कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दसौं हजार रोहिंग्याद्वारा प्रदर्शन 

एजेन्सीहरू

ढाका — म्यानमारबाट विस्थापित भएर बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका रोहिंग्याहरूले आइतबार बृहत् प्रदर्शन गरेका छन् ।
रोहिंग्या शरणार्थीले विस्थापित भएको दुई वर्ष पुगेको अवसरमा शिविरभित्रै प्रदर्शन गरेका हुन् ।

दसौं हजार रोहिंग्याद्वारा प्रदर्शन 

आफूहरूविरुद्ध नियोजित रूपमा जातीय हिंसा मच्चाइएको भन्दै करिब २ लाख रोहिंग्याले विरोध र्‍याली गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


सन् २०१७ को अगस्ट महिनामा म्यान्मारको राखिने राज्यमा भएको जातीय हिंसालगत्तैको सैनिक दमनका कारण ७ लाख ४० हजार रोहिंग्या विस्थापित भएका थिए । उनीहरू हाल बंगलादेशका विभिन्न शिविरमा बस्दै आएका छन् । उनीहरू रहेका शिविर संसारकै ठूलो शरणार्थी शिविर हो ।


बंगलादेशले गत बिहीबार रोहिंग्याका लागि ‘स्वैच्छिक घरफिर्ती योजना’ सार्वजनिक गरे पनि एक जना पनि फर्कन मानेका छैनन् । आफूहरूको घरफिर्तीअघि म्यान्मार सरकारले नागरिकता प्रदान गर्नुपर्ने रोहिंग्याहरूको माग छ ।


आइतबार आयोजित विरोध र्‍यालीमा बालबालिका, बुर्का पहिरेका महिलालगायतको पनि सहभागिता थियो । उनीहरूले ‘रोहिंग्या जिन्दावाद’ भन्दै नाराबाजीसमेत गरेको समाचार संस्था एएफपीले जनाएको छ ।


म्यान्मारको राखिन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीहरूका बीचमा धार्मिक र जातीय द्वन्द्व भएपछि उनीहरू विस्थापित भएका हुन् । रोहिंग्या म्यान्मारको अल्पसंख्यक मुस्लिम समुदाय हो । लामो समयदेखि म्यान्मार बसोबास गर्दै आएका रोहिंग्या राखिने राज्यमा आफ्नो भाषा तथा संस्कृतिका पक्षमा लड्दै आएका छन् । यद्यपि, उनीहरूलाई नागरिकतालगायत सुविधा दिइएको छैन । म्यान्मारले रोहिंग्यालाई गैरकानुनी आप्रवासी भएको बताउने गर्छ ।


बंगलादेशमा शिविरमा रहेका विस्थापित रोहिंग्यालाई अन्य शिविर रहेको क्षेत्रभन्दा बाहिर निस्कन रोक लगाइएको छ । शरणार्थीहरूलाई स्वदेश फर्काउनेबारे सन् २०१७ मै बंगलादेश र म्यान्मार सरकारबीच सम्झौता भएको थियो तर त्यो हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन ।


रोहिंग्याहरूले सुरक्षा र नागरिकताको सुनिश्चितता नभएसम्म स्वदेश नफर्किने बताएपछि उक्त सम्झौता कागजमा सीमित छ । गत साता ३ हजार ४ सय ५० शरणार्थीलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगे पनि उनीहरूले सुरक्षा र नागरिकता पाउनुपर्ने सर्त राखेपछि स्वदेश फर्काउने प्रयास रोकिएको थियो ।


सन् २०१७ को अगस्ट २५ मा रोहिंग्या विद्रोहीहरूले दर्जनौं प्रहरीचौकीमा आक्रमण गरी केही अधिकारीको ज्यान लिएपछि राखिने राज्यमा द्वन्द्व चर्केको हो । त्यसविरुद्धको जवाफी कारबाहीमा सेनाले राखिने राज्यका दर्जनौं गाउँमा आगजनी गर्नुका साथै सर्वसाधारणको हत्या तथा बलात्कार गरेको संयुक्त राष्ट्रसंघको अनुसन्धानबाट पत्ता लागेको थियो । राष्ट्रसंघ तथा मानव अधिकार संस्थाका अनुसार रोहिंग्या समुदायमाथिको आक्रमणमा बौद्धमार्गीहरू पनि सहभागी भएका थिए ।


घटनाको छानबिनपछि सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्रसंघले रोहिंग्याविरुद्धको आक्रमण ‘जातीय सफायाको उदाहरणीय पाठ्यपुस्तक’ भएको उल्लेख गरेको थियो तर म्यान्मारको सेनाले भने आफूहरूले प्रतिआतंवादको कारबाही चलाएको तथा सर्वसाधारणलाई लक्षित नगरेको दाबी गर्दै आएको छ ।

प्रकाशित : भाद्र ९, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?