‘हिंसाविरुद्ध कडा कदम’

नवीन पोखरेल

लन्डन — बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा हिंसात्मक क्रियाकलाप बढिरहेको उल्लेख गर्दै त्यसविरुद्ध सशक्त कदम चाल्ने बताएका छन् ।

उनले थप १० हजार बन्दी अटाउने गरी जेलहरू निर्माण तथा विस्तार गर्ने उद्घोष गरिसकेका छन् । त्यसका साथै जोन्सनले सर्वसाधारणलाई खानतलासी गर्न प्रहरीलाईथप अधिकारको व्यवस्थागर्नेसमेत बताए ।

जोन्सनले नागरिकको अधिकारविरुद्ध नभई अपराधविरुद्ध नयाँ कदम चाल्न लागिएको दाबी गरे । ‘म राज्यसँग अपराधी डराऊन् भन्ने चाहन्छु, सर्वसाधारण होइन,’ उनले भने, ‘हामी अपराधविरुद्ध कडा हुन जरुरी छ । ‘सेक्सन ६०’ अन्तर्गत प्रहरीलाई कोही व्यक्ति रोकेर खानतलासी गर्न वरिष्ठ अधिकृतको अनुमति चाहिँदैन ।

प्रहरीलाई खानतलासी गर्न सहज हुने ‘पाइलट स्किम’ इंग्ल्यान्ड र वेल्सका ४३ प्रहरी बलमा विस्तार गरिँदै छ । साजिद जाभिद गृहमन्त्री हुँदा गत मार्चमा उक्त स्किम ७ प्रहरी बलमा सुरु गरिएको थियो ।

तर, रोकेर खानतलासी गर्न थप अधिकार दिइने मुद्दा विगतदेखि नै विवादित छ । यो अधिकारको दुरुपयोग हुने र काला जातिमाथि लक्षित हुने भन्दै कतिपयले विरोध गरेका छन् ।

एक तथ्यांकअनुसार, सन् २०१७ र २०१८ मा काला जातिका व्यक्तिलाई गोरा भन्दा ९.५ पटक बढी खानतलासी गरिएको थियो । यसको दुरुपयोगविरुद्ध अभियान सञ्चालन गर्दै आएका जोनाथन हिन्ड्सले बीबीसी रेडियो फाइभसँग बोल्दै ‘यो अधिकारबाट अश्वेत मानिस बढी पीडित हुने चिन्ता व्यक्त गरे ।’

जेल विस्तार नयाँ निर्माणको अनुमानित बजेट करिब ३ खर्ब २७ अर्ब रुपैयाँ (२.५ बिलियन पाउन्ड) रहेको र यसलाई अर्थ मन्त्रालयले पारित गरिसकेको जनाइएको छ । सन्डे मेलमा एक लेख प्रकाशित गर्दै प्रधानमन्त्री जोन्सनले कानुन अझ कडा बनाउन आवश्यक रहेकामा जोड दिए । राष्ट्रिय स्वास्थ्य सेवा र अध्यागमनसम्बन्धी घोषणापछि प्रधानमन्त्री जोन्सनको यो धारणा आएको हो ।

प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटको ‘ल एन्ड अर्डर’ प्राथमिकता हेर्दा यसले आगामी जाडोयाममा आमनिर्वाचनको तयारी हो कि भन्ने छनक दिएको बीबीसीले आफ्ना राजनीतिक संवाददातलाई उल्लेख गर्दै जनाएको छ ।

सरकारले गत महिना २० हजार अतिरिक्त प्रहरी अधिकृत भर्ती गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । कन्जरभेटिभ दल सत्तामा आएपछि झन्डै त्यति नै संख्या कटौती भएको बताइन्छ । गम्भीर प्रकृतिका अपराध र यौनअपराधी आवश्यकभन्दा छिटो बाहिर निस्केकाले कडा जेल कानुन आवश्यक रहेको तर्क प्रधानमन्त्रीको छ । केही समयअघि जेलमा स्थान अभावका कारण हजारौं अपराधी छिट्टै ‘ट्याग’ लगाएर निस्कने वातावरण बनेको विश्लेषणहरू सार्वजनिक भएका थिए । बेलायतमा हाल करिब ८४ हजार कैदी छन् ।

प्रधानमन्त्री जोन्सन निकट ठानिने गृहमन्त्री प्रीति पटेलले प्रहरीबाट बारम्बार थप अधिकार माग भइरहेको बताउँदै आएकी छन् । उनले सरकारको नयाँ नीति हिंसा रोक्न प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । तर, उक्त अधिकार सही, कानुनी र व्यावसायिक रूपमा प्रयोग गरिनुपर्नेमा उनको जोड छ ।

