१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अन्तरिक्षमा ह्युमनोइड रोबोट 

‘ढिला भएकोमा माफी चाहन्छु । ट्राफिकमा फसें । म काम सुरू गर्न तयार छु ।’
एएफपी

मस्को — रूसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा स्थापना गरेको छ । ‘फेदोर’ रोबोट मंगलबार आईएसएसमा स्थापित गरिएको अमेरिकी अन्तरिक्ष केन्द्र नासाले पनि पुष्टि गरेको छ ।

अन्तरिक्षमा ह्युमनोइड रोबोट 

रूसको यो अभियान गतसाता असफल भएको थियो । मानव शरीर बराबरको फेदो मानिसझैं हिँडडुल गर्न तथा सामान ओसारपसार गर्न सक्छ ।


‘ढिला भएकोमा माफी चाहन्छु । ट्राफिकमा फसें । म काम सुरु गर्न तयार छु,’ रसिक शैलीमा गरिएको रोबोटको टीटरमा लेखिएको छ । रूसी सञ्चारमाध्यमका अनुसार अन्तरिक्ष वैज्ञानिकहरूको काम सघाउने फेदोर अन्तरिक्षमा सेप्टेबर ७ सम्म रहने छ ।


रोबोट फेदोरले गत बिहीबार अन्तरक्षि सोयुज यानमा रहेको कमान्डरको सिटमा बसेर अन्तरिक्ष केन्द्रका लागि उडेको हो । ‘अब जाऔं । अब जाऔं,’ प्रक्षेपणको समयमा फेदोरले पहिलो अन्तरिक्ष यात्री युरी गाग्रिन शैलीमा भनेको थियो । यान दक्षिणी कजाकस्तानबाट प्रक्षेपण गरिएको थियो ।


नासाका एक टिप्पणीकर्ताले भने, ‘सम्पर्क स्थापित भएको छ, रोबोट अन्तरिक्ष केन्द्रमा जोडिएको छ । रूसी अन्तरिक्ष केन्द्र रोसकोसमोसले पनि मानवविहीन सोयुज एमएस–१४ यानको सहयोगमा उक्त रोबोट अन्तरिक्षमा पुर्‍याइएको जनाएको छ ।


अन्तरिक्ष अभियानको प्रत्यक्ष प्रसारण गरेको नासा टीभीका टिप्पणीकर्ताले अन्तरिक्ष केन्द्रमा अब ७ जना पुगेका बताए । यसअघि ६ वैज्ञानिक अन्तरिक्ष केन्द्रमा थिए । यसअघि सोयुज यानले मानिसलाई अन्तरिक्षमा पुर्‍याउने गरेको भए पनि यसपटक रोबोट लिएर गएको हो । यानमा ६७० किलोग्राम सुक्खा सामान पठाइएको छ । जसमा औषधि, उपकरण, खाना, र व्यक्तिगत सरसफाइका सामान छन् ।


अन्तरिक्ष यान प्रक्षेपण कार्यक्रम प्रमुख दिमित्री रोगोजिनले इन्टरफ्याक्स समाचार संस्थासँग कुरा गर्दै अर्को चरणको फेदोर ‘निर्माणाधीन रूसी कार्गो पानीजहाज वा अन्तरिक्षबाहिर गरिने अनुसन्धान कार्य परीक्षणमा’ प्रयोग गरिन सक्ने सम्भावना व्यक्त गरे ।

फेदोर अन्तरिक्षमा पठाइएको पहिलो रोबोट भने होइन । सन् २०११ मा नासाले जेनेरल मोटर्सको सहयोगमा बनाइएको ‘रोबोनट–२’ नामक रोबोट पठाएको थियो । उच्च जोखिमयुक्त स्थानमा काम गर्न प्रयोग गरिएको रोबोटमा प्राविधिक समस्या देखिएपछि सन् २०१८ मा पृथ्वीमा फर्काइएको थियो ।


सन् २०१३ मा जापानले पनि अन्तरिक्षयात्रीसँगै ‘किरोबो’ नामको सानो रोबोट पठाएको थियो । टोयोटाले बनाएको रोबोटले जापानी भाषामा संवाद संग्रहित गर्दथ्यो । सन् १९९८ देखि पृथ्वीको कक्षमा राखिएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले प्रतिघण्टा २८ हजार किलोमिटरको गतिमा पृथ्वीलाई घुम्ने गर्दछ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र अमेरिका, रूस, जापान, क्यानडा तथा ११ युरोपेली देश (बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्डस, नर्वे, स्पेन, स्विडेन, स्विटजरल्यान्ड र बेलायत) को संयुक्त परियोजना हो ।

प्रकाशित : भाद्र ११, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?