जनमत कदर हुनुपर्छ : म्याक्रों

बेलायत–फ्रान्स ब्रेक्जिट वार्ता
एजेन्सी

पेरिस — फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले ‘बेलायती जनताले युरोपेली संघ (ईयू) छाड्न दिएको मतको कदर गनुपर्ने’ बताएका छन् । 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन (दायाँ) लाई पेरिसमा स्वागत गर्ने क्रममा फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रों । जोन्सन ब्रेक्जिट वार्ताका लागि बिहीबार पेरिस पुगेका हुन् ।  तस्बिर : रोयटर्स

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) वार्ताका लागि पेरिस पुगेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग म्याक्रोंले ‘समयमै ब्रेक्जिट मुद्दा टुंगोमा पुर्‍याउनु’ दुवै पक्षको हितमा रहेको बताए ।

यद्यपि, म्याक्रोंले राजनीतिक स्थायित्व र एकल बजारका लागि ‘ब्याकस्टप’ (आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने) योजना निकै महत्त्वपूर्ण भएको बताएका छन् । उक्त योजनाको विपक्षमा रहँदै आएकाबेलायती प्रधानमन्त्री जोन्सन भनेदुई देशबीच कडा सीमा हुनुपर्ने बताउने गर्छन् ।

जर्मन चान्सलर एंगेला मर्केलले बुधबार ‘टुंगोमा पुग्ने योजना बनाउने जिम्मेवारी बेलायतको भएको’ प्रतिक्रिया दिएकी थिइन् । बेलायती प्रधानमन्त्री जोन्सनले बेलायत बिनाकुनै सम्झौता ईयूबाट बाहिरिने अवस्था सिर्जना भए सीमा कडाइ गर्नुको विकल्प नहुने बताएका छन् ।

युरोपेली संघले यसअघि बेलायती पूर्वप्रधानमन्त्री टेरेजा मेले पेस गरेको ब्रेक्जिट सम्झौतामा ‘ब्याकस्टप’ बारे पुनः वार्ता नहुने उल्लेख गरिएको बताउँदै आएको छ । यद्यपि, ईयूले बेलायतसँगको भविष्यको सम्बन्ध निर्धारण गर्ने ‘राजनीतिक घोषणा’ को सुधारका लागि आफू तयाररहेको बताउने गरेको छ । जसका कारण बेलायतको आन्तरिक राजनीति यति बेला निकै गरम बनेको छ ।

ब्रेक्जिट विवादका कारण बेलायतको आन्तरिक राजनीति यति बेला निकै गरम बनेको छ । जोन्सन नेतृत्वको सरकारले आगामी अक्टोबर ३१ को समयसीमाभित्रै बेलायत युरोपेली संघबाट कुनै पनि हालतमा अलग हुने बताउँदै आएका छन् । तर, उनको अडानका कारण प्रधानमन्त्री पद नै धरापमा पर्ने अनुमान गरिएको छ ।

विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ‘युरोपेली संघबाट बिनासम्झौता बेलायतको बहिर्गमन रोक्न जस्तोसुकै कदम चाल्न’ तयार रहेको बताउने गरेका छन् । उनले त्यसका लागि प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावसमेत ल्याउने चेतावनीसमेत दिइसकेका छन् । उनले ‘बिनासम्झौता बेलायत ईयूबाट बाहिरिने अवस्था रोक्न आफूलाई कामचलाउ प्रधानमन्त्री बनाउनसमेत आहृवान गरिसकेका छन् ।

गतसाता कोर्बिनले वर्तमान सरकारविरुद्ध आफ्नो दलले ल्याउन लागेको अविश्वास प्रस्ताव पारित भए मध्यावधि चुनाव घोषणा गरी ब्रेक्जिट समयसीमा बढाउने बताएका थिए ।

बेलायत ईयूसँग बिनासम्झौता बहिर्गमन भए प्रतिकूल असर पर्ने भन्दै अधिकांश व्यवसायीहरू विपक्षमा उभिएका छन् । जोन्सन ब्रेक्जिटसम्बन्धी विवाद अन्त्यको प्रयासका लागि जर्मनी र फ्रान्सको भ्रमणमा निस्केका हुन् । प्रधानमन्त्रीमा नियुक्त भएपछिको यो जोन्सनको पहिलो युरोप भ्रमण हो ।

