१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अमेरिकामा नेपालीका हत्या अभियुक्तलाई ६० वर्ष जेल

न्युयोर्क — नेपाली आप्रवासीको हत्याका एक अभियुक्तलाई अमेरिकामा ६० वर्षको जेल सजाय तोकिएको छ । चालीस वर्षीय रेशम बजगाईको हत्या गरिएको अभियोगमा भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टी सर्किट कोर्टले सोमबार अभियुक्त २० बर्षीय मोहम्मद ए अबदुल्लाहलाई ६० वर्षको जेल सजाय र पच्चीस हजार डलर जरिवानाको फैसला सुनाएको छ । 

अमेरिकामा नेपालीका हत्या अभियुक्तलाई ६० वर्ष जेल

गोरखाको केराबारी पुर्ख्यौली घर भएका बजगाईलाई सन् २०१८ को जुलाई ४ मा ग्यास स्टेसनमा काम गरिरहेको बेला लुटेराको आक्रमणमा मृत्यु भएको थियो । भर्जिनियाको हर्नडन शहरको फ्रयाङकलिन फर्ममा अवस्थित ‘सुनाको ग्यास’ स्टेसनमा, अमेरिकी स्वतन्त्रताकै दिन बिहानै बजगाई माथि आक्रमण भएको थियो ।

बजगाई, श्रीमती र पाँच वर्षीया छोरीसहित अमेरिका आएको नौं महिनामै उक्त घटना भएको थियो । प्रहरीले घटना लगत्तै संदिग्ध अब्दुल्लाहलाई नजिकैको गाडी पार्किङ लटबाट पक्राउ गरेको थियो ।


जेलजसाय ताेकिएका २० बर्षीय मोहम्मद ए अबदुल्लाह ।

केही साता देखिको लामो सुनुवाईपछि जुरीहरुको सिफारिसमा न्यायाधीशले सोमबार फैसला सुनाएका थिए । मृतकको पक्षका वकिलले हत्याका अभियुक्तलाई जन्मकैदको माग गर्दै बहस गरेका थिए भने अभियुक्त पक्षधर वकिलको भने २० वर्षको जेल सजायको मागसहितको बहस थियो ।

पहिलो बहसमा अभियुक्तलाई २० वर्षको सजाय तोकिए पनि अन्तिम बहसमा घटनाको भिडियो रेकर्डपछि, सजाय ६० वर्षका पुर्‍याइएको हो । ‘फस्ट मर्डर’ अर्न्तगत सो सजाय किटानी भएको हो ।

पछिल्लो समयमा अमेरिकामा नेपाली आप्रवासीहरुको संख्या बढ्दै गएको पृष्ठभूमिमा, लुटेरा एवं अपराधीको निशानामा नेपालीहरुले ज्यान गुमाउँदै आएका छन् ।

प्रकाशित : भाद्र १०, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?