१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सरकारी भत्ता लिन लागूपदार्थ परीक्षण

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले बेरोजगारलगायतका सरकारी सेवासुविधा दिनुअघि प्रत्येक व्यक्तिको लागूपदार्थ परीक्षण गर्ने भएको छ । यससम्बन्धी योजनालाई सरकारले संसद्बाट पारित गराएर परीक्षणका रूपमा लागू गर्ने तयारी गरेको हो । 

यस प्रक्रियाअन्तर्गत गाँजा, कोकिन, हेरोइनलगायत लागूपदार्थ सेवन गरे/नगरेको परीक्षण गरिने समाचारमा जनाइएको छ । परीक्षणमा सकारात्मक पाइएकालाई निश्चित समयपछि दोस्रोपटक परीक्षण गरिने छ । तर त्यसमा समेत नतिजा सकारात्मक भेटिए उपचारका लागि चिकित्सकहाँ पठाइने छ । अस्ट्रेलियाकी सामाजिक सुरक्षामन्त्री एन रस्टनले यो कार्यक्रमले मानिसलाई लागूपदार्थको सेवनका लागि निरुत्साहित गर्ने बताइन् ।


प्रधानमन्त्री स्कट मरिसनले योजनालाई समर्थन गर्न आहृवान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् यसको उद्देश्य सरकारी भत्ता लिन निरुत्साहित गर्ने र रोजगारका लागि प्रोत्साहन गर्ने रहेको दाबी गरे । मरिसनले जसरी सरकारी भत्ता लिने युवालाई लागूऔषध जाँच गरिन्छ, त्यस्तै जाँच सांसदहरूमा पनि गर्न आफू तयार रहेको बताए ।


तास्मानियाकी स्वतन्त्र सांसद ज्याकी ल्याम्बीले सांसदहरू पनि यस्तै जाँचका लागि तयार भए आफूले सरकारको योजना समर्थन गर्ने बताएपछि मरिसनले उक्त प्रतिक्रिया दिएका हुन् ।


अस्ट्रेलिया सरकारले बेरोजगारलगायतका अन्य विभिन्न शीर्षकमा सरकारी कोषबाट सहयोग रकम दिने गरेको छ । सरकारले न्यु स्टार्ट र युवा भत्ता पाउने व्यक्तिहरूको स्वास्थ्य अवस्थाका बारेमा अझ राम्रो जानकारी लिने उद्देश्यका साथ यो नयाँ योजना ल्याउन लागिएको बताएको छ । समाचारमाध्यमहरूका अनुसार यसअघि लागू गर्न खोजिएको यो योजना त्यति बेला विवादास्पद बनेको भए पनि स्कट मरिसन सरकारले फेरि ल्याउन लागेको हो ।


माथिल्लो सदन सिनेटबाट पारित भएपछि यो योजना अस्ट्रेलियाका विभिन्न ३ क्षेत्रमा नमुनाका रूपमा प्रयोगमा ल्याइने जनाइएको छ ।


पूर्वप्रधानमन्त्री माल्कम टर्नबुलले दुई पटकसम्म यो योजना ल्याएको भए पनि दुई पटकसम्म सिनेटमा असफल भएको थियो । दुईवर्षे योजनाअन्तर्गत ल्याउन लागिएको योजनामा करिब ५ हजार न्यु स्टार्ट र युवा भत्ता लिनेलाई समावेश गरिने सरकारको भनाइ छ । प्रस्तावित नयाँ नियमअन्तर्गत सरकारी भत्ता लिने लागूऔषध प्रयोगकर्तालाई आय व्यवस्थापन प्रणालीमा सहभागी गराइने बताइएको छ । कार्ययोजनाअनुसार सरकारले यसलाई क्विन्सल्यान्डको लोगन, न्यु साउथ वेल्सको क्यान्टबरी–ब्यांक्सटाउन र पश्चिम अस्ट्रेलियाको मन्डुरामा लागू गर्ने छ ।


विपक्षी दल लेबर तथा अर्को दल ग्रिनले भने योजनाप्रति असहमती जनाएका अस्ट्रेलियाली सञ्चारमाध्यमले जनाएका छन् । लेबरकी सामाजिक सुरक्षा छायामन्त्री लिन्डा बर्नीले यो कार्यक्रमले समाजका कमजोर मानिसलाई अझ पीडा थप्ने दाबी गरिन् । उनले लागूपदार्थ सेवन कुलत भएकाले यसलाई स्वास्थ्य समस्याका रूपमा उपचार गरिनुपर्ने भनेकी छन् । सरकारी योजनाको केही सामाजिक संस्थाले पनि विरोध गरेका छन् ।

प्रकाशित : भाद्र २१, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?