‘पुलिस फेडेरेसन अफ इंग्ल्यान्ड एन्ड वेल्स’ ले थप अधिकार दिइने घोषणाको स्वागत गरेको छ । फेडेरेसनका राष्ट्रिय अध्यक्ष जोन एप्टरले निर्दोष युवा चक्कु प्रहारबाट मारिने क्रम बढिरहँदा अब यसबारे केही गर्न जरुरी भइसकेको बीबीसीसँगबताए । उनले धेरै प्रहरीले ‘बडी क्यामेरा’ जडान गर्ने गरेको जनाउँदै प्रहरी अधिकृतहरूपनि जिम्मेवार र व्यावसायिक बन्नुपर्ने बताए ।

प्रकाशित : भाद्र ७, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्

स्वकल्याणका लागि मनोभ्यास

कान्तिपुर संवाददाता

काठमाडौँ — हरेक मानिसको जीवनमा आवश्यकता, चाहना र तनाव सधैं नै रहन्छ । यीमध्ये हरेक एकपछि अर्को आउँदै गर्छन् । जति शीघ्र समग्र कुरा जानी, बुझी यथार्थपरक ढंगले अविचलित भएर त्यसमा अघि बढ्न र सटिक प्रतिक्रिया दिनसक्यो, त्यति फलदायी हुने सम्भावना रहन्छ । 

प्रा.डा. धनरत्न शाक्य

मन पनि उति नै तीक्ष्ण मान्न सकिन्छ । यसरी जीवन परिस्थिति र अवस्थाको बोध गर्ने, सोच्ने र योजना बनाउने प्रक्रियाको तीक्ष्णता र गतिले मानसिक क्षमता निर्धारण गर्छ । त्यसका साथै कुनै पनि व्यक्तिलाई बुद्धिमान्, जीवनमा सफल र समाजका लागि उसले योगदान दिने सम्भावना बढ्छ ।

यस्तो प्रक्रिया सुस्त भएमा, व्यक्तिमा केही काम गर्ने शक्ति, ऊर्जा र अभिप्रेरणाको कमी हुन जान्छ । अतः मनको क्षमता, चाहना र तनावसँग जुझ्न र सफल जीवनका लागि आवश्यक हुन्छ । अर्कोतिर, अनियन्त्रित गतिमा धेरै विचारहरू उत्पन्न भएको अवस्थामा भने व्यक्तिमा छट्पटी र चिन्ता हाबि हुन जान्छ ।
असीमित आवश्यकता, चाहना र तनावले गर्दा अहिलेको वर्तमान छट्पटी र चिन्ताको युगमा परिणत भएको छ । मनको सोच र योजनामा आधारित भएर व्यक्तिले आफ्नो शरीरका माध्यमबाट उठाउने कदमले उसको व्यवहार पनि सन्तुलित हुन्छ ।

सुस्तताले कार्यान्वयनमा ढिला भई भौतिक सुख, सुविधा, विकास, समृद्धिदेखि विमुख भइन्छ । अति ज्यादा भएमा पनि छट्पटी र चिन्ताको मनोवस्था सृजना हुन्छ । अभाव, अशिक्षा, अविकास र पछौटेपनबाट ग्रस्त नेपालीका लागि भने तेज शारीरिक परिश्रम र गतिका बाबजुद मन शान्त र सन्तुलित राख्ने कला, सीप वा विधिको जरुरत छ ।

अत्यधिक काम, श्रम, मिहिनेत र तीव्र गतिमा पनि मन रिल्याक्स रहने अभ्यास सम्भव छ । हाम्रा आध्यात्मिक मार्गमा यसको प्रचूर निर्देशन छ । आधुनिक मनोविज्ञानले पनि यसको चर्चा गरेको छ । परिस्थिति र मनका सोच जेजस्ता भए तापनि मन शान्त र सन्तुलित राख्ने अवधारणाका आआफ्नै सबल र दुर्बल पक्षको चर्चा पनि छ । यद्यपि यो पनि आफैंमा यौटा तरिका भएको कुराको पुष्टि भने हुन्छ ।

जीवनको खास उद्देश्य
हरमानिसका समय, अवस्था, परिस्थितिअनुसार तात्कालिक, अल्पकालिक र दीर्घकालिक आवश्यकता, चाहना र उद्देश्य भिन्न होलान् । कतिपयका बाहृय अधिक होलान् भने कतिपयका ज्यादा आन्तरिक होलान् ।

भौतिक सुख, सेवासुविधा, दृश्य विकास, समृद्धि, शिक्षाजस्ता बाहृय र अनुभूतिको सुख, शान्ति, खुसी, आत्मकल्याण, परमार्थ मुक्ति वा निर्वाणको साक्षात्कारिताजस्ता आन्तरिक आकांक्षा र लक्ष्य हुन् । यी दुवै खालका उद्देश्य सन्तुलित रूपमा हासिल भएमा मानिसको जीवन सन्तुलित, शान्त र सफल बन्न सक्छ ।

