२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

‘नेपालमाथिको नाकाबन्दी मोदी सरकारको आत्मघाती गोल’

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय लेखक तथा राजनीतिक विश्लेषक मनोज जोशीले ‘सन् २०१५ मा भारतले नेपालमाथि लगाएको नाकाबन्दी नरेन्द्र मोदी सरकारको आत्मघाती गोल भएको’ बताएका छन् । भारतीय अंग्रेजी दैनिक ‘द ट्रिब्युन’ मा मंगलबार एक लेख लेख्दै उनले त्यस्तो टिप्पणी गरेका हुन् ।

‘नेपालमाथिको नाकाबन्दी मोदी सरकारको आत्मघाती गोल’

‘सन् २०१५ मा नेपालमाथि लगाइएको नाकाबन्दी सरकारका केही विनाशकारी र खराब आत्मघाती कदममध्येको एक हो,’ उनले लेखेका छन् ।


चार वर्षअघि संविधान निर्माण प्रक्रियामा आफ्नो सुझाव नमानेको भन्दै मधेस केन्द्रित दलले संविधानको विरोधमा गरेको आन्दोलनको समर्थन गर्दै भारतले नेपालमाथि ‘अघोषित नाकाबन्दी’ गरेको थियो । भारतीय निर्णयको नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आलोचना भएको थियो । उक्त निर्णयका कारण नेपालमा भारतविरोधी भावना चर्किएको विश्लेषकहरूको भनाइ छ ।


जोशी दिल्लीस्थित थिंक टयांक अब्जर्भर रिचर्स फाउन्डेसन (ओआरआफ) का वरिष्ठ फेलो एवं लेखक तथा टिप्पणीकार हुन् । नेपाल र पूर्वोत्तर भारतको मामिलाका जानकार जोशीले नाकाबन्दीको सुरुदेखि नै आलोचना गर्दै आएका छन् । भारतले भने औपचारिक रूपमा नाकाबन्दी नलगाएको बरु मधेस केन्द्रित दलले गरेको सीमा अवरोधका कारण नाकाबन्दीको परिस्थिति निर्माण भएको दाबी गर्दै आएको छ ।


लेखबारे कान्तिपुरको जिज्ञासामा जोशीले नाकाबन्दीकै निर्णयका कारण नेपाली जनमत भारतविरोधी बनेको दाबी गरे । उनले एक सार्वभौम मुलुक नेपालमा एक विदेश सचिवलाई विशेष दूतका रूपमा पठाएर अन्तिम समयमा संविधानबारे निर्देशन दिनु मोदी सरकारको गलत निर्णय भएको उनको भनाइ छ । ‘दिल्लीले कसरी त्यस्तो निर्देशन दिन मिल्छ । त्यो पनि अन्तिम समयमा । त्यही गल्तीले नेपाली जनमत भारतको विपक्षमा उभिएको हो । त्यसको मूल्य दिल्लीले चुकाउनुपरेको छ,’ जोशीले कान्तिपुरसँग भने ।


त्यसैगरी उनले पछिल्लो समय प्राय: सबैजसो क्षेत्रमा व्याप्त हुँदै गएको अक्षमता तथा अज्ञानताहरु भारत कमजोर र अस्थिर बन्ने संकेतका रूपमा रहेको दाबी गरेका छन् । त्यसका लागि मोदी नेतृत्वको केन्द्र सरकारले विगत केही वर्ष यता लिएका नीति र चालेका कदमहरु जिम्मेवार रहेको जोशीको ठहर छ ।


त्यसको संकेतका रूपमा विहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रालाई अन्तिम सलामी दिँदा प्रहरीको बन्दुक नपड्किनु, जवाहरलाल नेहरु विश्वविद्यालयकी वरिष्ठ प्राध्यापक रोमिला थापरसँग विश्वविद्यालय प्रशासनले बायोडाटा माग्नु, एम्सका वरिष्ठ चिकित्सकलाई एउटा एसएमएसका आधारमा केन्द्रीय अनुसन्धान विभागले सोधपुछ गर्नुलगायतका विभिन्न घटनालाई उल्लेख गरेका छन् ।


दुई साताअघि निधन भएका विहारका पूर्वमुख्यमन्त्री मिश्राको अन्तिम संस्कारका बेला अन्तिम सलामी दिने कार्यक्रममा त्यहाँ रहेका प्रहरीहरुको कुनै पनि बन्दुक पड्किएन । उक्त घटनाका कारण नीतिश कुमार नेतृत्वको विहार सरकार र केन्द्र सरकारको चर्को आलोचना भएको थियो । त्यसैगरी थापरजस्तो वरिष्ठ प्राध्यापकसँग बायोडाटा माग्ने विश्वविद्यालय प्रशासनको निर्णयलाई लिएर पनि मोदी सरकारको चर्को आलोचना गरिएको छ ।


यसबाहेक मोदी सरकारले चालेका केही आत्मघाती कदमहरु थप खराब र विनाशकारी रहेको उनको टिप्पणी छ । जसमा नेपालमाथि नाकाबन्दी, जीएसटी, नोटबन्दी, कठोर एनआरसी प्रक्रिया, जम्मु–कश्मीरलाई विभाजन गर्ने लगायतका मोदी सरकारका निर्णयलाई आत्मघाती कदमको रूपमा उल्लेख गरेका हुन् । यस्ता निर्णयले मोदी र अमित शाहलाई चुनाव कसरी जित्ने सूत्र थाहा भए पनि भारतजस्तो विशाल र विविधताले भरिएको मुलुक सञ्चालन गर्ने उनीहरुको क्षमतामा प्रश्न उठेको उनले लेखेको छन् ।


त्यसैगरी, उनले नाराभन्दा पनि मुलुकको आर्थिक र सामाजिक रूपान्तरणलाई प्राथमिकता राख्नुपर्ने सुझावसमेत दिएका छन् । मोदी सरकारले ल्याएका स्वच्छ भारत, प्लास्टिकमुक्त भारत, स्टार्ट अप इन्डियाजस्ता नारा दोह्राउँदैमा मुलुकले राखेको लक्ष्य हासिल नहुनेसमेत दाबी गरेका छन् ।

प्रकाशित : भाद्र १७, २०७६ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?