२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चीनले आधा दर्जन ‘फ्री ट्रेड पाइलट जोन’ खोल्ने    

लक्ष्मी लम्साल

बेइजिङ — दक्षिण एसियासहित छिमेकी मुलुकहरूसँगको वाणिज्य आदानप्रदानलाई बढाउने उद्देश्यले चीनले स्वतन्त्र व्यापार परीक्षण क्षेत्रको स्थापनालाई तीव्रता दिने भएको छ।

चीनले आधा दर्जन ‘फ्री ट्रेड पाइलट जोन’ खोल्ने    

चीनको राज्य परिषद्ले थप ६ वटा नयाँ स्वतन्त्र व्यापार पाइलट जोनको स्थापना गरेर खुलापनतर्फ उन्मुख भएको पुष्टि गर्न लागेको जनाएको छ। प्रस्ताव बमोजिम चीनका शानतोङ, च्याङ्सु, क्वाङ्सी, हपै, युनान र हैलुङच्याङ प्रान्तमा यस्तो पाइलट जोन स्थापना गरिनेछ।


युनान प्रान्तसँग भियतनाम, लाओस र म्यानमारसँग सीमा जोडिएका छन्। यस प्रान्तमा खुल्ने फ्री ट्रेड जोनको लक्ष्य दक्षिण एसिया र दक्षिणपूर्वी एसियासँगको सहकार्यलाई बलियो पार्नु रहेको चीनका उपवाणिज्यमन्त्री एवं अन्तर्राष्ट्रिय व्यापार वार्तका लागि उपप्रतिनिधि वाङ शौवनले बताए। छिमेकी मुलुकहरूसँगको आर्थिक तथा व्यापारिक सहयोग गहन गर्नका लागि यसले ठूलो सहायता गर्ने बताउँदै मंगलबार बेइजिङमा उनले भने, ‘भौतिक स्थिति अनुसार छिमेकी देशहरूसँगको वाणिज्य सम्बन्ध थप विस्तार गरिनेछ।’


क्वाङसी स्वतन्त्र व्यापार परीक्षण क्षेत्रले सीमावर्ती व्यापार र श्रमिक सहयोगको विकासलाई अगाडि बढाउनेछ भने उत्तरपूर्वी हैलुङच्याङ प्रान्तले छिमेकी रसियासँग सहयोग विस्तार गर्नेछ। हपै प्रान्तमा हुने परीक्षण क्षेत्रले जैविक चिकित्सा तथा स्वास्थ्य उद्योगकको खुलापन तथा सुधारमा टेवा पुर्याउनेछ। क्वाङ्सी, हैलुङच्याङ सहित युनान प्रान्तमा फ्री ट्रेड जोन खोल्नुको चीनमा सीमामा रहेका देशहरूलाई चीन प्रवेशका लागि ढोका खोल्नु रहेको चिनियाँ वाणिज्य अधिकारीहरूले बताए।


चीनले आगामी जनवरीमा पहिलोपटक वैदेशिक व्यापार लगानी कानुन कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। सोही कानुन कार्यान्वयनको एउटा चरणको रूपमा स्वतन्त्र व्यापार क्षेत्रको स्थापनालाई लिइएको छ। चीनले सन् २०१३ मा पहिलो पटक व्यापारिक सहर शाङ्हाईमा स्वतन्त्र व्यापार पाइलट जोनको थालनी गरे यता हालसम्म १२ वटा यस्ता क्षेत्र स्थापना भैसकेका छन्। यिनीहरू अधिकांश समुद्र तटीय प्रान्त, केन्द्र प्रशासनिक सहर र स्वायत्त प्रदेशमा फैलिएका छन्।


गत वर्ष सन् २०१८ मा सुधार तथा खुलापनको चालीसौं वार्षिकोत्सवपश्चात् चीनले सुधार तथा खुलापनमा नयाँ कदम चाल्ने प्रयास गरिरहेको छ।

प्रकाशित : भाद्र १२, २०७६ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?