३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चीनले आधा दर्जन ‘फ्री ट्रेड पाइलट जोन’ खोल्ने

बेइजिङ — चीनले दक्षिण एसियासहित छिमेकी मुलुकसँगको वाणिज्य आदानप्रदान बढाउन स्वतन्त्र व्यापार परीक्षण क्षेत्रको स्थापनालाई तीव्रता दिने भएको छ । 

चीनले आधा दर्जन ‘फ्री ट्रेड पाइलट जोन’ खोल्ने

चीनको राज्य परिषद्ले थप ६ नयाँ स्वतन्त्र व्यापार पाइलट जोनको स्थापना गरेर खुलापनतर्फ उन्मुख भएको पुष्टि गर्न लागेको हो । प्रस्तावअनुसार चीनका सानतोङ, च्याङ्सु, क्वाङ्सी, हपै, युनान र हैलुङच्याङ प्रान्तमा यस्तो पाइलट जोन स्थापना गरिने छ ।


युनान प्रान्तसँग भियतनाम, लाओस र म्यान्मारसँग सीमा जोडिएका छन् । यस प्रान्तमा खुल्ने फ्री ट्रेड जोनको लक्ष्य दक्षिण एसिया र दक्षिणपूर्वी एसियासँगको सहकार्यलाई बलियो पार्नु रहेको चीनका उप वाणिज्यमन्त्री एवं अन्तर्राष्ट्रिय व्यापार वार्ताका लागि उपप्रतिनिधि वाङ सौवनले बताए । छिमेकी मुलुकहरूसँगको आर्थिक तथा व्यापारिक सहयोग गहन गर्नका लागि यसले ठूलो सहायता गर्ने बताउँदै मंगलबार बेइजिङमा उनले भने, ‘भौतिक स्थितिअनुसार छिमेकी देशहरूसँगको वाणिज्य सम्बन्ध थप विस्तार गरिने छ ।’


क्वाङसी स्वतन्त्र व्यापार परीक्षण क्षेत्रले सीमावर्ती व्यापार र श्रमिक सहयोगको विकासलाई अगाडि बढाउने छ भने उत्तर–पूर्वी हैलुङच्याङ प्रान्तले छिमेकी रसियासँग सहयोग विस्तार गर्ने छ । हपै प्रान्तमा हुने परीक्षण क्षेत्रले जैविक चिकित्सा तथा स्वास्थ्य उद्योगकको खुलापन तथा सुधारमा टेवा पुर्‍याउने छ । क्वाङ्सी, हैलुङच्याङसहित युनान प्रान्तमा फ्री ट्रेड जोन खोल्नुको चीनमा सीमामा रहेका देशहरूलाई चीन प्रवेशका लागि ढोका खोल्नु रहेको चिनियाँ वाणिज्य अधिकारीहरूले बताए ।


चीनले आगामी जनवरीमा पहिलोपटक वैदेशिक व्यापार लगानी कानुन कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । सोही कानुन कार्यान्वयनको एउटा चरणको रूपमा स्वतन्त्र व्यापार क्षेत्रको स्थापनालाई लिइएको छ । चीनले सन् २०१३ मा पहिलो पटक व्यापारिक सहर साङ्हाईमा स्वतन्त्र व्यापार पाइलट जोनको थालनी गरे यता हालसम्म १२ वटा यस्ता क्षेत्र स्थापना भइसकेका छन् । ती केन्द्रहरू अधिकांश तटीय प्रान्त, प्रशासनिक सहर र स्वायत्त प्रदेशमा फैलिएका छन् ।


गतवर्ष सन् २०१८ मा सुधार तथा खुलापनको ४०औं वार्षिकोत्सवपश्चात् चीनले सुधार तथा खुलापनमा नयाँ कदम चाल्ने प्रयास गरिरहेको छ ।

प्रकाशित : भाद्र १४, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?