प्रकाशित : भाद्र ६, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्

हाम्डोक सुडानका प्रधानमन्त्री 

एजेन्सी

खार्तुम — सुडानको प्रधानमन्त्रीमा अब्दल्ला हाम्डोक चयन भएका छन् । हाम्डोकले प्रतिपक्षी दलहरूका तर्फबाट संक्रमणकालीन सरकारको प्रधानमन्त्रीमा शपथ लिएका हुन् । हाम्डोकलाई गत बिहीबार मुख्य विपक्षी ‘फ्रिडम एन्ड चेन्ज एलायन्स’ का तर्फबाट सर्वसम्मत प्रधानमन्त्रीका लागि सिफारिस गरिएको थियो । 

नवनियुक्त प्रधानमन्त्री हाम्डोकले ‘देशमा शान्ति स्थापना र आर्थिक संकटको अन्त्य’ आफ्नो प्राथमिकता भएको जनाएका छन् । विपक्षीहरूले नयाँ सरकारको गठनसँगै देशमा सैनिक शासन अन्त्य हुने अपेक्षा व्यक्त गरेका छन् ।

नवगठित सरकारले देशमा हुने निर्वाचनसम्मका लागि शासन सत्ता सञ्चालनग गर्ने छ । यसअघि सुडानी सेना र आन्दोलनकारीबीच नयाँ संक्रमणकालीन सरकार तीन वर्ष तीन महिना सञ्चालन गर्ने सहमति भएको थियो ।
सुडानी सेनापति अब्देल फताह अब्देलराहमले सार्वभौम परिषद्को अध्यक्षमा शपथ लिएसँगै हाम्डोक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

हाम्डोकले विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सबाट चुनिने २० जनालाई मन्त्रिपरिषद्मा समावेश गर्ने जनाइएको छ । नयाँ मन्त्रीहरूले एक सातापछि शपथ लिने छन् । रक्षा र गृह मन्त्रालयको जिम्मेवारी भने सेनाका तर्फबाट नियुक्त मन्त्रीले गर्ने छन् ।

सुडानको संक्रमणकालीन सैनिक परिषद् (टीएमसी) र विद्रोही फ्रिडम एन्ड चेन्ज एलायन्सबीच हालै सम्पन्न सम्झौताअुनसार सार्वभौम परिषद् ११ सदस्यीय हुने छ । परिषद्मा टीएमसीका ५ जना, विद्रोहीका तर्फबाट ५ र दुवै पक्षको परामर्शमा थप एक सदस्य चुनिने सहमति भइसकेको छ ।

सार्वभौम परिषद्को गठनसँगै टीएमसी विघटन गरिएको छ । अप्रिल ११ मा पूर्वराष्ट्रपति ओमार अल–बासिरलाई सत्ताच्यूत गरेसँगै सेनापतिको अध्यक्षतामा गठित टीएमसीले संक्रमणकालीन व्यवस्था सञ्चालन गरिरहेको थियो ।

को हुन् हाम्डोक ?
सुडानको खार्तुम विश्वविद्यालयबाट बीएस्सी र बेलायतको म्यान्चेस्टरबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका हाम्डोकले सन् १९८० को दशकमा अर्थ मन्त्रालयमा वरिष्ठ अधिकारीका रूपमा कार्य गरेका थिए ।

सन् १९९० को दशकमा उनले निजी कम्पनीका साथै जिम्बाबेमा अन्तर्राष्ट्रिय श्रम संगठनका तर्फबाट वरिष्ठ अधिकारीका रूपमा पनि काम गरेका थिए । उनीसँग आइभरिकोस्टमा अफ्रिकी विकास बैंकमा धेरै वर्ष काम गरेको अनुभव पनि छ ।

सन् २०१८ सेप्टेम्बरमा अब्दलालाई पूर्वराष्ट्रपति ओमार अल–बासिरले अर्थमन्त्रीका रूपमा प्रस्ताव गरेका थिए । तर, उनले बासिरको उक्त प्रस्तावलाई अस्वीकार गरिदिएका थिए ।

प्रकाशित : भाद्र ६, २०७६ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्