कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जी–७ सम्मेलन : अमेजनको डढेलो निभाउन सघाउने

एजेन्सीहरू

पेरिस — सात ठूला औद्योगिक राष्ट्रहरूको समूह जी–७ सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय नेताहरू अमेजन वनक्षेत्रमा लागेका डढेलो नियन्त्रण प्रयास गर्न सहयोग गर्ने भएका छन् ।

जी–७ सम्मेलन : अमेजनको डढेलो निभाउन सघाउने

जी–७ सम्मेलनमा बोल्दै फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले डढेलो नियन्त्रणका लागि ‘प्राविधिक र आर्थिक सहयोग’ गर्ने निर्णय भएको जनाएका हुन् । उनका अनुसार जी–७ समूहले तत्कालका लागि २ करोड २० लाख डलर सहयोग गर्ने सहमति भएको हो । यद्यपि, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले ‘आफ्नो देशका सार्वभौमिकताको सम्मान’ हुनुपर्ने बताएका छन् ।


सम्मेलन फ्रान्सको तटीय सहर बियारिजमा शनिबार सुरु सम्मेलन सोमबार सकिएको हो । समूहमा क्यानडा, जर्मनी, अमेरिका, बेलायत, इटाली, जापान र फ्रान्स सदस्य छन् । डढेलो अमेजन वनक्षेत्रमा फैलिएको डढेलो नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोमाथि दबाब दिएलगत्तै जी–७ नेताहरूले सहयोग गर्ने सहमति गरेका हुन् ।


सम्मेलनमा सहभागी बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘अमेजनको जंगल जोगाउन एक करोड पाउन्ड उपलब्ध गराउने’ प्रतिबद्धता व्यक्त गरेका छन् । ‘प्राविधिक स्रोतसाधन र आर्थिक सहयोग उपलब्ध गराउनका लागि हाम्रो टोलीले अमेजन क्षेत्रका देशहरूसँग समन्वय गरिरहेको छ,’ जोन्सनले भने ।


यसअघि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले अमेजन क्षेत्रको डढेलोको समस्या ‘मानिसले चर्चा गरेजस्तो भयावह नरहेको’ दाबी गरेका थिए । अमेजन वनक्षेत्रमा फैलिएको डढेलोबारे विश्वव्यापी रूपमा चासो व्यक्त गरिएपछि बोल्सोनारोले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेजस्तो भयावह अवस्था नरहेको दाबी गरेका हुन् । ‘हाम्रा एकाइहरूले अमेजन वनक्षेत्रमा फैलिएको डढेलो नियन्त्रण गर्न काम सुरु गरिसकेका छन्,’ पत्रकारसँगको कुराकानीमा उनले भने ।


उनले गतवर्षका तुलनामा ब्राजिलमा यस वर्ष डढेलोका घटनामा कमी आएको बताए । यद्यपि ब्राजिलको नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्चले ब्राजिलमा जनवरीदेखि अगस्टबीच डढेलोका घटना ८२ प्रतिशतले वृद्धि भएको दाबी गरेको छ ।


खटाइयो सेना

अमेजन वनक्षेत्रमा लागेका आगो निभाउन प्रयास नगरेको अन्तर्राष्ट्रिय आलोचनापछि ब्राजिलका राष्ट्रपति बोल्सोनारोले सशस्त्र सुरक्षा परिचान गरेका थिए । हाल उक्त क्षेत्रमा ४४ हजार सुरक्षाकर्मी खटाइएको बीबीसीले जनाएको छ । बोल्सोनारूले देशका संरक्षित प्राकृतिक क्षेत्र, आदिवासी बसोबास गर्ने भूभाग र सीमावर्ती क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा लिन सेना खटाउन आदेश दिएका हुन् ।


युरोपेली नेताहरूले ब्राजिलमाथि तीव्र दबाब दिएपछि अमेजन क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणको पहल गर्न बोल्सोनारू बाध्य भएका जनाइएको छ । उनले जंगलमा फैलिएको डढेलोलाई कारण बनाई अन्य देशविरुद्ध दबाब सिर्जना गर्नु उचित नहुने बताए ।


यसअघि फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों तथा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेजनमा फैलिएको डढेलो ‘अन्तर्राष्ट्रिय संकट’ भएकाले सबै मिलेर नियन्त्रण गर्नुपर्ने बताएका थिए । उनले उक्त विषय ठूला अर्थतन्त्रहरूको समूह ‘जी–७’ सम्मेलनमा प्राथमिकता साथ छलफल गरिनुपर्ने बताएपछि बोल्सोनारू आक्रामक भएका हुन् । जर्मन चान्सलर एंगेला मर्केलले अमेजनको डढेलो ‘गम्भीर आपताल’ भएको बताइन् ।


ब्राजिलले अमेजनमा फैलिएको डढेलो निभाउने प्रयास नगरे फ्रान्स र आयरल्यान्डले दक्षिण अमेरिकी देशहरूसँगको व्यापार सम्झौता नवीकरण नगर्ने चेतावनी दिएपछि बोल्सोनारूपछि हटेका हुन् ।


वनक्षेत्रमा ढडेलो फैलिनुमा किसान तथा गोठालाहरूलाई मुख्य जिम्मेवार ठानिएको छ । वन मासेर खेतीयोग्य जमिन बताउनका लागि उनीहरूले जानाजान लगाएका हुन सक्ने आशंकासमेत गरिएको छ । विभिन्न वातावरण सम्बद्ध संस्थाहरूले अमेजन क्षेत्रलाई कृषि र खानीका लागि प्रयोग गर्न दिने बोल्सोनारूको नीतिका कारण पछिल्लो संकट उत्पन्न भएको बताउने गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डढेलो हाल २ हजार ५ सयभन्दा बढी स्थानमा सक्रिय छ । विश्वकै ठूलो ‘रेन फरेस्ट’ अमेजनमा संग्रहित हुने कार्बनले विश्वमा हुने तापमान वृद्धि सुस्त बनाइदिन्छ । अमेजनमा ३० लाख प्रजातिका वनस्पति तथा वन्यजन्तु छन् । विश्वको २० प्रतिशत अक्सिजन अमेजनले उत्पादन गर्ने भएकाले यसलाई ‘विश्वको फोक्सो’ पनि भनिन्छ । यहाँ करिब १० लाख आदिवासी बसोबास गर्दछन् ।

प्रकाशित : भाद्र १०, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?