कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

चीन, जापान र दक्षिण कोरियाका विदेश मन्त्रीस्तरीय बेइजिङ वार्ता उपलब्धीमूलक  

लक्ष्मी लम्साल

बेइजिङ — यसै वर्ष चीन, जापान र दक्षिण कोरियाका शीर्ष नेताहरूको सम्मेलन हुने भएको छ। बुधबार बेइजिङमा सम्पन्न ती देशका विदेश मन्त्रीहरूको नवौं सम्मेलनमा शीर्ष नेताहरूको सम्मेलनको तयारी तीव्रताका साथ गर्ने सहमति भएको हो।

चीन, जापान र दक्षिण कोरियाका विदेश मन्त्रीस्तरीय बेइजिङ वार्ता उपलब्धीमूलक  

सम्मेलनका उपलब्धीबारे जानकारी दिन बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले तीन देशका विदेशमन्त्रीहरूको नवौं सम्मेलन ज्यादै सफल भएको बताउँदै त्रिदेशीय शीर्ष तहको बैठकका लागि पहल गरिने जानकारी दिए। उनी दक्षिण कोरियाका विदेश मन्त्री काङ क्युङ व्हा र जापानका विदेश मन्त्री तारो कोनोसँगै पत्रकार सम्मेलनमा प्रस्तुत भएका थिए । विदेशमन्त्री वाङले भने, ‘अध्यक्ष मुलुकको हैसियतमा चीनले दक्षिण कोरिया र जापानसँगको सम्पर्कलाई अझ घनिष्ठ बनाउँदै जानेछ।’


सम्मेलनमा दक्षिण कोरियाका विदेश मन्त्री काङ क्युङ व्हा र जापानका विदेश मन्त्री तारो कोनोले भाग लिएका थिए। यो वर्ष चीन, जापान, दक्षिण कोरियाबीच सहयोगको बीसौं वार्षिकोत्सव भएको बताउँदै चिनियाँ विदेशमन्त्री वाङले तीन मुलुकले संयुक्त प्रयासमा आपसी उपलब्धीलाई अझै उचाइमा पुर्याउन अघि बढ्नुपर्ने बताए । यस वर्ष नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सवको प्रसंग उठाउँदै वाङले बाह्य खुलापनलाई निरन्तरता दिने, विश्वको आर्थिक वृद्धिका लागि योगदान गर्ने र विभिन्न मुलुकको लगानीका लागि स्थिर बजार उपलब्ध गराउने चिनियाँ प्रतिवद्धता व्यक्त गरे।


यस्तै दक्षिण कोरियाली विदेशमन्त्री काङ क्युङ व्हा र जापानी विदेशमनी तारो कोनोले पनि तीन देशबीच आपसी सहकार्य तथा सहयोगको २ दशकमा प्राप्त उपलब्धिको उच्च मूल्यांकन गरे। सम्मेलनमा चीन, जापान र दक्षिण कोरिया प्लस एक्स सहयोग दस्तावेज पनि पारित गरिएको छ। तीन देशका विदेशमन्त्रीहरूबीच साझा अभिरुचिका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे गहन विचार विमर्श भएको चिनियाँ संचारमाध्यमहरूले लेखेका छन्।


यसैबीच बेइजिङ यात्राका क्रममा दक्षिण कोरियाली र जापानी विदेशमन्त्रीले हङकङको पछिल्लो परिस्थितिबारेमा चासो राखेका थिए। चिनियाँ विदेशमन्त्रीले अल्पसंख्यक उग्रवादीहरूका कारण कानून, नैतिकता र एक चीन दुई व्यवस्थाको सिद्धान्तमाथि चुनौती थपिएको बताए। उनले कुनैपनि जिम्मेवार सरकार र समाजले त्यस्ता अतिवादी गतिविधि स्वीकार्न नसक्ने बताए। हङकङमा भैरहेका हिंसात्मक गतिविधिले केही देशको व्यवसायमा परेको असरप्रति चीन संवेदनशील रहेको पनि उनले प्रष्ट्याए।

प्रकाशित : भाद्र ४, २०७६ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?