कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हाम्डोक सुडानका प्रधानमन्त्री 

एजेन्सी

खार्तुम — सुडानको प्रधानमन्त्रीमा अब्दल्ला हाम्डोक चयन भएका छन् । हाम्डोकले प्रतिपक्षी दलहरूका तर्फबाट संक्रमणकालीन सरकारको प्रधानमन्त्रीमा शपथ लिएका हुन् । हाम्डोकलाई गत बिहीबार मुख्य विपक्षी ‘फ्रिडम एन्ड चेन्ज एलायन्स’ का तर्फबाट सर्वसम्मत प्रधानमन्त्रीका लागि सिफारिस गरिएको थियो । 

हाम्डोक सुडानका प्रधानमन्त्री 

नवनियुक्त प्रधानमन्त्री हाम्डोकले ‘देशमा शान्ति स्थापना र आर्थिक संकटको अन्त्य’ आफ्नो प्राथमिकता भएको जनाएका छन् । विपक्षीहरूले नयाँ सरकारको गठनसँगै देशमा सैनिक शासन अन्त्य हुने अपेक्षा व्यक्त गरेका छन् ।


नवगठित सरकारले देशमा हुने निर्वाचनसम्मका लागि शासन सत्ता सञ्चालनग गर्ने छ । यसअघि सुडानी सेना र आन्दोलनकारीबीच नयाँ संक्रमणकालीन सरकार तीन वर्ष तीन महिना सञ्चालन गर्ने सहमति भएको थियो ।

सुडानी सेनापति अब्देल फताह अब्देलराहमले सार्वभौम परिषद्को अध्यक्षमा शपथ लिएसँगै हाम्डोक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।


हाम्डोकले विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सबाट चुनिने २० जनालाई मन्त्रिपरिषद्मा समावेश गर्ने जनाइएको छ । नयाँ मन्त्रीहरूले एक सातापछि शपथ लिने छन् । रक्षा र गृह मन्त्रालयको जिम्मेवारी भने सेनाका तर्फबाट नियुक्त मन्त्रीले गर्ने छन् ।


सुडानको संक्रमणकालीन सैनिक परिषद् (टीएमसी) र विद्रोही फ्रिडम एन्ड चेन्ज एलायन्सबीच हालै सम्पन्न सम्झौताअुनसार सार्वभौम परिषद् ११ सदस्यीय हुने छ । परिषद्मा टीएमसीका ५ जना, विद्रोहीका तर्फबाट ५ र दुवै पक्षको परामर्शमा थप एक सदस्य चुनिने सहमति भइसकेको छ ।


सार्वभौम परिषद्को गठनसँगै टीएमसी विघटन गरिएको छ । अप्रिल ११ मा पूर्वराष्ट्रपति ओमार अल–बासिरलाई सत्ताच्यूत गरेसँगै सेनापतिको अध्यक्षतामा गठित टीएमसीले संक्रमणकालीन व्यवस्था सञ्चालन गरिरहेको थियो ।


को हुन् हाम्डोक ?

सुडानको खार्तुम विश्वविद्यालयबाट बीएस्सी र बेलायतको म्यान्चेस्टरबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका हाम्डोकले सन् १९८० को दशकमा अर्थ मन्त्रालयमा वरिष्ठ अधिकारीका रूपमा कार्य गरेका थिए ।


सन् १९९० को दशकमा उनले निजी कम्पनीका साथै जिम्बाबेमा अन्तर्राष्ट्रिय श्रम संगठनका तर्फबाट वरिष्ठ अधिकारीका रूपमा पनि काम गरेका थिए । उनीसँग आइभरिकोस्टमा अफ्रिकी विकास बैंकमा धेरै वर्ष काम गरेको अनुभव पनि छ ।


सन् २०१८ सेप्टेम्बरमा अब्दलालाई पूर्वराष्ट्रपति ओमार अल–बासिरले अर्थमन्त्रीका रूपमा प्रस्ताव गरेका थिए । तर, उनले बासिरको उक्त प्रस्तावलाई अस्वीकार गरिदिएका थिए ।

प्रकाशित : भाद्र ६, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?