चिदम्बरम कारागार चलान

एजेन्सी

नयाँदिल्ली — आईएनएक्स मिडिया मुद्दामा भ्रष्टाचार आरोपित भारतीय राष्ट्रिय कंग्रेस नेता तथा पूर्वमन्त्री पी चिदम्बरमलाई कारागार चलान गरिएको छ । 

चिदम्बरमलाई सीबीआई अदालतले थप छानबिनका लागि समय दिन यही सेप्टेम्बर १९ सम्मका लागि कारागार चलानको आदेश दिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई दिल्लीस्थित तिहार जेल चलान गरिएको हो ।

मुद्दाको छानबिनका क्रममा चिदम्बरलाई यसअघि १५ दिन हिरासतमा राखिएको थियो । उनलाई गत अगस्ट २१ मा सीबीआईले पक्राउ गरेका थिए ।

चिदम्बरममाथि संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) सरकारमा अर्थमन्त्री भएका बेला अवैधानिक रूपमा वैदेशिक लगानी भित्र्याउन सघाएको आरोप छ । चिदम्बरम अर्थमन्त्री भएका बेला भारतको केन्द्रीय वैदेशिक लगानी बोर्डले सन् २००८ मा पिटर र इन्द्रानी मुकर्जियाको कम्पनी आईएनएक्स मिडियामा मोरिससका ३ कम्पनीबाट करिब ३ सय ५ करोड भारतीय रुपैयाँ वैदेशिक लगानीका लागि अनुमति दिएको थियो ।

राजस्व विभागले उक्त लगानी देशमा भित्रिँदा सम्पत्ति शुद्धीकरण गरेको र वैदेशिक लगानीसम्बन्धी कानुनहरूको उल्लंघन गरिएको तथ्य फेला पारेको जनाएको छ ।

प्रकाशित : भाद्र २०, २०७६ ०८:४३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नाट्यकृतिमा मध्यम वर्ग

कान्तिपुर संवाददाता

काठमाडौँ — केही महिनाअघि मात्रै रंगकर्मी घिमिरे युवराजले मध्यम वर्गीय सहरी बालबालिकाको मनोविज्ञान र समस्यामाथि नाटक ‘आँधीको मनोरम नृत्य’ मञ्चनमा ल्याएका थिए । शिल्पी थिएटरले प्रस्तुत गरेको नाटक उनैले लेखेका थिए ।

यही नाटक यति बेला पुस्तकको रूपमा आएको छ । पछिल्ला समय नेपाली साहित्यमा नाट्य कृतिको अभाव भइरहेको बेला घिमिरेले पुस्तक सार्वजनिक गरेका हुन् ।

बालबालिका र किशोरकिशोरीको मनोविज्ञानविपरीतको शैक्षिक प्रणाली र परिवारको व्यवहारले निम्त्याउने दुर्घटना र त्यसको असरलाई मूल विषय बनाइएको नाटकलाई युवा रंगकर्मीहरू आशान्त शर्मा, पशुपति राई, प्रवीण खतिवडा, प्रियंका झा, विपिन कार्की, सुषमा कोइराला, रवीन्द्र झा र राज शाहले लोकार्पण गरेका हुन् ।

सहरी क्षेत्रका बालबालिकाको मनोविज्ञान केलाउने क्रममा आफूले नाटक लेखेको घिमिरेले बताए । ‘मञ्चनका लागि नाटकको अभाव त छँदै थियो,’ युरोपबाट रंगमञ्च पढेर आएका उनले भने, ‘त्यहीमाथि नाटक लेखनतिरको मेरो झुकावको कारण पनि यो कृति जन्मियो । यस हिसाबले यो पुस्तक मेरै चेतना र ज्ञानको थर्मोमिटर हो ।’

पुस्तकमाथि टिप्पणी गर्दै डा. शिव रिजालले पुँजीवादी बजार हाबी हुँदै गइरहेको मध्यम वर्गको मनोदशा उतार्न नाटक सफल रहेको दाबी गरे । ‘मध्यम वर्गीय बालबालिकाहरूले भोग्नुपर्ने पीडा र सामाजिक–पारिवारिक परिवेशको लोभलाग्दो चित्रण नाटकमा पाइन्छ,’ उनले भने । रिजालले नाटकका पुस्तक लेख्ने, छाप्ने र प्रवर्द्धन गर्ने संस्कृति आवश्यक रहेको बताउँदै घिमिरे युवराजले उक्त कार्यमा सहयोग गर्दै आएको बताए ।

शिल्पी थिएटरका संस्थापकसमेत समेत घिमिरेले नै साहित्यकार कुमार नगरकोटीलाई नाटक लेखनतिर ल्याएका थिए । घिमिरेकै आग्रहमा नगरेकोटीले ‘कोमा : अ पोलिटिकल सेक्स’ लेखेका थिए, यही नाटक मञ्चनमार्फत शिल्पी थिएटरले गोठाले नाटकघर उद्घाटन गरेको थियो । पुस्तक लोकार्पणकै क्रममा ‘आँधीको मनोरम नृत्य’ को एक अंशलाई संगीता उरावले प्रस्तुत गरेकी थिइन् ।

प्रकाशित : भाद्र २०, २०७६ ०८:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×