कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

एउटा शरणार्थी परिवार जोगाउन सयौँको प्रदर्शन

नारायण खड्का

अस्ट्रेलिया — एक श्रीलंकन शरणार्थी परिवारलाई आफ्नो देश फिर्ता पठाउने अस्ट्रेलिया सरकारको निर्णयविरुद्ध सयौँले प्रदर्शन गरेका छन् । ७ वर्षअघि डुंगाबाट अस्ट्रेलिया आएका श्रीलंकास्थित तमिल परिवारलाई अस्ट्रेलियाले केही दिनदेखि उनीहरुकै देश फिर्ता पठाउने प्रयास गरिरहेको छ । तर उनीहरुलाई अस्ट्रेलियामै बस्न दिइनुपर्ने माग गर्दै अस्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन गरिएको छ ।

एउटा शरणार्थी परिवार जोगाउन सयौँको प्रदर्शन

अस्ट्रेलिया आएपछि ब्रिसबनको दुर्गम क्षेत्र बाइलोइयामा बसोबास गर्दै आएका उनीहरुले अस्ट्रेलियामा स्थायी रुपमा बस्न पाउनका लागि दिएको निवेदन खारेज भएपछि फिर्ता पठाउने प्रक्रिया थालिएको हो ।


गत शुक्रबार उनीहरुलाई फिर्ता पठाउन लागिएको भएपनि अदालतले तत्काल उक्त प्रक्रिया रोक्न आदेश दिउपछि डार्बिनमा राखिएको थियो । तर उनीहरुलाई डार्बिनबाट शरणार्थीलाई राख्ने स्थान क्रिसमस आइल्याण्डमा पुर्‍याइएपछि विरोध प्रदर्शन थप चर्केको छ । उक्त परिवारलाई अस्ट्रेलियामा नै बस्न दिनुपर्ने माग गर्दै मेलबर्न, एडिलेडलगायत मुख्य शहरमा प्रदर्शन जारी छ ।


सञ्चारमाध्यमका अनुसार उनीहरुलाई आफ्नो देशमा असुरक्षा महसुस गर्दै नादेशालिंगम र उनकी श्रीमती प्रिया सन् २०१२ र १३ मा अलगअलग डुंगामार्फत् अस्ट्रेलिया आएका थिए । अस्ट्रेलिया आएपछि उनीहरुको २ र ४ वर्षका २ सन्तानसमेत जन्मिइसकेका छन् । उनीहरुले अस्ट्रेलियामा बस्न पाउनुपर्ने माग गर्दै गरेको प्राय सबै दाबीहरु असफल भएपछि सरकारले फिर्ता पठाउने प्रक्रिया सुरु गरेको थियो । तर उनीहरुलाई फिर्ता पठाउन नहुने भन्दै उनीहरुको समर्थनमा विभिन्न पहलहरु भइरहेको छ ।


अस्ट्रेलिया सरकारले भने उनीहरुको मुद्दा लामो समयदेखि व्यापक रुपमा मुल्यांकन गरिएको जनाउँदै उनीहरु अस्ट्रेलियाको सुरक्षा दायित्वभित्र नपर्ने बताएको छ । गृहमन्त्री पिटर डट्टनले उनीहरुलाई आफूहरु शरणार्थी नभएको स्वीकार गर्न आग्रहसमेत गरेका छन् । विपक्षी दल लेबर नेता एन्थोनी अल्बानिजले प्रधानमन्त्री स्कट मरिसनलाई तमिल परिवारलाई फिर्ता नपठाउन आग्रहसमेत गरेका छन् । उनले प्रधानमन्त्री मरिसनलाई यस मामिलामा अध्यागमन मन्त्रीले हस्तक्षेप गरेर समस्याको सही निकास दिन आग्रह गर्दै मानवता नगुमाईकनै दह्रो सीमा राख्न सकिने बताएका छन् ।


यसैगरि तेस्रो ठूलो दल ग्रिनका नेता रिचार्ड डि नटालीले पनि मेलबर्नमा गरिएको प्रदर्शनमा सहभागि हुँदै तमिल परिवारको पक्षमा आवाज उठाएका थिए । उनले यो क्रुर र असभ्य भएको दाबी गर्दै यसलाई अन्त्य गर्न आग्रह गरेका छन् । अस्ट्रेलियामा रहेका शरणार्थीहरुलाई उनीहरुको अवस्था हेरेर यहाँको सरकारले शरणार्थी मान्यता दिने वा नदिने विषयमा निर्णय गर्ने गरेको छ । सोही प्रक्रियाअनुसार नै उनीहरु पनि शरणार्थी नभएको र उनीहरु आफ्नो देश फर्किएको खण्डमा कुनै असुरक्षा नरहेको सरकारले बताउँदै आएको छ ।


तरपनि उनीहरुबाट दुई बच्चा यहीं जन्मिएका र उनीहरुलाई आफ्नो देशमा असुरक्षा हुनसक्ने भन्दै सो परिवारलाई यहीं रहन दिनुपर्ने आवाज उठाइएको छ । क्रिसमस आइल्याण्ड पुर्याएपछि प्रियाले प्रधानमन्त्री स्कट मरिसनलाई आफूहरुलाई अस्ट्रेलियामा नै बस्न दिन आग्रह गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित : भाद्र १५, २०७६ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?