१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चीन-अमेरिका व्यापारिक वार्ता अक्टोबरमा  

लक्ष्मी लम्साल

बेइजिङ — चीन-अमेरिका व्यापारिक संघर्ष चर्किरहेका बेला १३औं चरणको वार्ता आगामी अक्टोबरको सुरुतिर अमेरिकाको वासिंगटनमा हुने भएको छ। गत जुलाईको अन्त्यतिर चीनको संघाईमा भएको १२औं चरणको वार्ता विफल भएपछि यी दुवै मुलुकले एकअर्का विरुद्ध भन्सार थपको घोषणा गरेर व्यापारिक द्वन्दलाई चर्काउँदै लगेका छन्।

चीन-अमेरिका व्यापारिक वार्ता अक्टोबरमा  

वार्ताको टुंगो लगाउनेबारे चिनियाँ वार्ताकार लिउ ह र अमेरिकी व्यापार प्रतिनिधिबीच बिहीबार बिहान टेलिफोन वार्ता भएको छ। अक्टुबरको पहिलो सातातिर वार्ता आयोजना गर्ने सहमति भएपनि मिति भने निश्चित गरिएको छैन ।


अमेरिकी पक्षको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनीतिक ब्युरोका सदस्य, चीनका उपप्रधानमन्त्री लिउ हले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर र अर्थमन्त्री स्टेभेन नुचिनबीच टेलिफोन वार्ता भएको हो।


चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार तेह्रौं चरणको आर्थिक व्यापारिक उच्चस्तरीय वार्ताका लागि दुवै पक्षले सहमति जनाएका छन् । वार्ताको वातावरण बनाउन आपसी सम्पर्क कायम राख्ने र दुवै पक्षले व्यावहारिक कदम चाल्दै जाने सहमति जनाएका छन् ।


जापानको ओसाकामा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्तापछि व्यापारिक युद्धविराम भएको थियो। तर संघाई वार्ता बिना निष्कर्ष टुंगिएसँगै अमेरिकाले चीनबाट आयात हुने सामग्रीमा भन्सार कर थपेर पुनः व्यापारिक संघर्षलाई निरन्तरता दिएको थियो। चीनले पनि सोही बमोजिम भन्सार कर थपेपछि स्थिति जटिल बन्दै गएको हो।


यसअघि गत सेप्टेम्बरको १ तारिखमा अमेरिकी भन्सार करका विरुद्ध चीनले विश्व व्यापार संगठनमा उजुरी हालेको छ। चीनले विश्व व्यापार संगठनको विवाद निरूपण प्रणालीका आधारमा अमेरिकाविरुद्ध उजुरी हालेको दाबी0 गरेको छ।


यस टेलिफोन वार्ताका क्रममा चिनियाँ वाणिज्यमन्त्री चोङ शान, जनबैंकका गभर्नर यी काङ, राष्ट्रिय विकास तथा सुधार समितिका उपप्रमुख निङ ची च पनि सहभागी थिए।

प्रकाशित : भाद्र १९, २०७६ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?