१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

मेक्सिको हुँदै अमेरिका छिर्ने आप्रवासी घटे

एएफपी

मेक्सिको सिटी — मेक्सिकोले आफ्नो देश भएर अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या घटेको जनाएको छ । मेक्सिकोले आप्रवासी नियन्त्रणका लागि अमेरिकासँग गरेको प्रतिबद्धताअनुसार उसले आप्रवासीको संख्या ५६ प्रतिशतले घटाउने सफल भएको समेत जनाएको छ ।

मेक्सिको हुँदै अमेरिका छिर्ने आप्रवासी घटे

मेक्सिको भएर ठूलो संख्यामा उत्तर अमेरिकी देशका आप्रवासी तथा शरणार्थी अमेरिका प्रवेश गर्दै आएका छन् ।


सन् २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएयता उनले आप्रवासीप्रति कडा नीति अख्तियार गर्दै आएका छन् । उनले अमेरिका प्रवेश गर्ने आप्रवासी नियन्त्रण नगरे मेक्सिकोविरुद्ध कर वृद्धि गर्ने चेतावनी दिएका थिए ।


राष्ट्रपति ट्रम्पले मेक्सिको सीमाक्षेत्रबाट अमेरिका प्रवेश गरेका गैरकानुनी आप्रवासीका कारण आफ्नो देशमा हत्या तथा अपराधका घटनामा वृद्धि भएको दाबी गर्दै सीमाक्षेत्रमा पर्खाल लगाउने बताउँदै आएका छन् । ट्रम्पले आफ्नो देश प्रवेश गर्ने आप्रवासीलाई नियन्त्रण नगरे मेक्सिकोबाट अमेरिका जाने सामानमा १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गरेका थिए ।


उक्त चेतावनीसँगै मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले अमेरिकी राष्ट्रपति ट्रम्पसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । त्यसलगत्तै दुवै देशका राष्ट्रपतिबीच मेक्सिकोबाट आयात गर्ने सामानमा तत्काल कर वृद्धि नगर्ने र बदलामा मेक्सिकोले अमेरिका छिर्ने नाकाहरूबाट कागजात नपुगेका आप्रवासी तथा शरणार्थीलाई फिर्ता गर्न सहमति भएको थियो ।


‘मेरो विचारमा अमेरिकाले मेक्सिकोविरूद्ध कर वृद्धि गर्ने सम्भावना तत्कालका लागि हटेकोजस्तो लाग्छ किनकि मेक्सिकोले प्रतिवद्धता जनाए अनुसार आप्रवासीको प्रवेश नियन्त्रणलाई ५६ प्रतिशतले घटाउन सफल भएको छ,’ मेक्सिकोका विदेशमन्त्री मार्सेलो एवरार्डले भने । अमेरिका र मेक्सिकोबीच आप्रबासी समस्याबारे छलफलका लागि विदेशमन्त्री मार्सेलो वासिङ्टन जाने तयारी गरिरहेका समय पछिल्लो तथ्यांक सार्वजनिक भएको हो ।

प्रकाशित : भाद्र २१, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?