टर्कीमा सैनिक बर्खास्तको क्रम अझै रोकिएन

सिन्ह्वा

अंकारा — टर्कीमा सन् २०१६ जुलाई १५ मा भएको असफल सैनिक ‘कू’ पछि अहिलेसम्म पनि सैनिकलाई बर्खास्त गर्ने क्रममा रोकिएको छैन् । हालै सार्वजनिक भएको एक तथ्यांकअनुसार हालसम्म १७ हजार सैनिकलाई बर्खास्त गरिसकिएको छ ।

टर्कीमा सैनिक बर्खास्तको क्रम अझै रोकिएन

टर्कीको सेनाले गत शुक्रबार दिएको जानकारी अनुसार गएको तीन वर्षयता सेनाका १७ हजार ४९८ जनालाई सेवाबाटै बर्खास्त गरिएको हो । राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ उनी विदामा रहेका बेला कूको प्रयास भएको थियो । जुन प्रयास असफल भयो । ‘कू’ को प्रयास घन्टौं लामो लडाइपछि राष्ट्रपति रेसेप एर्डोगान समर्थित सेनाले असफल गराएको थियो ।


कूको प्रयासमा सहयोग गरेको आरोपमा सैन्य क्षेत्रका वरिष्ठ अधिकारी, पत्रकार, न्याय क्षेत्रका वरिष्ठ अधिकारी, उच्च स्तरीय व्यापारीलगायत हजारौँको संख्यामा टर्कीका नागरिक पक्राउ परेका थिए ।


राष्ट्रपति एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल ‘कु’ प्रयासपछि सरकारले प्रहरी, सेना, शिक्षक, टर्की एयरलाइन्सका कर्मचारीसमेतलाई गरी करिब ५० हजारलाई जागिरबाट बर्खास्त नै गरिएको थियो ।


सन् २०१६ को त्यो ठूलो विद्रोहमा करिब २५० जना मारिएका थिए भने गोलीकाण्डमा परी दुई हजारभन्दा बढी व्यक्ति घाइते भएका थिए । टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतंककारी संगठन (एफईटिओ)को संलग्नता रहेका आरोप लगाएको छ । अमेरिकामा स्वघोषित निर्वासनमा रहेका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो । टर्कीको राजधानी इस्तानबुलमा अवस्थित एक अदालतले गुलेनलाई पक्राउ आदेश दिएको थियो ।


सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा सलग्न रहेको बताइरहँदा गुलेन र उनी सम्बद्ध धार्मिक संगठनले भने असफल ‘कू’ प्रयासमा आफूको कुनै संलग्नता नरहेको जनाउँदै आएका छन् । गुलेन र उनका समर्थकले आफू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन् ।

प्रकाशित : भाद्र १४, २०७६ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?