कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

अमेजन डढेलो : ब्राजिलद्वारा सहयोग अस्वीकार 

एजेन्सीहरू

ब्रासिलिया — ब्राजिलले अमेजन वनक्षेत्रमा फैलिएको डढेलो नियन्त्रणका लागि सात ठूला औद्योगिक राष्ट्रहरूको समूहको सहयोग अस्वीकार गरेको छ । 

अमेजन डढेलो : ब्राजिलद्वारा सहयोग अस्वीकार 

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले सोमबार जी–७ राष्ट्रले अमेजनको डढेलो नियन्त्रणका लागि ब्राजिललाई ‘प्राविधिक र आर्थिक सहयोग’ गर्ने निर्णय भएको जनाएका थिए । उनका अनुसार जी–७ राष्ट्रहरू ब्राजिललाई तत्काल २ करोड २० लाख डलर सहयोग गर्न सहमत भएका हुन् ।


तर ब्राजिलका मन्त्रीहरूले मंगलबार ‘जी–७ को रकम आवश्यक नभएको बताउँदै विदेशी शक्तिले अमेजनमाथि नियन्त्रण कायम गर्न खोजेको’ आरोप लगाएका छन् । ब्राजिली राष्ट्रपतिका चिफ अफ स्टाफले भनेका छन्, ‘धन्यवाद, तर सम्भवतः उक्त स्रोत युरोपमा वृक्षरोपण गर्न खर्चिनु सान्दर्भिक हुन्छ ।’


ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले यसअघि ‘आफ्नो देशका सार्वभौमिकताको सम्मान’ हुनुपर्ने बताउँदै सहयोग गर्ने निर्णयको आलोचना गरेका थिए । अमेजन वनक्षेत्रमा फैलिएको डढेलो नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोमाथि दबाब दिएलगत्तै जी–७ नेताहरूले सहयोगको निर्णय गरेका थिए ।


सम्मेलनका क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘एक करोड पाउन्ड उपलब्ध गराउने’ प्रतिबद्धता जनाएका थिए । उनले डढेलो नियन्त्रणका लागि प्राविधिक स्रोतसाधन र आर्थिक सहयोग उपलब्ध गराउनेबारे युरोपका अन्य देशहरूसँग समन्वय गरिरहेको समेत बताएका थिए ।


ब्राजिलको ‘नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्च’ ले ब्राजिलमा यसैवर्षमात्र डढेलोका घटनामा ८२ प्रतिशतले वृद्धि भएको बताएको छ । यद्यपि, बोल्सोनारोले उक्त दाबी अस्वीकार गर्दै बाहिर सार्वजनिक भएजस्तो भयावह स्थिति नभएको बताउने गरेका छन् ।

‘विश्वको फोक्सो’ रूपमा परिचित ‘अमेजनको डढेलो नियन्त्रण गर्न ब्राजिलले कुनै प्रयास नगरेको’ भन्दै आलोचना भएपछि बोल्सोनारोले सेना परिचालनको निर्णय गरेका थिए । बीबीसीका अनुसार उक्त क्षेत्रमा हाल ४४ हजार सेना खटाइएको छ ।

विश्वकै ठूलो ‘रेन फरेस्ट’ अमेजनमा संग्रहित हुने कार्बनले विश्वमा हुने तापमान वृद्धि घटाउँछ । अमेजनमा ३० लाख प्रजातिका वनस्पति तथा वन्यजन्तु छन् । विश्वको २० प्रतिशत अक्सिजन अमेजनले उत्पादन गर्छ ।


बोल्सोनारोले देशका संरक्षित प्राकृतिक क्षेत्र, आदिवासी बसोबास गर्ने भू–भाग र सीमावर्ती क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा लिन सेनालाई आदेश दिएका हुन् ।


ब्राजिलले अमेजनमा फैलिएको डढेलो निभाउने प्रयास नगरे फ्रान्स र आयरल्याण्डले दक्षिण अमेरिकी देशहरूसँगको व्यापार सम्झौता नवीकरण नगर्ने चेतावनी दिएपछि बोल्सोनारो सेना परिचालनका लागि बाध्य भएका हुन् ।


वन क्षेत्रमा ढडेलो फैलिनुमा किसान तथा गोठालाहरूलाई मुख्य जिम्मेवार ठानिएको छ । वन मासेर खेतीयोग्य जमिन बताउनका लागि उनीहरूले जानाजान लगाएका हुन सक्ने आशंकासमेत गरिएको छ । विभिन्न वातावरण सम्वद्ध संस्थाहरूले अमेजन क्षेत्रलाई कृषि र खानीको लागि प्रयोग गर्न दिने बोल्सोनारूको नीतिका कारण पछिल्लो संकट उत्पन्न भएको बताउने गरेका छन् ।

प्रकाशित : भाद्र ११, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?