानमा गर्भवती प्रेमिकाको हत्या गरी आफ्नो देश फर्केपछि सुपुर्दगी कानुनबारे चर्चा सुरु भएको हो ।

प्रकाशित : भाद्र २२, २०७६ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?