केवल बाहृय भौतिक उपलब्धिले व्यक्ति खोक्रो र खालीजस्तै हुन्छ भने भौतिक उपलब्धिविहीन जीवन कष्टकर र अप्रभावकारी बन्ने गर्छ । बाहृय र आन्तरिक रूपमा तन, मन, धन वा जन जुनसुकै अर्थमा अनुकूल, प्रतिकूल, तटस्थ जुनसुकै अवस्थामा पनि जीवनमा निर्णय लिन आवश्यक हुन्छ । त्यसका लागि मनका सोच, व्यवहार र भावनालाई बसमा राख्नुपर्छ ।

आत्मकल्याण विधि
आफ्नो वास्तविक कल्याणको बाटो तब खुल्छ जब हामी आफू स्वयंको अवस्थाबारे सचेत हुन्छौं । आफू, आफ्नो वस्तुस्थिति, यथार्थ र त्यसैअनुसारको बोधता नै त्यस उपरान्तका आत्मकल्याण तहको माध्यम, सोपान वा द्वार हो ।
त्यसका लागि हरपल सजग र सचेत रहेर आफ्नो मन, जीवन, जगत् र वस्तुस्थितिलाई नियाल्न र अवलोकन गर्न अभ्यस्त रहनुपर्छ ।

जसरी आकाशमा नियालेर त्यसमा आइरहने बदलिरहने बादल, घाम, छाया र अन्य परिदृश्यहरूबारे बोध भएर त्यसैअनुसार अनुभूति, सोच र प्रतिक्रिया पैदा हुन्छ त्यसरी नै हरेक अनुभूति, सोच र व्यवहारप्रति पनि चनाखो रहने अभ्यास सम्भव छ ।

मनको सन्तुलन, स्वस्थता र आत्मकल्याणका लागि समयसमयमा विभिन्न विद्वान्हरूबाट विविध कोणबाट विकास र प्रयोग भएकातरिकाबारे उल्लेख पाइन्छ । एकथरी समूह मनमा आउने नमिल्दा सोचविचारहरू कसरी अनुकूल र स्वस्थ सोचले विस्थापित गर्ने भन्नेतिर केन्द्रित छ । अर्को समूह सोचविचारहरू जेजस्ता भए पनि सकारात्मक अनुभूति ल्याउने तरिकाको वकालत गर्छ । भगवान् बुद्धले विपस्यनामा यी दुईभन्दा भिन्न विधिबारे देशना गरे मुदितापूर्ण सचेत अभ्यासको ।

मनमा, जीवन जगत्मा जेजस्तो कुरा आए पनि राग र द्वेष दुवै खालका अनुभूतिदेखि पर रहेर अपनाइने सजगतापूर्ण पहुँचको विकल्प दिए स्वयंले साधना गरेर हासिल गरेको ज्ञानबाट । प्रकृति वा धर्मको स्वभावले अनित्य क्षणभंगुर भएको हुनाले हर चिज, सोच र अनुभूति समयसँगै परिवर्तित भइजान्छन् ।

तिनको चेतनासहित अवलम्बन गरिने आर्यअष्टांगिक मार्गबाट दुःखको जरासम्म पुगेर मोचन गरी वास्तविक कल्याण गर्न सकिने बौद्ध शिक्षा रहेको छ ।

मनोअवस्था बाधक
मन र शरीरमा देखिने कुनै बदलाव, परिवर्तन वा लक्षण लामो समयदेखि रहिरहृयो भने त्यसले मानिसको दैनिकीमा समस्या उत्पन्न गराउँछ । जसका कारण आफ्नो कामप्रति नियन्त्रण हराई शरीर वा मस्तिष्कमा स्नायुरसायन र विविध भागमा गड्बडी पैदा हुन्छ ।

यसरी रोग नै लागेको कतिपय अवस्थामा समस्याको हेक्का र चिन्ता बढ्नुका साथै मनोदशाको शुद्धिसमेत हराउन सक्छ । आत्मकल्याणका लागि आवश्यक मानसिक अभ्यासको अनि गुञ्जायस नै रहँदैन ।

अन्तरनिहीत रोगअनुसार यसको उपचार आवश्यकता हुन्छ । उक्त समस्याको निराकरणका लागि सुझबुझपूर्ण रूपमा औषधि, मनोसामाजिक वा अरू उपचारका विधिहरू अपनाउनुपर्ने हुन्छ ।

(लेखक वरिष्ठ स्नायु, दुर्व्यसन तथामनोरोग विशेषज्ञ हुन् ।)

प्रकाशित : भाद्र ७, २०७६ ०८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्