१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

चीन–अस्ट्रेलिया सम्बन्ध बिग्रँदै

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाले न्यु साउथ वेल्स राज्यका विभिन्न सरकारी विद्यालयमा चीनद्वारा सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ । न्यु साउथ वेल्स सरकारले चिनियाँ सरकारको आर्थिक सहयोगमा सञ्चालित शैक्षिक कार्यक्रम बन्द गर्ने निर्णय गरेसँगै चीनको विदेश मन्त्रालयले यो निर्णय अनुचित र अनादरपूर्ण भएको जनाएको छ । 

चीन–अस्ट्रेलिया सम्बन्ध बिग्रँदै

न्यु साउथ वेल्स सरकारले यस राज्यमा रहेका १३ सरकारी विद्यालयमा सञ्चालन भइरहेको उक्त शैक्षिक तथा सांस्कृतिक कार्यक्रम राजनीतिक प्रभाव बढेको भन्दै बन्द गरेको थियो । चीनको कन्फुसियस इन्स्टिच्युटद्वारा सञ्चालन गरिएको कार्यक्रम न्यु साउथ वेल्सको १३ सरकारी विद्यालयमा सञ्चालन भइरहेको थियो ।


यो कार्यक्रम विशेष गरेर सिड्नी र मध्य उत्तर क्षेत्रमा रहेक विद्यालयहरूमा सञ्चालनमा रहेका थिए । न्यु साउथ वेल्स सरकारले चीनको सम्भाव्य प्रचारको आशंकामा यस कार्यक्रमको समीक्षाका लागि आदेश दिएको थियो । समीक्षाको नतिजामा कुनै राजनीतिक प्रभावको असर नभएको नतिजासहितको रिपोर्ट बुझाइएको भए पनि संस्थाले अनुचित विदेशी प्रभाव पार्न सक्ने बताएको थियो ।


यहाँका स्थानीय सञ्चारमाध्यमका अनुसार विश्वमा न्यु साउथ वेल्स सरकारले मात्र आफ्ना विद्यालयहरूमा यो कार्यक्रम सञ्चालन गरिरहेको छ । चीनका विदेश मन्त्रालयका प्रवक्ता गेङ सुङले न्यु साउथ वेल्स सरकारले गरेको यो निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनले यो कार्य अनुचित हुनुका साथै अनादरपूर्ण भएको समेत टिप्पणी गरेका छन् ।


उनले यो निर्णय चीन सरकारसँग सरसल्लाह नगरी गरिएको समेत बताएका छन् । ‘यो न आदरपूर्ण छ न यो स्थानीय विद्यार्थीहरूप्रति जायज नै छ,’ उनले भने, ‘यो चीन र अस्ट्रेलियाबीचको सांस्कृतिक आदान प्रदानको संस्कृतिलाई ध्यान दिएर गरिएको छैन ।’ उनले अस्ट्रेलियाको न्यु साउथ वेल्स सरकारलाई सामान्य एकआपसको द्विदेशीय सम्बन्धका कार्यक्रमहरूलाई राजनीतीकरण नगर्न समेत आग्रह गरेका छन् ।


यहाँका विद्यालयहरूमा सञ्चालित यस कार्यक्रममार्फत चीनको कम्युनिस्ट पार्टीको धारणाहरू यहाँका कक्षाकोठामार्फत फैलाउन खोजिएको आलोचकहरूले आरोप लगाएका छन् । यहाँका दर्जन बढी विद्यालयमा सञ्चालित यस कार्यक्रम बेइजिङमा रहेको कन्फुसियस इन्स्टिच्युटले चलाइरहेको सञ्चारमाध्यहरूले जनाएका छन् ।


न्यु साउथ वेल्सको शैक्षिक विभागले विज्ञप्तिमार्फत अहिले सञ्चालन भइरहेको कार्यक्रम हटाइएको जनाउँदै यसको बदलामा अन्य चाइनिज भाषा कार्यक्रमहरू सञ्चालन गरिने जनाएको छ ।

समाचारहरूका अनुसार चीनले यस कार्यक्रमका लागि अस्ट्रेलियाली २ लाख २० हजार डलर र प्रत्येक विद्यालयका लागि १० हजार डलर कक्षाकोठाका लागि वितरण गरेको थियो ।


यसका साथै यस कार्यक्रममार्फत शैक्षिक सामग्रीका चिनियाँ सरकारद्वारा स्वीकृत गरिएका एक शिक्षकलाई तलबसमेत दिने गरेको थियो । न्यु साउथ वेल्स सरकारले स्थापना गरेको समीक्षामा प्रदान गरिएको सुविधाहरू असामान्य भएको जनाउँदै यो सुविधाहरू अन्य देशहरूका स्वयंसेवक शिक्षकहरूलाई प्रदान नगरिएको बताइएको छ ।

प्रकाशित : भाद्र १०, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?