२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

ताइवानलाई हतियार नबेच्न अमेरिकालाई चीनको चेतावनी

लक्ष्मी लम्साल

बेइजिङ — ताइवानलाई हतियार बेच्ने व्यवसायमाथि नाकाबन्दी लगाउनेसम्मको चेतावनीका बाबजुद अमेरिकाले अटेर गरिरहेका बेला चीनको रक्षा मन्त्रालयले पनि आफ्नो योजना तुरून्त फिर्ता लिन पुनः आग्रह गरेको छ।

ताइवानलाई हतियार नबेच्न अमेरिकालाई चीनको चेतावनी

बिहीबार बेइजिङमा पत्रकार सम्मेलन गरी चीनको रक्षा मन्त्रालयका प्रवक्ता रन क्वोछ्याङले यस्तो आग्रह दोहोर्याएका हुन्। उनले अमेरिकालाई भने, ‘ताइवानसँगको हतियार बिक्री योजना तुरून्त फिर्ता लिन र ताइवानसँगको सैन्य सम्बन्ध तत्काल रोक्न अमेरिकालाई अनुरोध गर्दछौं।’


यसअघि ८ बिलियन अमेरिकी डलर बराबरका लडाकु जहाज र यन्त्र बेच्ने निर्णय अमेरिकी सिनेटले पारित गरेपछि चीनको परराष्ट्र मन्त्रालयले पनि बारम्बार निर्णय फिर्ता लिन अपील गरेको थियो।


अमेरिकाले मध्यमदूरी आणविक बल सन्धिबाट हट्ने निर्णय गरेर अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा र स्थिरतामा खलल पारेको भन्दै चीनले दक्षिण चीन सागरका समुद्री तथा हवाई क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरेर उत्तेजना फैलाउन खोजेको आरोप पनि लगाएको छ। प्रवक्ता रनले भने, चीनले यसअघि पनि ताइवानलाई हतियार बेच्ने कम्पनीमाथि दुई पटक प्रतिवन्ध लगाइसकेको छ। चीनलाई विभाजित गर्ने कुनै पनि प्रयास सफल हुनेछैन।’


चीनले ताइवानलाई एक देश दुई व्यवस्था अनुरूप आफ्नो अभिन्न भूभाग मान्दै आएको छ। चेतावनीको शैलीमा रनले दोहोर्याए, चिनियाँ सेनाको इच्छाशक्तिलाई कम आँक्नु खतरनाक हुनेछ।’

प्रकाशित : भाद्र १३, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?