३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

अमेरिकालाई चीनको चेतावनी : ताइवानलाई हतियार बेचे प्रतिबन्ध

एजेन्सी

बेइजिङ — अमेरिकाले ताइवानको सुरक्षाका लागि ९.१९ खर्ब (८ बिलियन) भन्दा बढी मूल्यबराबरको लडाकु जहाज र यन्त्र बेच्ने भएको छ । अमेरिकी कंग्रेसमा यसबारे आधिकारिक सूचनासमेत जारी भइसकेको छ । वासिङटनको यो निर्णयलगत्तै बेइजिङ चिढिएको छ ।

अमेरिकालाई चीनको चेतावनी : ताइवानलाई हतियार बेचे प्रतिबन्ध

उसले वासिङटनको यो निर्णय कार्यान्वयनमा आए ताइवानलाई एफ १६ लडाकु जहाज बेच्ने अमेरिकी कम्पनीमाथि प्रतिबन्ध लगाउने बुधबार चेतावनी दिएको छ । विदेश मन्त्रालयका प्रवक्ता गेंग सुआङले हतियारहरु नबेच्न र ताइवानसँग सैन्य सम्पर्क तोड्न अमेरिकालाई आग्रह गरेका छन् ।


वासिङटन र बेइजिङबीच व्यापारमाथि भएको तनावकै बीच ताइवानलाई अमेरिकाले विमान बेच्ने निर्णय गरेको हो । चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ । बीबीसीका अनुसार उसले आवश्यक परेको अवस्थामा बल प्रयोग गरी ताइवानलाई फिर्ता लिन सक्छ । चीनले ताइवानसँग अमेरिकाको हतियार सम्झौतलाई पटक–पटक आलोचना गर्दै आएको छ । पछिल्लो सम्झौतापछि त चीनले अमेरिकी हतियार कम्पनीमाथि प्रतिबन्ध लगाउने चेतावनी नै जारी गरेको छ ।


पछिल्लो महिना पनि उसले ट्यांक र स्टिङ मिसाइलका लागि २.२ बिलियन सम्झौताको विरोध गरेको थियो । अमेरिकी रक्षा सहयोग नियोगले मंगलबार कंग्रेसको अधिकारिक सूचनामार्फत यसबारेको सम्झौताको घोषणा गरेको थियो ।


उसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो सम्झौता ६६ एफ १६ लडाकू विमान, ७५ विद्युतीय यन्त्र र अन्य प्रणालीहरुमा केन्द्रित छ ।’ यो सम्झौता अमेरिकी राष्ट्रिय हितमा मात्र नभई ताइवानको सुरक्षालाई थप सुदृढ बनाउनका लागि भएको कुरो पनि विज्ञप्तिमा छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले गेंगलाई उद्धृत गर्दै भनेको छ, ‘हतियार बिक्री अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धहरुको उल्लंघन हो । साथै अमेरिकाले ‘एक चीन नीति’ लाई मान्यता दिएकाले उसले औपचारिक सम्बन्ध ताइवानसँग होइन, चीनसँग गर्नुपर्छ ।’


अमेरिकाले ताइवानलाई हतियार बेचेमा चीन आफ्नो सुरक्षाका आवश्यक सबै उपाय अपनाउने चेतावनी पनि उनले दिए । गेंगले भने, ‘त्यसमा सम्झौतामा समावेश फर्ममाथि प्रतिबन्ध लगाउनु पनि एक हो ।’ अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ताइवानका राष्ट्रपति साई इङ–वेनले लडाकु जहाजले ताइवानको हवाई सुरक्षा थप सुदृढ हुने बताएकी छन् ।

प्रकाशित : भाद्र ४, २०७६ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?