कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अमेरिकाले ५४ सय सेना फिर्ता गर्ने

एजेन्सी

काबुल/दोहा — लामो समयदेखि जारी वार्तामा अमेरिका र तालिवान लडाकु समूहबीच सहमति भएको छ । बीबीसीका अनुसार अमेरिकाले अफगानिस्तानमा सक्रिय तालिवानसँग भएको एक सैद्धान्तिक सहमतिअनुसार २० साताभित्र ५ हजार ४ सय सेना फिर्ता गर्ने भएको छ ।

अमेरिकाले ५४ सय सेना फिर्ता गर्ने

अमेरिकाका तर्फबाट तालिवानसँगको वार्ताको नेतृत्व गरेका जाल्मे खलिलजादले एक टेलिभिजन अन्तरवार्ताका क्रममा बहुप्रतीक्षित सहमति पहिलोपटक सार्वजनिक गरेका हुन् । अफगान नेताहरूलाई जानकारी गराए लगत्तै खलिलजादले टेलिभिजनमार्फत् सहमतिको विस्तृत विवरण सार्वजनिक गरेका हुन् ।


खलिलजादका अनुसार उक्त सहमतिलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमोदन गर्नुपर्ने छ । देशको सुरक्षा बजेट कटौतीका पक्षमा रहेका राष्ट्रपति ट्रम्पले पटकपटक अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिनुपर्ने बताउँदै आएका छन् ।


अमेरिका र तालिवान वार्ताका रणनीतिकार खलिलजादले टोलो न्युजसँगको अन्तरवार्तामा भनेका छन्, ‘कतारको राजधानी दोहामा भएका ९ चरणका शान्ति वार्तापछि निष्कर्षमा पुगिएको हो ।’ सैनिक फिर्ताको बदलामा तालिवानले अमेरिका र उसका साझेदारविरुद्ध आक्रमण गर्नेहरूका लागि अफगानिस्तानलाई अखडा बन्न नदिने सुनिश्चित गरेको जनाइएको छ ।


खलिलजादले भनेका छन्, ‘यदि सहमतिको अक्षरश: पालना गरिए हामी ५ अखडाबाट १ दिनभित्र फिर्ता हुने छौं ।’ अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सैनिक छन् ।


तालिवान समूहका प्रवक्ताले ‘एक लिखित संवादमा खलिलजादले सार्वजनिक गरेका विवरण सत्य भएको’ पुष्टि गरेका बीबीसीले उल्लेख गरेको छ । अफगान राष्ट्रपति असरफ घानीका प्रवक्ताले ‘राष्ट्रपतिले सहमतिप्रति धारणा व्यक्त गर्नुअघि त्यसको अध्ययन गर्ने’ बताइसकेका छन् । उनले ‘तालिवान शान्तिप्रति प्रतिबद्ध रहेको कुराको थप प्रमाण आवश्यक’ भएको बताए ।


टेलिभिजनले खलिलजादको अन्तरवार्ता प्रसारण गरेलगत्तै अफगानिस्तानको राजधानी काबुलमा एक ठूलो विस्फोट भएको बीबीसीले जनाएको छ । कम्तीमा १९ जनाको ज्यान जाने गरी भएको आक्रमणको जिम्मा तालिवान समूहले लिएको छ ।


विस्फोट विदेशीहरू बस्दै आएको भवन परिसरमा गराइएको विस्फोटमा १ सय १९ घाइते छन् । तालिवानले विदेशी सैनिकलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । तालिवानले उक्त भवनमा सशस्त्र लडाकुहरू रहेको दाबी गर्दै आक्रमण गरेको जनाएको हो । तालिवानको पछिल्लो आक्रमणपछि अमेरिकी वार्ताहरूबाट अफगानिस्तानमा बढेका हिंसात्मक घटनाको अन्त्य नहुने र सर्वसाधारण पीडित हुने क्रम नरोकिने अनुमान गरिएको छ ।

अफगान तालिवान र अमेरिकाबीच भएको सहमति पहिलो हो । सहमतिलाई दुई पक्ष अफगानिस्तानमा युद्ध अन्त्यका लागि इमानदार रहेको आंकलन कतिपयको छ । काबुलस्थित ‘अफगान इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिज’ का अनुसन्धाता इजाज मलिकजादाले ‘परिवर्तनको झिनो आशा देखिएको’ बताए ।


तालिवानले अमेरिकाको कठपुतली बताउँदै अफगान सरकारसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । अमेरिकाले सन् २००१ मा अफगानिस्तानमा तालिवान केन्द्रित आक्रमण सुरु गरेको थियो । त्यसयता सबैभन्दा ठूलो भूभागमाथि तालिवानको नियन्त्रण छ ।

हाल अफगानिस्तानको करिब ७० प्रतिशत भू–भागमा तालिवान क्रियाशील छन् । सन् २००१ को अमेरिकी हस्तक्षेपछि अफगानिस्तानमा गठबन्धन राष्ट्रका करिब ३ हजार ५ सय सुरक्षाकर्मीको ज्यान गइसकेको छ । त्यसमध्ये २ हजार ३ सयभन्दा बढी अमेरिकी छन् ।


सन् २०१९ को फेब्रुअरीमा सार्वजनिक एक प्रतिवेदनअनुसार युद्धका कारण ३२ हजार सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । ब्राउन विश्वविद्यालयस्थित वाट्सन इन्स्टिच्युटका अनुसार ५८ हजार सुरक्षाकर्मी तथा ४२ विद्रोही युद्धका क्रममा मारिइसकेका छन् ।

प्रकाशित : भाद्र १७, २०७६ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?