२२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो

एएफपी

लिमा — दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २ सय २७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो।राजधानी लिमाभन्दा उत्तरतर्फको तटीय सहर हुआनचाकोमा गरिएको उत्खननका क्रममा यो सामूहिक चिहान भेटिएको हो ।

पुरातत्वविदहरुले यो स्थानमा गत वर्षदेखि उत्खननको काम सुरु गरेका थिए । हुआनचाकोमा प्रागऐतिहासिक कालका अनौठा चालचलनका भग्नावशेष पाइन्छन् ।

यो स्थानमा बालबालिकाको बली दिने पुरानो चलन रहेको किंवदन्तीमा पढ्न पाइन्छ । “यो ठाउँमा बली चढाइएका बालबालिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक चिहान भेटिएको हो,” प्रमुख पुरातत्वविद फारेन क्यास्टिल्लोले बताए ।

क्यास्टिल्लोले चारदेखि १४ वर्ष उमेरका यी बालबालिकालाई चिमु संस्कृतिका देवता खुसी पार्न बली चढाइएको बताए । उनले अझै पनि यस्ता चिहान भेटिन सक्ने बताए । “यो हृदयविदारक छ, बालबालिकामाथि यतिसम्मको अन्याय । जहाँ खन्यो, त्यहाँ बच्चाका अवशेष पाइन्छ,” क्यास्टिल्लोले भने ।

यी बच्चाका शरीर सबैजसो समुद्रतर्फ फर्किएको अवस्थामा भेटिएका छन् । कतिपयको त अझै पनि छाला र कपाल भेटिएको छ । हुआनचाकोमा चिमु सांस्कृतिक कालमा धेरै बालबालिकालाई बली चढाइएको थियो । यो कालखण्ड सन् १२०० देखि १४०० रहेको थियो ।

पुरातत्वविदहरुले पहिलो बच्चाको अवशेष पाम्पा ला क्रुज सहरमा सन् २०१८ मा भेटेका थिए । पाम्पा ला क्रुज हुआनचाकिटोबाट नजिकमा पर्दछ । हुआनचाकिटोमा पनि अप्रिल २०१८ मा बली चढाइएका १४० जना बालबालिकाको अवशेष फेला परेको थियो । चिमु सभ्यता पेरुको तटीय इलाकादेखि इक्वेडरसम्म फैलिएको थियो, तर इन्काहरुले परास्त गरेपछि चिमु सभ्यता सन् १४७५ मा पतन भएको थियो ।

प्रकाशित : भाद्र ११, २०७६ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्

संविधान दिवसको बिदा व्यक्तिगत काम गर्नका लागि होइन : मन्त्री बाँस्कोटा

रासस

काठमाडौँ — नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन सरकारले बिदा दिएको बताएका छन् । उनले सो दिनको बिदामा सबै सचेत नागरिकले घरघरमा राष्ट्रिय झण्डा फहराउनुपर्ने बताए ।

'सरकारले राष्ट्रिय दिवस मनाउनका लागि बिदा दिएको हो,' उनले भने, 'व्यक्तिगत मोजमजा गर्नका लागि होइन ।'

सञ्चारमन्त्री बाँस्कोटाको अध्यक्षतामा गठित उपसमितिले संविधानबारे विशेष सामग्री प्रकाशन, प्रसारण गर्न सबै सञ्चारमाध्यमलाई आग्रह पनि गरेको छ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाइन्छ ।

सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका समेत परिवर्तन गरेको छ । दिवसको मूल समारोह समितिअन्तर्गत गठित प्रचारप्रसार उपसमितिको आजको बैठकमा सो अवसरमा राष्ट्रिय झण्डा र राष्ट्रियतालाई केन्द्रमा राखी संविधानको महत्व झल्काइने जानकारी दिइएको हो ।

झण्डा प्लास्टिकको बनाउन नपाइने र कपडा वा कागजको झण्डा हुनुपर्ने निर्देशिकामा उल्लेख छ । झण्डालाई सम्मानपूर्वक प्रयोग गरी टिसर्टका रुपमा पनि लगाउन पाइने प्रबन्ध गरिएको छ ।

मन्त्री बाँस्कोटाले २०६२/०६३ मा जन्मेका नयाँ पुस्ताले पनि संविधानबारे बोध गर्ने गरी आकर्षक प्रचारप्रसार हुनुपर्ने भएकाले यसका लागि नवीन सुझाव ग्रहण गरिने बताए । 'संविधान त्यतिकै आएको होइन, अब संविधान संशोधन भए पनि अर्को राष्ट्रिय दिवस हुँदैन । जो जो जतिसुकै उफ्रेपनि गणतन्त्र फालिँदैन,' सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने, 'कतिपय अवस्थामा अराजकता पनि देखिन्छ, अधिकारको उन्माद तर कर्तव्यको शून्यता देखिन्छ । यस्तो अवस्था अन्त्यका लागि युवापुस्तालाई पनि समेट्ने कार्यक्रम गरौँ । हरेक प्रगतिभित्र इतिहासको जीवन्तताको विरासत भने चाहिन्छ ।'

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले दिवसलाई व्यापक र जनस्तरमा लैजान यही भदौ ४ गते सम्पन्न मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री एवं मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनानुसार सबै नेपालीले हाम्रो दिवस हो भन्ने भावना विकासका लागि उपसमितिको महत्वपूर्ण भूमिका हुने बताए ।

उपसमितिले असोज २ गते नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष परिसंवाद र प्रचारप्रसार गर्ने, राष्ट्रियस्तरका पत्रपत्रिकामा संविधान विशेषाङ्क प्रकाशन गरी संविधानको बहुआयामिक पक्षलाई उजागार गर्ने, सबै सञ्चार माध्यमबाट संविधानको महत्व प्रसारण गर्ने, असोज ३ गतेको मूल कार्यक्रम नेपाल टेलिभिजन, रेडियो नेपाललगायत राष्ट्रिय प्रसारणका साथ प्रत्यक्ष प्रसारण गर्ने, रेडियो नेपालले असोज ४ गते जागरण गीत सम्मेलन गर्ने, ‘मास एसएमएस’ गर्ने, सिनेमा हलमा सिनेमा प्रारम्भ हुनुअघि राष्ट्रिय गान बजाउने आदि कार्यबारे जिम्मेवारी बाँडफाँट गरेको छ ।

दिवसलाई औपचारिक नबनाई जनजनमा संविधानबारे चेतना फैलाउनुपर्ने, प्रचार सामग्री तयार गर्ने, संविधानसँगका जल्दोबल्दो विषय पहिचान गर्नुपर्ने, व्यवसायीले सामानहरुमा विशेष छुट दिने, निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, विद्यालय तहमा संविधानबारे प्रचार गर्ने आदि सुझाव बैठकमा दिइएको छ ।

दिवसको मूल नारा ‘संविधान तथा राष्ट्रिय दिवस हर्षोल्लासपूर्वक मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने तय भएको छ । उक्त नारा मोबाइलमा एसएमएस सन्देशमार्फत सबैलाई दिवसका अवसरमा पठाइनेछ । सन्देशमा झण्डाको रङ र आकारका बारेमा पनि जानकारी दिइनेछ ।

प्रकाशित : भाद्र ११, २०७६ १५:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्