कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

चिदम्बरम थप ५ दिन हिरासतमा 

सुरेशराज न्यौपाने

नयाँदिल्ली — आईएनएक्स मिडिया भ्रष्टाचार तथा मुद्रा निर्मलीकरणका आरोपित भारतीय राष्ट्रिय कंग्रेस नेता तथा पूर्वमन्त्री पी चिदम्बरमलाई दिल्लीको विशेष अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । करिब ३ घण्टाको बयानपछि सीबीआईले उनलाई बिहीबार साँझ विशेष अदालत पेस गरेको थियो । अदालतमा भएको बहसमा सीबीआईले अनुसन्धानका लागि थप ५ दिन चिदम्बरमलाई हिरासतमा राख्न माग गरेको थियो ।

चिदम्बरम थप ५ दिन हिरासतमा 

चिदम्बरमका तर्फबाट बहस गर्ने कपिल सिब्बल, अभिषेक मनुसिंघबीलगायतले उनको गिरफ्तारीप्रति सीबीआईको नियतमाथि प्रश्न उठाएका थिए । कंग्रेस नेतासमेत रहेका कपिल सिब्बलले आईएनएस मुद्दामा उनका छोरा कार्तिलाई पनि जमानत दिइएकाले चिदम्बरमलाई पनि त्यो सुविधा दिन माग गरेका थिए । सिब्बलले जमानत दिइनु नियमसम्मत हुनुका साथै व्यक्तिगत स्वतन्त्रताको विषय भएको जिकिर गरेका थिए । तर सीबीआईतर्फका वकिलले चिदम्बरमले बयानमा सहयोग नगरेकाले थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न आवश्यक भएको दाबी गरेका थिए ।


सीबीआईले चिदम्बरमलाई बुधबार साँझ पक्राउ गरेको हो । ७३ वर्षीय चिदम्बरममाथि संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) को सरकारमा अर्थमन्त्री भएका बेला अवैधानिक रूपमा वैदेशिक लगानी भित्र्याउन सघाएको आरोप छ । चिदम्बरम अर्थमन्त्री भएकाले केन्द्रीय वैदेशिक लगानी बोर्डले सन् २००८ मा पिटर र इन्द्रानी मुकर्जियाको कम्पनी आईएनएक्स मिडियामा मोरिससका ३ कम्पनीबाट करिब ३ सय ५ करोड भारतीय रुपैयाँ वैदेशिक लगानीका लागि अनुमति दिएको थियो । राजस्व विभागले त्यो लगानी भित्र्याउँदा सम्पत्ति शुद्धीकरण गरेको र वैदेशिक लगानीसम्बन्धी कानुनहरूको उल्लंघन गरिएको तथ्य फेला पारेको थियो । त्यसको ६ वर्ष पछि आईएनएक्स मिडियासँग चिदम्बरमका छोरा कार्ति चिदम्बरमको कम्पनीको पनि सम्बन्ध भएको खुलेको थियो ।


पछि सीबीआईसँगको बयानमा इन्द्रानीले कार्ति चिदम्बरम र आफूहरुबीच वैदेशिक लगानी स्वीकृतिका लागि १० लाख डलरको डिल भएको बताएकी थिइन् । इन्द्रानीको बयानपछि सीबीआईले कार्त्ति चिदम्बरमलाई पनि पक्राउ परेको थियो । पछि ईडीले कार्ति चिदम्बरमको करिब ५४ करोड भारुको सम्पत्ति आईएनएक्स मिडिया डिलसँग जोडिएको दाबी गर्दै अनुसन्धान अगाडि बढाएको थियो । त्यसपछि ईडी कार्यालयले पी चिदम्बरमलाई पनि पटकपटक सोधपुछ गरेको थियो ।


भारतीय सञ्चारमाध्यमहरुले इन्द्रानीलाई उद्धृत गर्दै चिदम्बरमले आफ्नो छोरा कार्तिलाई व्यवसायमा सहयोग मागेको उल्लेख गरेका छन् । अनुसन्धान निर्देशनालयलाई दिएको बयानमा आइएनएसकै सम्बन्धमा आफूहरुले चिदम्बरलाई तीनपटक भेटेको र उक्त भेटमा वैदेशिक लगानी स्वीकृत गरिदिएको बद्लामा चिदम्बरमले छोरा कार्तिलाई विदेशमा भएको पैसा भारत भित्र्याउन सहयोग गर्न आग्रह गरेको समेत उनीहरुले बयान दिएको छन् । यद्यपी उनीहरुको यो आरोपलाई चिदम्बरम र उनका छोरा कार्तिले अस्वीकार गर्दै आएका छन् ।


