१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

चीन-अमेरिका व्यापार युद्ध : चिनियाँको अठोटलाई हल्का रूपमा नलिन चेतावनी

लक्ष्मी लम्साल

बेइजिङ — चीनले अमेरिकाको भन्सार कर वृद्धि विरूद्धको कदम चाले लगत्तै अमेरिकाले पनि पुनः भन्सार कर थप्ने अर्को घोषणा गरेको छ। शुक्रबार चीनले ७५ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानको आयातमा नयाँ कर वृद्धि गर्दै गत मे १० र अगष्ट १५ को अमेरिकी घोषणाको बदला लिने निर्णय गरेको थियो।

चीन-अमेरिका व्यापार युद्ध : चिनियाँको अठोटलाई हल्का रूपमा नलिन चेतावनी

चीनको घोषणा लगत्तै अमेरिकाले पनि शनिबार लगभग ५ खर्ब ५० अर्ब अमेरिकी डलरका चिनियाँ सामानका लागि भन्सार कर थप्ने घोषणा गरेपछि चीन झन् चिढिएको छ।


चिनियाँ वाणिज्य मन्त्रालयले परिस्थितिको गलत फैसला नगर्न र चिनियाँ जनताको अठोटलाई हल्का रूपमा नलिन चेतावनी दिएको छ। आफ्ना गलत गतिविधि तुरून्तै रोक्न ताकिता गर्दै चीनले अमेरिकाको एकपक्षीय बदमासीले व्यापारिक संरक्षणवादलाई प्रोत्साहन गर्नुका साथै चीन र अमेरिकाका शीर्ष नेतृत्वबीचको सहमति उल्लंघन गर्दै आपसी सम्मान, समानता तथा हितको सिद्धान्त पनि तोडेको टिप्पणी गरेको छ।


‘अमेरिकाको प्रतिशोधको भावनाले बहुपक्षीय व्यापारिक प्रणाली र सामान्य अन्तर्राष्ट्रिय व्यापार व्यवस्थामा समेत गम्भीर असर पार्ने भएकाले उप्रान्त उत्पन्न हुने कुनै पनि नकारात्मक नतिजाको जिम्मेवारी अमेरिकाले वहन गर्नुपर्छ,’ चीनले भनेको छ।


गत वर्षको डिसेम्बर १४ मा चीन र अमेरिकी शीर्ष नेताबीच अर्जेन्टिनामा भएको भेटवार्तामा जनवरीदेखि तीन महिनासम्म वृद्धि भन्सार कर नअसुल्ने र वार्ता गर्ने सहमति भएको थियो। तर वार्ता परिणामुखी नभएसँगै अमेरिकाले मे १० मा २ खर्ब डलरको चिनियाँ सामानमा २५ प्रतिशतसम्म र अगष्ट १५ मा फेरि ३ खर्ब डलरका चिनियाँ सामानमा १० प्रतिशत भन्सार कर थप्ने घोषणा गरेको थियो। चीनले पनि अमेरिकाको घोषणाको प्रतिकार गर्न उसैगरी सेप्टेम्बर १ र डिसेम्बर १५ देखि लागू हुने गरी शुक्रबार मात्रै नयाँ कर वृद्धि योजना प्रस्तुत गरेको थियो।


यसैबीच अमेरिकासँग डिजिटल करको संघर्षबाट व्यापारिक तनाव झेलिरहेको फ्रान्सले पनि व्यापारिक युद्ध परित्याग गर्न अपील गरेको छ। क्यानडा, जर्मनी, अमेरिका, बेलायत, इटाली, जापान र फ्रान्स सम्मिलित सात आर्थिक समूह जी-७ को बैठकमा राष्ट्रपति इम्यानुअल म्याक्रोनले ती देशका नेतागणमाझ भने, ‘तनावपूर्ण व्यापारिक परिस्थिति विश्वका लागि फाइदाजनक छैन।’ आपसी प्रयासमा व्यापारिक संघर्ष अन्त्य गर्दै विश्व अर्थतन्त्रको पुनरूत्थानमा लाग्नुपर्ने उनको सुझाव थियो।

प्रकाशित : भाद्र ८, २०७६ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?