अल्पसंख्यक उग्रवादीहरूका कारण चुनौती : चीन

लक्ष्मी लम्साल

बेइजिङ — चिनियाँ विदेशमन्त्रीले हङकङमा अल्पसंख्यक ‘उग्रवादीहरू’ का कारण कानुन, नैतिकता र ‘एक चीन दुई व्यवस्था’ को सिद्धान्तमाथि चुनौती थपिएको बताएका छन् ।

अल्पसंख्यक उग्रवादीहरूका कारण चुनौती : चीन

उनले कुनै पनि जिम्मेवार सरकार र समाजले त्यस्ता अतिवादी गतिविधि स्वीकार्न नसक्ने जनाए । हङकङमा भइरहेका हिंसात्मक गतिविधिले केही देशको व्यवसायमा परेको असरप्रति चीन संवेदनशील रहेको पनि उनले प्रस्टयाए ।

बेइजिङ यात्रामा रहेका दक्षिण कोरियाली र जापानी विदेशमन्त्रीले हङकङको पछिल्लो परिस्थितिबारे राखेको चासोप्रति चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त धारणा राखेका हुन् ।

चीन, जापान र दक्षिण कोरियाका शीर्ष नेताहरूको सम्मेलनको तयारीका क्रममा भएको ९ औं सम्मेलनमा सहभागी हुन कोरियाली र जापानी विदेशमन्त्री बेइजिङ पुगेका छन् । सम्मेलनमा यसै वर्ष तीन देका शीर्ष नेताहरूबीच हुने महत्त्वपूर्ण सम्मेलनको तयारीमा तीव्रता प्रदान गर्ने सहमति भएको छ ।

चिनियाँ विदेशमन्त्री यीले तीन देशका विदेशमन्त्रीको नवौं सम्मेलन सफल भएको जनाउँदै त्रिदेशीय शीर्ष तहको बैठकका लागि पहल गरिने बताए । उनी दक्षिण कोरियाका विदेशमन्त्री काङ क्युङ व्हा र जापानका विदेशमन्त्री तारो कोनोसँगै पत्रकार सम्मेलनमा प्रस्तुत भएका थिए । विदेशमन्त्री वाङले भने, ‘अध्यक्ष मुलुकको हैसियतमा चीनले दक्षिण कोरिया र जापानसँगको सम्पर्कलाई अझ घनिष्ठ बनाउँदै जाने छ ।’

सम्मेलनमा दक्षिण कोरियाका विदेशमन्त्री काङ क्युङ व्हा र जापानका विदेशमन्त्री तारो कोनो सहभागी थिए । यो वर्ष चीन, जापान, दक्षिण कोरियाबीच सहयोगको बीसौं वार्षिकोत्सव भएको बताउँदै चिनियाँ विदेशमन्त्री वाङले तीन मुलुकले संयुक्त प्रयासमा आपसी उपलब्धिलाई अझै उचाइमा पुर्‍याउन अघि बढ्नुपर्ने जनाए ।

यस वर्ष नयाँ चीन स्थापनाको ७० औं वार्षिकोत्सवको प्रसंग उठाउँदै वाङले बाहय खुलापनलाई निरन्तरता दिने, विश्वको आर्थिक वृद्धिका लागि योगदान गर्ने र विभिन्न मुलुकको लगानीका लागि स्थिर बजार उपलब्ध गराउने चिनियाँ प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : भाद्र ५, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?