साथै कार्तिले सहयोगका लागि आफूहरुसँग दश लाख डलर मागेको र उक्त रकम विदेशस्थित आफ्नो वा नजिकको व्यक्तिको खातामा जम्मा गरिदिन समेत भनेको उनीहरुले दावी गरेका छ्न । पछि इन्द्रानीका श्रीमान पिटरले त्यो नमानेपछि कार्तिले अन्य दुई वटा कम्पनी चेस म्यानेजमेन्ट र एडभान्टेज स्ट्राटेजिक कन्सल्टिगं प्राइभेट लिमिटेड (एएससिपिएल) को नाम दिएको उनीहरुको बयानमा उल्लेख गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । त्यसपछि कार्तिको उक्त आग्रह बमोजिम आफूहरुले पहिलो किस्ताबापत दश लाख भारु एएससिपिएलको खातामा सन् २००८ मा जम्मा गरेको समेत उनीहरुले खुलाएका छन् ।


सीबीआईले चिदम्बरलाई बुधबार साँझ दिल्लीको जोरबागस्थित निवासबाट पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्नका लागि चिदम्बरमको घर पुगेका सीबीआईका अधिकारीहरुले निकै कसरत गर्नु परेको थियो । निवासको मूलढोका नखोलिएपछि उनीहरु पछाडिको ढोकाबाट प्रवेश गरेका थिए । सीबीआईका केही अधिकारीहरु त पर्खाल नाघेर समेत भित्र पसेका थिए ।


त्यसअघि चिदम्बरमले आफूमाथि सीबीआईले आरोप निराधार भएको भन्दै आरोपलाई खारेज गर्न माग गर्दै दिल्ली उच्च अदालत गएका थिए । तर, मंगबालर उच्च अदालतले उनको माग अस्विकार गरेको थियो । त्यसपछि सीबीआई र प्रवर्तक निर्देशनालय (इनफोर्समेन्ट डाइरक्टरेट–ईडि) को टोलीले चिदम्बरमलाई पक्राउ गर्न खोजी शुरु गरेको थियो । त्यसका लागि मंगलबार दुई पटकसम्म उक्त टोली उनको निवास पुगेको थियो । तर, उनलाई फेला पार्न सकेको थिएन ।


बुधबार बिहान चिदम्बरम पक्षका वकिलहरुले उनी प्रतिष्ठित राजनीतिज्ञ र पूर्व मन्त्री समेत भएकाले विदेश भााग्ने सम्भावना नरहेको भन्दा जमानतका लागि सर्वोच्च अदालत गएका थिए । तर, सर्वोच्चले मुद्दाको चापका कारण उनको मुद्दाको सुनवाई शुक्रवार अघि हुन नसक्ने आदेश दिएपछि चिदम्बरम पक्राउ पर्ने निश्चित ठानिएको थियो । बुधबार साँझ कंग्रेस पार्टीको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चिदम्बरमले आईएनएक्स मिडिया प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका थिए ।


उक्त पत्रकार सम्मेलनपछि उनी आफ्नो निवास पुगेका थिए । चिदम्बरम आफ्नो निवास पुगेलगत्तै सीबीआई र ईडीको टोली उनलाई पक्राउ गर्न त्यहीँ पुगेको थियो । निवास प्रवेश गरेको करीब आधा घन्टापछि सीबीआई र ईडको टोली चिदम्बरमसहित बाहिर निस्केको थियो । बिहिबारको अदालतको आदेशपछि चिदम्बरम कम्तिमा पनि सोमबारसम्म सीबीआई मुख्यालयमै रहने छन् ।


चिदम्बरमको गिरफ्तारीलाई लिएर यहाँको घरेलु राजनीतिमा आरोपप्रत्यारोप शुरु भएको छ । विपक्षीहरुले भारतीय जनता पार्टीले चिदम्बरमलाई पक्राउ गरेर राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् । कंग्र्रेसका नेता राहुल गान्धीले चिदम्बरमलाई पक्राउ गरेर मोदी सरकारले चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । ‘मोदी सरकारले ईडी, सीबीआई र केही सन्चारमाध्यमहरुलाई चिदम्बरमको चरित्र हत्या गर्न प्रयोग गरिएको छ । सत्ताको दुरुपयोगको घोर भत्सर्ना गर्छु’ गान्धीले ट्विटमा भनेका छन् । त्यसैगरी पश्चिम बंगालकी मुख्य मन्त्री तथा त्रिणमुल कंग्रेसकी प्रमुख ममता बनर्जीले पूर्व गृह तथा अर्थमन्त्री चिदम्बरमलाई जसरी गिरफ्तार गरिएको छ त्यो निकै नै निराशाजनक भएको बताएकी छिन् । उनले बिहिबार वक्तव्य जारी गर्दे देशको लोकतन्त्रले गुहार मागिरहेका बेला अदालत मद्दत गर्न तयार नभएको आरोप समेत लगाएकी छिन् । मुखर्जी दम्पती छोरी शिना बोराको हत्या गरेको आरोपमा थुनामा छन् ।

प्रकाशित : भाद्र ५, २०७६ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?